+
काभा वुमन्स् च्यालेन्ज कप :

नेपालको पहिलो खेल : प्रतिस्पर्धा कम, कमजोरी चिन्ने मौका धेरै

२०८० जेठ  ८ गते २२:०७ २०८० जेठ ८ गते २२:०७
नेपालको पहिलो खेल : प्रतिस्पर्धा कम, कमजोरी चिन्ने मौका धेरै

८ जेठ, काटमाडौं । नेपाली महिला भलिबल टिमले काभा वुमन्स् च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

तुलनात्मक रुपमा कमजोर किर्गिस्तानमाथिको जित अपेक्षित नै थियो । तर यो खेलले नेपाललाई आफ्नो कमजोर चिन्ने अवसर भने दिएको छ । दुई पटकको डिफेन्डिङ च्याम्पियन नेपालले आफ्नो खेलमा उल्लेख्य सुधार नगरे दक्षिण एसियाकै जायन्ट भारतसँग खेल्न मुस्किल हुने देखिन्छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपाल सर्भिस र रिसिभमा चुक्यो । खेलअघि धेरै प्रश्न उठेको ओपन स्पाइक (आउटसाइड स्पाइक) मा उषा भण्डारी र निरुता ठगुन्नाको जोडीले मन जित्यो ।

नेपालको ओपनस्पाइकमा प्रतिभा माली र सरस्वती चौधरीको जोडी राम्रै जमेको थियो । तर प्रतियोगिता सुरु हुनु अघि नै प्रतिभा घाइते भइन् भने सरस्वतीलाई पनि अभ्यासको दौरान चोट लागेकाले नेपाल दबावमा थियो ।

उषा र निरुताको जोडीले सहजरूपमा त्यो जिम्मेवारी सम्हाले ।

डेब्युमा संगम र रिमाको प्रदर्शन

नेपालका लागि मिडल ब्लकरमा संगम महतो र आउटसाइड स्पाइकमा रिमा कुवँरले डेब्यु गरे । संगमले पहिलो सेटमा नै मौका बनाइन् भने रिमाले प्रतिस्थापन हुँदै मैदानमा उत्रिइन् ।

रिमाले खासै खेल देखाउने मौका पाइनन्, संगमको प्रदर्शन भने प्रशंसनीय रह्यो । पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेकी उनले घरेलु मैदान र घरेलु प्रतियोगितामा देखाएको क्वुइक स्पाइकको जादु किर्गितानविरुद्ध पनि कायम राखिन् । संगमले मिडल ब्लकमा सफिया पुनसँग सहकार्य गरेकी थिइन् ।

रिमाले संगमलाई टिमको आवश्यकता अनुसार प्रदर्शन गरिन् । बाँया हाते अपोजिट हिटर रिमाको छरितो रेस्पोन्स भने टिमका लागि निकै राम्रो सावित भयो । ‘दुवै जनाले आफ्नो अनुभवको आधारमा राम्रो गर्नुभयो’ कप्तान अरुणा शाहीले मूल्यांकन छ ।

कमजोरी चिन्ने अवसर

सोमबार नेपालले २०२१ पछि पहिलो पटक अन्तर्राष्ट्रिय म्याच खेलेको थियो, जुन प्रतिस्पर्धात्मक कम, कमजोरी चिन्ने अवसर धेरै भएको बताउँछिन् कप्तान अरुणा शाही ।

लामो समयपछि खेलेको अन्तर्राष्ट्रिय खेल भएकाले पनि होला, सुरुमा नयाँ खेलाडीसँग कोअर्डिनेट गर्न गाह्रो भएको उनले सुनाइन् । पछि राम्रो भएको भन्दै उनले खेलपछि भनिन्, ‘हामीले आज गरेको गल्ती सुधारेर खेल्यौं भने राम्रो गर्न सक्छौं ।’

नेपालले दुई वर्षपछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा निकालेको यो पहिलो जित हो । त्यति मात्रै होेइन, विदेशी प्रशिक्षकको ३ महिना लामो प्रशिक्षणको पहिलो परीक्षा थियो । त्यसमा महत्वपूर्ण ३ अंक हात पारेकोमा सन्तुष्ट देखिएका प्रशिक्षक जान डी ब्रान्ट भन्छन्, ‘आजको जितले सेमिफाइनल पुग्न सहयोग हुनेछ ।’

नेपालले भोलि बंगलादेशसँग खेल्ने छ । बंगलादेशलाई प्रशिक्षक ब्रान्टले सहज टिमकै रुपमा लिएका छन् । ‘हामीले आजको खेलबाट धेरै सुर्धानुपर्ने हुन्छ र भोलिको खेल पनि जित्नुपर्छ’, उनले भने, ‘एक अंक पाएपछि ५ मिनेट खुसी मनाइराख्नु जरुरी छैन, सर्भिसको लागि जानुपर्छ । निरुताले ६ अंक त्यसरी नै ल्याइन् ।’

प्रशिक्षक ब्रान्ट भारतसँगको खेलबारे भने सतर्क छन् । ‘भारत बलियो टिम हो । अग्लो टिम हो,’ उनले अघि भने, ‘मेरो दिमागमा रणनीति छ । म खेलाडीलाई टिमको आवश्यकता अनुसार प्रयोग गर्छु । म जित्ने तरिकाले योजना बनाउँछु ।’

उनका अनुसार नेपालले डिफेन्ड र सर्भिस राम्रो गर्न सक्छ । ‘हामीले मिडलमा पनि राम्रो गर्न सक्छौं,’ उनले भने, एकदमै स्टुपिड मिस्टेक गरेका छौं, भारतसँग गर्नु हुँदैन ।’

काभा वुमन्स् भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय