+
+

विश्वकप छनोटमा नेपाल : समूह चरणमा टेष्ट राष्ट्रसँग खेल्ने, वार्मअप म्याच एशोसिएट टिमसँग

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते ८:३६

१० जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ ।

विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक टोलीले दुई/दुई वार्मअप म्याच खेल्ने अवसर पाउनेछ ।

आईसीसीले मंगलबार विश्वकप छनोटको समूह विभाजन र खेलतालिकासहित वार्मअप म्याचको पनि खेलतालिका सार्वजनिक गरेको छ । जसअनुसार नेपालले छनोटमा अर्को समूहमा रहेको यूएई  र ओमानसँग वार्मअप म्याच खेल्नेछ ।

विश्वकप छनोट खेल्ने सबै एशोसिएट टिमले मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग दुई-दुई खेल खेल्न पाउनेछ । तर वार्मअप म्याचमा भने एशोसिएटमा नेपालले मात्र एशोसिएट टिमसँग मात्र खेल्ने तालिका छ ।

अन्य एशोसिएट टिमले टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्ने तालिका हुँदा नेपालले भने टेष्ट राष्ट्रसँग वार्म अफ म्याच खेल्न नपाउने भएको छ ।

मुख्य प्रतियोगितामा टेष्ट राष्ट्रसँग खेल्नुअघि वार्मअप म्याचमा पनि टेष्ट राष्ट्रसँग खेल्दा खेलाडीले एक्सपोजर पाउने र स्तर थाहा पाउने अवसर हुनेछ । तर यस पटक नेपालले भने त्यो अवसर नपाउने भएको छ ।

नेपाल र यूएईबीच जुन १३ मा ओल्ड हरारियन्स क्रिकेट क्लबमा खेल हुनेछ । यस्तै नेपालले ओमानसँग जुन १५ मा हरारे स्पोर्ट्स क्लबमा खेल्नेछ ।

नेपालले एसियाली लेभलमा खेलिसकेको र लिग टु मा पनि खेलिसकेको दुई टोलीसँग मात्र वार्मअप म्याच खेल्ने भएको छ ।

नेपालले गत वैशाखमा घरेलु मैदानमा भएको एसीसी प्रिमियर कपमा ओमान र यूएई दुवैलाई हराएको थियो । नेपालले फाइनलमा यूएईलाई हराएर प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको थियो ।

नेपाली टोली एक साता नेपालमा तयारीपछि अन्तिम चरणको प्रशिक्षण र तयारीका लागि दक्षिण अफ्रिका जानेछ । जहाँ नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टोली त्यतैबाट जुन १० मा जिम्बावे जानेछ ।

विश्वकप छनोटमा नेपाल आयोजक जिम्बावे रहेको समूह ए मा छ । यस समूहमा पूर्व विश्वकप विजेता वेष्ट इन्डिजसहित जिम्बावे, नेपाल, नेदरल्याण्ड्स र अमेरिकासँग खेल्नेछ ।

नेपालले पहिलो पटक वेष्ट इन्डिजसँग ओडीआई खेल खेल्नेछ । यस्तै जिम्बावेसँग पनि नेपालको पहिलो ओडीआई खेल हुनेछ । २०१८ मा पनि जिम्बावेमै भएको विश्वकप छनोटमा नेपालले जिम्बासवेसँग खेलेको थियो तर नेपालको ओडीआई मान्यता नभएकोले त्यो खेलले मान्यता पाएन ।

सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको नेपालले टेष्ट राष्ट्रसँग यही विश्वकप छनोटमा पहिलो पटक ओडीआई म्याच खेल्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् ।

यसपटक भने सबै खेल ओडीआई मान्यताको हुनेछ । विश्वकप छनोटमा चार टेष्ट र ६ एशोसिएट टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँबाट शीर्ष दुई टोलीले भारतमा हुने वान डे विश्वकपमा स्थान पक्का गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?