८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले असोजमा चीनमा आयोजना हुन लागेको १९औं एसियाली खेलकुदमा सहभागी खेल संख्या थपेर २८ पुर्याएको छ । सहभागितालाई सार्थक बनाउन पदक लक्षित तयारीमा भने राखेपमात्र होइन युवा तथा खेलकुद मन्त्रालयदेखि सम्बन्धित खेल संघहरु जागरुक छैनन् ।
अघिल्लो वर्ष ९ वैशाखमा बसेको राखेप ११२औं बोर्ड बैठकले २३ खेल समावेश गर्ने निर्णय गरेको थियो । कोरोना महामारीका कारण आयोजक चीन र एसियन ओलम्पिक कमिटीले सोही वर्ष असोजमा हुनुपर्ने प्रतियोगिता एक वर्ष सारेको हो ।
हिजो आइतबार बसेको राखेप ११६औं बोर्ड बैठकले पाँचवटा खेल थप्ने निर्णय गरेको हो ।
नेपालले सहजै सहभागिता जनाउन पाउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो– एसियाली खेलकुद । यो प्रतियोगिता खेल्न ओलम्पिकमा जस्तो छनोट प्रक्रिया पार गर्नुपर्दैन । न वाइल्ड कार्डको प्रतीक्षा गर्नुपर्छ । यसपल्ट २८ खेलबाट २०८ जना खेलाडीले चीनको ह्वाङझोउमा असोज ६ देखि १९ गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
प्रतियोगिता सुरु हुन चार महिनाभन्दा कम समय बाँकी छ । तर, राखेप प्रतियोगिताको तयारीका लागि उपल्लो निकायसँग बजेट माग्ने निर्णयमै सीमित छ । पदकको सम्भावना भएका खेललाई विदेशमा प्रशिक्षणको व्यवस्था गर्ने, विशेष, बन्द र वैदेशिक प्रशिक्षणका लागि आवश्यक पर्ने २९ करोड रुपैयाँ विनियोजनका लागि पेश गर्ने निर्णय भएको छ ।
खेल विज्ञ अचुतम लामिछाने प्रतियोगिता आयोजना मिति यति नजिक आइसक्दा पनि विशेष तयारीले प्राथमिकता नपाउनुलाई नेपाली खेल क्षेत्रकै विडम्बना मान्छन् ।
‘एसियाली खेलकुद, ओलम्पिकजस्ता प्रतियोगिता हरेक चार वर्षमा आयोजना हुन्छन् भनेर सबैलाई थाहा हुन्छ । यो तयारी चार वर्षदेखि नै हुनुपर्ने थियो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले थपे, ‘मेरो विचारमा समावेश गरिएको खेलको संख्या नै धेरै भयो । सम्भावना भएका सीमित खेलका खेलाडीलाई विशेष प्राथमिकता दिएर सहभागी गराउँदा उच्चस्तरको प्रदर्शन हुनसक्छ ।’
डेढ वर्षअघि टंकलाल घिसिङ सदस्यसचिव नियुक्ति भएपछि उनैले गठन गरेको हाइ पफर्मेन्स कमिटीको मूल्यांकन र सिफारिसका आधारमा एसियाडका लागि खेल संख्या निर्धारण गरिएको हो । हाइ पफर्मेन्स कमिटीले सम्भावना भएका, लोकप्रियता र सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेललाई प्राथमिकता दिएर एसियाडका लागि समावेश गरेको थियो ।
चालू आर्थिक वर्षमा एसियाड तयारीका लागि सरकारले १० करोड रुपैयाँ विनियोजन गरेको थियो । राखेपले प्रतियोगिताको तयारी सुरु गर्न ढिला गर्दा माघमा अर्थ मन्त्रालयले बजेट रोक्का गरिदियो । फागुन पहिलो सातादेखि छनोट र प्रशिक्षण सुरु गर्ने योजनामा रहेको राखेप नेतृत्वलाई बजेट फुकुवाका लागि अर्थ मन्त्रालयलाई मनाउनमै झण्डै दुई महिनाको समय लाग्यो ।
चैतमा सरकारले १० मध्ये २ करोड रुपैयाँ दिने आश्वासन दियो । राखेपले २९ चैतमा पत्रकार सम्मेल गरी ११ बैशाखदेखि एसियाडलक्षित प्रशिक्षण सुरु गर्ने भनेको थियो । वैशाख ११ देखि जेठ ३ सम्म पहिलो चरण, ६–२५ जेठ दोस्रो चरण र २६ जेठदेखि ३१ भदौसम्म अन्तिम चरणको प्रशिक्षण क्याम्प सञ्चालन गर्ने तालिका बनाएको थियो ।
राखेप आफ्नै प्रशिक्षण तालिकाबाट झण्डै एक महिना ढिला भइसकेको छ । यसबीचमा सबै खेलको छनोट सम्पन्न भइसकेको छ । नेपाल ओलम्पिक कमिटीले ६ जेठको समयसीमाभित्र प्रतियोगिता खेल्ने खेलाडीको लङ लिस्ट बुझाइसकेको छ । १५ असारसम्म एसियाड खेल्ने खेलाडीको सर्ट लिष्ट बुझाइसक्नुपर्नेछ ।
अर्थ मन्त्रालयले विनियोजन गरेको २ करोड रुपैयाँ खेलाडी छनोटमा खर्च हुँदा बन्द प्रशिक्षण सञ्चालनका लागि राखेपले बजेटको निश्चितता पाउन सकेको छैन । तर, राखेप सदस्यसचिव घिसिङ पैसाकै कारणले प्रशिक्षणमा असर नपरेको दावी गर्छन् ।
उसो भए के कारणले सञ्चालन हुन नसकेको हो त ? सदस्यसचिव घिसिङले अनलाइनखबरसँग भने, ‘राखेपले सबै संघहरुलाई आआफ्नो कार्यक्रम गर्न निर्देशन दिएको छ । प्रशिक्षण सुरु गर्न र आवश्यक अवस्थामा वैदेशिक तयारी वा विदेशी प्रशिक्षक झिकाउन पनि भनेको छ । बजेटको ग्यारेन्टी गर्दा पनि उहाँहरुले काममा तदारुकता देखाउनुभएको छैन ।’
सदस्यसचिव घिसिङले वर्षभरि नै घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरु नियमित प्रशिक्षणमै रहेको दावी गरे । चीन, जापानजस्ता विश्व खेलकुदमै महारथी टिमसँग प्रतिस्पर्धा गर्नुपूर्व हुने विशेष तयारी सञ्चालन भएको छैन ।
एसियाडमा समावेश खेल
तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल, फेन्सिङ, ह्याण्डबल, कबड्डी, टेबल टेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट, सुटिङ, रग्बी, स्क्वास, टेनिस, इस्पोर्टस र डान्स स्पोर्टस ।
फुटबल र क्रिकेटबाहेक नेपालका अधिकांश खेल संघ राखेपबाट आउने सीमित बजेटको भरमा कार्यक्रम बनाउँछन् । उनीहरुलाई धेरै वर्षदेखि यही बानी लागेको छ । राखेपसँग नीतिगत नोकझोँक हुँदा स्वायत्तताको दुहाई दिने संघहरु विशेष अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उही राखेपकै मुख ताक्ने प्रवृत्ति अहिले पनि छ ।
राष्ट्रिय खेलकुद ऐन २०७७ जारी भएको तीन वर्ष पुग्न लाग्यो । गत वर्ष कात्तिकमा नियमावली पनि जारी भइसकेको छ । तर, राखेपमा दर्ता भएका १८४ खेल संघमध्ये धेरैजसोले अहिलेसम्म आवधिक निर्वाचन गरेका छैनन् । स्थानीय तह, जिल्ला र प्रदेश संरचना बनाएर केन्द्रीय निर्वाचन नगर्ने खेल संघलाई असार मसान्तदेखि नवीकरण नगर्ने राखेपको तयारी छ । त्यसका लागि सम्बन्धित खेल संघलाई परिपत्र गरिसिकएको सदस्यसचिव घिसिङले जानकारी दिए ।
आवधिक निर्वाचन नगर्ने खेलसंघलाई एसियाली खेलकुदमा सहभागिताकै लागि पनि बाधा हुनसक्ने संकेत सदस्यसचिवको छ । ‘कानूनी जटिलताबारे हामीले खेल संघलाई अवगत गराइसकेका छौं । उहाँहरु जिम्मेबार भएर राखेप र ओलम्पिक कमिटीमातहत आउनु अनिवार्य हुन्छ,’ सदस्यसचिवले थपे, ‘खेल संघका कारण खेलाडीहरु एसियाडबाट बन्चित हुने अवस्था नआओस ।
राखेपका सदस्यसचिव रहिसकेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा पनि एसियाडको तयारीलाई सबैले हल्का रुपमा लिएको आरोप लगाए ।
‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र प्रदर्शनका लागि सबैभन्दा जिम्मेबार खेल संघ नै हुनुपर्छ । उसलाई नियमन गर्ने राखेप र ओलम्पिकले हो । यी तीनै तत्व एकजुट भएर अगाडि बढ्ने हो भने असम्भव केहि हुँदैन,’ लामाले अनलाइनखबरसँग भने, ‘तर, यहाँ कसैलाई हतार नै छैन जस्तो देखिन्छ ।’
आइतबारको बोर्ड बैठकले एसियाड तयारीमा रहने खेलाडीको सुविधाका लागि निर्देशिका बनाउने निर्णयसमेत गरेको छ । ‘बन्द प्रशिक्षणमा रहने खेलाडीले पाउने सेवा र सुविधाका लागि ऐन र नियमावलीमा व्यवस्था छैन । त्यसका लागि निर्देशिका बनाउने प्रक्रिया सुरु भएको छ,’ सदस्यसचिव भन्छन्, ‘निर्देशिका पारित भएपछि छनोट सम्पन्न गरेको भोलिपल्टदेखि प्रशिक्षण सुरु भएको छ भने खेलाडीले सुविधा पाउँछन् ।’
वैशाख महिनाभर सबै खेल संघले पहिलो चरणको छनोट सम्पन्न गरिसकेका छन् । फागुन ७ मा छनोट सम्पन्न गरेको कराते ५१ दिनदेखि प्रशिक्षणमा छ । बाँकी खेल संघहरु पनि छनोट लगत्तैदेखि प्रशिक्षणमा छन् । यद्यपि त्यो प्रतियोगितालक्षित विशेष तयारी भएको छ । प्रशिक्षकको निगरानीमा खेलाडीले फिटनेसका लागि मात्र प्रशिक्षण भएको छ ।
 
                    










 २०८० जेठ  ८ गते १४:३५
                        २०८० जेठ  ८ गते १४:३५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4