+
+

‘अञ्चल जस्तो होइन प्रदेश, पहुँचमा बजेट नछर’

अमृत सुवेदी अमृत सुवेदी
२०८० जेठ ७ गते २१:५४

७ जेठ, पोखरा । गण्डकी प्रदेशका अघिल्ला सरकारले सांसदका खल्तीका योजना हाल्नकै लागि रकमान्तर गरेको भन्दै संसदमै ठूलो आलोचना भयो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको कांग्रेस–माओवादी सरकारले ५ करोड रुपैयाँ बराबरको खल्तीका योजनामा बजेट हाल्नकै लागि सत्ता पक्षका सांसदलाई छुट्याइदियो ।

मन्त्री, सांसद र नेताका परिवारका नाममा खुलेका प्रतिष्ठानलाई बजेट हाल्ने काम संघीयता कार्यान्वयनको सुरुकै बेलादेखि हुँदै आयो र अघिल्लो साल त गण्डकीको चर्को आलोचना नै भयो । प्राथमिकताका क्षेत्रमा भन्दा सांसदका स्वार्थअनुसार बजेट हाल्दा प्रदेशको औचित्यमाथि नै प्रश्न उठेको भन्दै विषयविज्ञ तथा सरोकारवालाले गण्डकी प्रदेश सरकारले हिजोको गल्ती सच्याउन सुझाव दिएका छन् ।

संघीयता कार्यान्वयनको ६ वर्ष लागिसक्दा पनि प्रदेशले प्राथमिकता क्षेत्र र जनताको जीवनसँग जोडिने कार्यक्रम पहिल्याउन नसकेको सरकारमै सहभागी दलका पूर्वमन्त्री स्वीकार्छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको गण्डकी प्रदेश सरकारलाई खुद्रे योजना र २÷४ लाखका वितरणमुखी बजेट नल्याउन पूर्व प्रधानमन्त्री, प्रदेशका मन्त्री, योजना आयोगका पूर्व उपाध्यक्षदेखि विषयविज्ञसम्मले सुझाव दिएका हुन् ।

नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको गण्डकी प्रदेशले गण्डकीबाट प्रतिनिधित्व गर्ने पूर्व प्रधानमन्त्रीदेखि योजना आयोगका उपाध्यक्ष, पूर्व अर्थमन्त्री र विषयविज्ञलाई डाकेर बजेट केन्द्रित विकास बहस गरेको हो ।

छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी बराल, सीता सुन्दास, संघीय योजना आयोगका उपाध्यक्ष जनदिशचन्द्र पोखरेल, दिनेशचन्द्र उपाध्याय, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा, रघुनाथ वाग्ले लगायतले अबको बजेटमा प्रदेशको मोडल कार्यक्रम तयार पार्न सुझाव दिएका छन् । कार्यक्रममा विज्ञहरुले हिजोको अञ्चलजस्तो केन्द्रकै भर परेर बस्ने, पहुँचका आधार बजेट छर्नेतिरभन्दा उत्पादन बढाउने कार्यक्रम ल्याउन आग्रह गरे ।

गण्डकी प्रदेशकोमात्र विशेषता झल्किने गरी आफ्नै मौलिक मोडेल कार्यक्रम अहिलेसम्म आउन नसकेको विज्ञहरुको भनाइ थियो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले वितरणमुखीभन्दा उत्पादनमुखी कार्यक्रम र बजेट ल्याउन सुझाए । पहिलो प्राथमिकता नै उत्पादनमुखी कार्यक्रम हुनुपर्ने उनको भनाइ थियो ।

उत्पादन, वितरण, दीगोपन र खुसीपनालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउन भट्टराई सुझाव दिए । अहिलेको चुनावी प्रणालीमा जनताले आफ्नै घर नजिक बाटो, स्वास्थ्य चौकीजस्ता सुविधा र पूर्वाधार खोज्ने भएकाले त्यसलाई पनि सम्वोधन गर्नुपर्ने तर वितरणमुखी बजेटमात्रै ल्याएर फाइदा नगर्ने भट्टराईको भनाइ थियो । अहिलेकै अवस्थामा घिस्रिएर प्रदेश कहीँ नपुग्ने भट्टराईले बताए ।

निजी, राज्य र समुदाय क्षेत्रलाई खम्बा बनाएर राज्यले दिशा निर्देश गर्नेगरी कार्यक्रम बनाउन उनले सुझाव दिए । अहिले पनि प्रदेशलाई अधिकार नआएकाले संघबाट लिन मुख्यमन्त्रीहरुले हिम्मत गर्नुपर्ने बताए । मुख्यमन्त्री हिजो दरबारको अञ्चलाधीश जस्तो नभएकाले केन्द्रकै मुख ताकेर नबस्न भट्टराईले सुझाव दिए । पाएका अधिकार ठिक ढंगले प्रयोग गर्ने र बाँकी अधिकारका लागि सातै प्रदेशका मुख्यमन्त्री मिलेर लड्न भट्टराईले आग्रह गरे ।

