+
+

लक्ष्मी र सनराइज बैंक मर्जर भएर ‘लक्ष्मी सनराइज बैंक’ बन्ने

सीईओमा अजय विक्रम शाह

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ८ गते १७:१०

८ जेठ, काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरका लागि सोमबार अन्तिम सम्झौता भएको छ । २५ पुसमा मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका लक्ष्मी बैंक र सनराइज बैंक असार मसान्तभित्र एकीकृत कारोबार गर्नेगरी सोमबार मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको हो ।

सम्झौतामा लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका सञ्चालक ई. बच्छराज तातेडले हस्ताक्षर गरे । दुई बैंक बराबरी हैसियतमा मर्जरमा जाने सहमति छ । सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुनेगरी मर्जरको अन्तिम सम्झौता भएको लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए । मर्जरपछि बन्ने नाम राष्ट्र बैंकले स्वीकृति दिएमा लक्ष्मी सनराइज बैंक रहने सहमति भएको उनले बताए ।

यस्तै मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्ष चयन गर्ने जनाइएको छ ।

नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि एकीकृत कारोबार सुरु हुने सहमतिमा उल्लेख छ । सम्पूर्ण प्रक्रियाहरु टुंग्याइ आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखिएको लक्ष्मी बैंकका अध्यक्ष नेपालले बताए ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ छ । दुई बैंक एक हुँदा चुक्ता पूँजी २१ अर्ब ६७ करोड २ लाख ३७ हजार रुपैयाँ हुनेछ ।

चैत मसान्तसम्मको तथ्यांकअनुसार लक्ष्मी बैंकको निक्षेप १ खर्ब ५० अर्ब १३ करोड ५३ लाख ८९ हजार रुपैयाँ छ भने सनराइज बैंकको १ खर्ब ३१ अर्ब ६७ करोड १६ लाख ३१ हजार रुपैयाँ छ ।

यस्तै कर्जा प्रवाह लक्ष्मी बैंकले १ खर्ब ३१ अर्ब ४६ करोड ५१ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सनराइजले १ खर्ब १९ अर्ब ४३ करोड ४४ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । मर्जरपछि शाखा संख्या २७२ पुग्नेछ । हाल लक्ष्मी बैंकका १३३ र सनराइजका १३९ शाखा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?