+
+

ठेकेदार हराएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १७:५१

९ जेठ, गोरखा । मध्यपहाडी लोकमार्गको काममा लापरवाही गर्ने ठेकेदार विरुद्ध गोरखाका स्थानीय विरोधमा उत्रिएका छन् ।

पालुङटार नगरपालिकाको ठाटीपोखरीदेखि मसानेठाटी खण्डको जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको बिरोध गर्दै स्थानीयले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।

‘सडक निर्माणको ठेकेदार कहाँ छ ?, ‘जनतालाई सास्ती कहिलेसम्म’ जस्ता नारा लेखिएका प्ले कार्डसहित उनीहरु धर्नामा बसेका हुन् ।

काम अलपत्र पारेर सम्पर्कविहीन बनेको ठेकेदारलाई कार्यक्षेत्रमा उपस्थित गराइदिन उनीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । ‘अहिले त्यो सडकमा एम्वुलेन्स चल्न सक्ने अवस्था छैन,’ स्थानीय कमल पोखरेलले भने, ‘ठेकेदार काम गर्न आउँदैन, बाटोको अवस्था बिजोग छ, जसरी भएपनि ठेकेदारलाई कार्यक्षेत्रमा बोलाएर काम सुचारु गराउनुपर्‍यो ।’

बर्खामा बाटोकै कारण कुनै घटना भएमा त्यसको जिम्मेवार ठेकेदार हुने भन्दै उनले आक्रोश व्यक्त गरे।

उक्त निर्माण कम्पनीले मजदुरको श्रम शोषण समेत गरेको स्थानीयको आरोप छ । काम लगाउने तर ज्याला नदिने गरेको पानपा-४ लुईटेलका स्थानीय कालीप्रसाद सोडारीले बताए।

‘केही दिन काम गर्छन्, ज्याला पाउँदैनन् अनि निराश भएर काम छाडेर जान्छन्, यस्तो धेरै पटक भइसक्यो,’ उनले भने। पूर्व प्रदेश सांसद समेत रहेका हरिशरण आचार्यले ठेकेदारलाई कारवाही हुनुपर्ने बताएका छन्।

तेस्रो पटक म्याद थप हुदाँ समेत काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया अघि बढाउन उनले प्रजिअलाई आग्रह गरेका छन् ।

मसानेठाटीदेखि छेवेटारसम्मका स्थानीय धर्ना कार्यक्रममा सहभागी थिए । राजनीतिक संरक्षणका कारण ठेकेदारको लापरवाही बढेको उनीहरुको भनाइ छ। समयमै काम नगरे सो सडकखण्डमा सवारी चल्न नदिने उनीहरुले चेतावनी समेत दिए ।

प्रजिअ दिनेश सागर भुसालले निर्माण कम्पनी, जनप्रतिनिधी, स्थानीय लगायतका सरोकारवाहरुसँग बसेर छलफल गर्ने बताए।

कुल १३ किलोमिटर उक्त खण्डको काम विगत केही समयदेखि अलपत्र छ । चालु आर्थिक बर्षको असार मसान्तसम्म काम सक्ने जिम्मा लिएको निर्माण कम्पनी अहिले सम्पर्कमै नभएको स्थानीय बताउँछन् । हालसम्म २५ प्रतिशत मात्र कामको प्रगती रहेको आयोजना कार्यालय ठाटीपोखरीले जनाएको छ ।

अदालतको ‘स्टे अर्डर’ का कारण कारवाही गर्न नसकिएको कार्यालय प्रमुख सुनिल रंजितकारले बताए । ‘काम नगरेपछि हामीले बैक ग्यारेन्टी जफत गर्‍यौ, तर उसले उच्च अदालत पाटनमा निवेदन दिएछ,’ उनले भने, ‘अदालतले स्टे अर्डर दिएको छ, त्यसकै कारण अफिसियल रुपमा कारवाही गर्न पाएका  छैनौ।’

कारवाहीका लागी बिभागको कानूनी शाखामा लेखेर पठाए पनि कुनै प्रतिक्रिया नआएको उनले बताए । यस बिषयमा जानकारी लिन प्यासिफिक कन्स्ट्रक्सनका ठाकुर कडेँललाई फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।

पाँच खण्डमा विभाजन गरेर जिल्लामा मध्यपहाडी लोकमार्गको काम भइरहेको छ । ठाटीपोखरी-मसानेठाटी बाहेक अन्य खण्डमा भने काम भइरहेको आयोजनाले जनाएको छ।

जिल्लाको कुल ६२ किलोमिटर मध्ये हालसम्म २५ किलोमिटर खण्ड कालोपत्रे भइसकेको कार्यालय प्रमुख रंजितकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?