गण्डकीमा ठूला ठूला नदीहरु रहेको र नदीका आसपासमा ठूलठूला टार र फाँटहरु रहेकाले यसैमा आधारित रहेका मोडल प्रोजेक्ट बनाउन भट्टराईको सुझाव थियो । मस्र्याङ्दी डेभलपमेन्ट प्लान बनाएर कृषि, उद्योग, पर्यटन, सेवाको एकीकृत प्राजेक्ट मोडल बन्न सक्ने भट्टराईको भनाइ थियो । अब उद्योगिक क्षेत्र बनाउने हो भने पोखरादेखि बाहिर लैजानुपर्ने भट्टराईको सुझाव थियो ।

विज्ञहरुले प्रदेशको नीति तथा कार्यक्रम र बजेट बनाउँदा खुद्रे योजनाभन्दा प्राथमिकताका विषय तोकेर केन्द्रित गर्न सुझाव दिए । प्रदेशले जनताको जीवन र आर्थिक हैसियत उकास्ने गरी कार्यक्रम बनाउनपर्नेमा जोड दिएका छन् ।

प्रदेशमा पनि अपेक्षा र अभ्यासमा अन्तरविरोध तथा कर्मकाण्डीमात्र रहेको गण्डकीका पूर्व अर्थमन्त्री रामजी बरालले बताए । अध्ययन, अनुसन्धानबिना लहडमा भरमा योजना हाल्ने प्रवृतिको अन्त्य गर्न बरालले आग्रह गरे ।

३६ वटा निर्वाचन क्षेत्र वा ११ जिल्लामा टेकेर साउनबाट सुरु हुने आर्थिक वर्षको ४ महिनाभित्रै सम्भाव्यता अध्ययन गरी केही योजना छनोट गर्न बरालले सुझाव दिए । सम्पन्न भएका प्रादेशिक सडक, अधुरा पुल सम्पन्न गर्नतिर लागेर नयाँ योजना नथप्न बरालको आग्रह थियो ।

५/५ लाख रुपैयाँ बाँड्ने परिपाटीको अन्त्य गर्न बरालले सुझाव दिए । स्वास्थ्य क्षेत्रमा ३ महिनासम्म पर्खिएर लायलासिस गर्नुपर्ने परिस्थितिको अन्त्य गर्न प्रदेशको आफ्नै डायलासिस अस्पताल चाहिने बरालले बताए । संघीयताविरुद्ध घन्टी बजेको भन्दै बरालले अभ्यासमा नयाँपन दिन आग्रह गरे ।

निवर्तमान अर्थमन्त्री सीता सुन्दासले अनावश्यक खर्चको कटौती गर्ने गरी कार्यक्रम ल्याउन अनुरोध गरिन् । संघीयतालाई बलियो बनाउने गरी स्थानीय तह र संघबीच पनि समन्वय हुन नसकेको तथा अधिकार कै लडाईं रहेकाले प्रदेशको नीति तथा कार्यक्रम र बजेटले संघीयताको मर्मलाई बोक्नुपर्ने उनको भनाइ थियो ।

निवर्तमान भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमानले बजेट बनाउँदा माननीयहरु बढी हाबी हुने र उनीहरुका नाकमा ठोकिने योजना नै प्राथमिकतामा पर्ने परिपाटी रहेको बताए । गण्डकीमा ठूला नदी र टाररु रहेकाले करिडोरलाई आधार बनाएर विकासलाई प्राथमिकता दिन आग्रह गरे । स्थानीय तहका विशेषता हेरेर पनि कार्यक्रम बनाउनुपर्ने र स्थानीय तहसँग समन्वयन नगरी नहुने चुमानले बताए । स्थानीय सरकारसँग साझेदारी कार्यक्रममा जोड दिन आग्रह गरे ।

योजना आयोगका पूर्व उपाध्यक्ष जनगदिशचन्द्र पोखरेल, दिनेशचन्द्र उपाध्यक्षले निजी क्षेत्र र दातृनिकायलाई जोडेर प्रदेशले विकास गुरुयोजना बनाएर लगानी केन्द्रित गर्न सुझाव दिएका छन् । ऐनमार्फत नै नीति तथा संरचनाको सुधार गर्ने, विज्ञ समूह बनाएर आगामी बाटो बनाउने र प्रदेशको अधिकारलाई सुनिश्चित गर्ने गरी लक्ष्यसहितको नीति तथा कार्यक्रम ल्याउन योजना आयोगका उपाध्यक्ष दिनेशचन्द्रको सुझाव छ ।

