+
+

उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिइन्, राज्यमन्त्री सान्त्वना पुरस्कार पाइन्

सत्ता गठबन्धनबाट रामसहाय प्रसाद यादव उम्मेदवार बनेर उपराष्ट्रपतिमा निर्वाचित भए । राष्ट्रिय सभा सदस्य समेत रहेकी प्रमिला उपराष्ट्रपति बन्न नसके पनि पार्टीले उनलाई राज्यमन्त्री पदमा भने पुर्‍याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ९ गते १८:४३
प्रमिला कुमारी

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले उपराष्ट्रपति चुनावमा अघि सारेकी प्रमिला कुमारीलाई राज्यमन्त्री बनाएको छ।

जसपाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिलालाई पठाएको छ। उक्त मन्त्रालयमा मन्त्रीका रुपमा यस अघि जसपाले वरिष्ठ उपाध्यक्ष अशोक राईलाई पठाएको थियो। पुरुषबाट उपराष्ट्रपतिको उम्मेदवार हुन नसकेको अवस्थामा प्रमिलालाई अघि सार्ने जसपाको तयारी थियो।

राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदाय हुनुपर्ने संवैधानिक व्यवस्थाको व्याख्याका क्रममा फरक फरक धारणाहरु सार्वजनिक भएका थिए। फरक समुदायबाट पुरुष उपराष्ट्रपति हुन सक्ने अवस्था बनेपछि प्रमिलाले नाम फिर्ता लिएकी थिइन्

सत्ता गठबन्धनबाट रामसहाय प्रसाद यादव उम्मेदवार बनेर उपराष्ट्रपतिमा निर्वाचित भए । राष्ट्रिय सभा सदस्य समेत रहेकी प्रमिला उपराष्ट्रपति बन्न नसके पनि पार्टीले उनलाई राज्यमन्त्री पदमा भने पुर्‍याएको छ ।

सत्ता गठबन्धनबीच जसपाले दुई मन्त्रालय प्राप्त गर्ने सहमति बनेको थियो । थप एक राज्यमन्त्री पनि पाएको छ । प्रमिलालाई राज्यमन्त्री बनाउने जसपा अध्यक्ष उपेन्द्र यादवको चाहनाले नै थप नाम पठाउन ढिलाई भएको उक्त दलका एक नेताले दाबी गरे । जसपाले वन तथा वातावरण मन्त्रालय उपनिर्वाचन अघि नै पाउने टुंगो लागेको थियो । थप एक राज्यमन्त्रीको अडान जसपाले राखेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरण मन्त्रीमा विरेन्द्रप्रसाद महतो र शिक्षा राज्यमन्त्रीमा प्रमिला नियुक्त भएकी छन्। महतो र प्रमिलाको नियुक्ति सँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ।

प्रमिला यसअघि मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । सप्तरीमा जन्मिएकी उनी तराई मधेस आन्दोलनबाट सक्रिय राजनीतिमा लागेकी हुन्। उनी २०६२ सालमा मधेसी जनअधिकार फोरम नेपालबाट राजनीतिमा क्रियाशील भएकी थिइन्।

मधेसी महिला फोरमको सुनसरी जिल्ला अध्यक्ष बनेकी उनी मधेसी शिक्षक फोरमको केन्द्रीय उपाध्यक्ष पनि बनिन्। संघीय समाजवादी फोरमको केन्द्रीय सल्लाहकार समिति सदस्य हुँदै केन्द्रीय सदस्यसम्म बनिन्। २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी उनी अघिल्लो संसदमा दिगो विकास तथा सुशासन समिति सदस्य थिइन्।

२०६८-२०७० सम्म राजनीतिक नियुक्तिबाट उनी नेशनल ट्रेडिङ लिमिटेडको महाप्रवन्धक भइन्। राजनीतिमा आउनु अघि प्रमिला शिक्षण पेशामा आवद्ध थिइन्। २५ वर्ष शिक्षण पेसामा रहेकी उनले स्नातकोत्तर तहको अध्ययन सकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?