कृषि, पर्यटन र सूशासन ३ कुरालाई प्राथमितामा राख्न पूर्वसचिव बाबुराम आचार्यले सुझाव दिए । व्यक्तिगत रुचिका योजना बजेटमा हाल्ने परिपाठीको अन्त्य गर्न आग्रह गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघु काफ्लेले प्रदेशले प्राथमिकता नै पहिल्याउन नसकेको बताए ।

२ करोडभन्दा तलको योजनामा नजान उनको सुझाव थियो ।जे कुरामा पनि प्रदेशले हात हालेको भन्दै स्थानीय तह र संघको जिम्मेवारीको काम पनि प्रदेशले योजना हालिरहेकाले प्राथमिकताका क्षेत्रमा मात्र बजेट हाल्न आग्रह गरे ।

नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष गिरिधारी शर्माले पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै नयाँ कार्यक्रम ल्याउनुपर्ने बेला भएको बताए । समृद्ध प्रदेशका गौरव तथा रुपान्तरणकारी आयोजना छुट्याएको भन्दै प्राथमिकता पनि तोक्नुपर्ने सुझाव दिए । प्रदेशस्तरको आफ्नै अस्पताल नभएकाले पोखरामा १ हजार बेडको अस्पताल खाँचो रहेको शर्माले बताए ।

मुटु, क्यान्सर र मिर्गौलाको विशिष्ट अस्पताल र शिक्षण अस्पताल पनि प्रदेशले चलाउने गरी कार्यक्रम ल्याउन आग्रह गरे ।

प्रा.डा. वीरबहादुर कार्कीले गण्डकी प्रदेश पर्यटकीय सम्भावनाको प्रदेश भएकाले पर्यटकको बसाईं लम्ब्याउन आग्रह गरे । सडकले पदमार्गहरु ध्वस्त बनाएकाले मौलिक पदमार्गको विकास गर्नुपर्ने र उत्पादनका आधारमा अनुदान दिने कार्यक्रम ल्याउन उनले सुझाव दिए । उत्तरी नाका र दक्षिणी नाका खोलेर व्यापार कसरी वृद्धि गर्ने भन्ने ठोस् कार्यक्रम ल्याउन आग्रह गरे ।

खल्तीका योजना हालिन्नँ : मुख्यमन्त्री

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका बजेटमाजस्तो पहुँचका आधारमा खल्तीका योजना हाल्ने प्रवृतिलाई निरुत्साहित गर्ने बताएका छन् । आफ्नै कार्यकालमा पूरा हुने गरी योजना बनाउने र पहुँचका आधारमा बजेट नबाँड्ने मुख्यमन्त्री पाण्डेले प्रतिवद्धता जनाए । ‘पहुँचका आधारमाभन्दा आवश्यकताका आधारमा कार्यक्रम र बजेट आउँछ,’ उनले भने, ‘कम्तिमा आफ्नो कार्यकालमा पूरा गर्नेमात्र कार्यक्रम बनाउने जमर्को रहन्छ ।’

प्राकृतिक स्रोत, साधन प्रयोगमा आज पनि समस्या रहेको, वनको प्रयोगमा ब्यावधान रहँदा पनि प्रदेश कुण्ठित हुनुपरेको पाण्डेको भनाइ छ । अहिले सबैभन्दा ठूलो चुनौती विकासलाई जनताको जीवनसँग जोडेर तिव्र रुपमा भइरहेको बसाइँसराइँ रोक्नु रहेको पाण्डेले बताए । ‘ठूलो उद्योगधन्दा खोलेर, प्रतिस्पर्धा गरेर बसाईं सराई रोक्न सक्छौं भन्ने लाग्दैन । जुन मात्रामा बसाईंसराई भइरहेको छ, त्यसलाई रोक्नु आवश्यकता हो,’ उनले भने, ‘कृषि र उत्पादनमा जोड्न सक्यौं भनेमात्र ठूलो मात्रामा भइरहेको बसाइँसराइँ रोक्न सकिन्छ भनेर यसलाई प्राथमिकतामा राख्ने छौं ।’

संघ, प्रदेश र स्थानीय तहका अधिकारको लडाईं अहिलेसम्म पनि रहेको र साझा अधिकार प्रयोगलाई आफूले सहजीकरण गर्ने पाण्डेको भनाइ थियो । प्रदेशका समस्या, संघबाट प्राप्त गर्ने अधिकार, प्रदेश–प्रदेशबीचको विकास र सहकार्य तथा संघीयतलाई अझै बलियो बनाउन के गर्न सकिन्छ भनेर प्रधानमन्त्रीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला गर्न लागेको पाण्डेले जानकारी दिए ।

‘१० गते सातै मुख्यमन्त्री र सचिवहरुको भेला आयोजना गरेको छु । प्रधानमन्त्रीलाई पनि साथमै राखेर संघीयताको अधिकारबारे छलफल गर्ने र समस्याहरु कसरी समाधान गर्ने भन्ने एकखाले गाँठो फुक्ने विश्वास छ,’ पाण्डेले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?