+
+
ब्लग :

संकटबाट सम्हालिन क्षेत्रीय सम्मेलनमा गैरआवासीय नेपाली

गैरआवासीय नेपाली संघभित्र चरम राजनीतिक ध्रुवीकरण र हस्तक्षेप पनि बढिरहेको छ । सम्भावित दुर्गति रोक्न र संघको उज्ज्वल भविष्य सुनिश्चित गर्न सचेत वर्ग तथा बुद्धिजीवीले नागरिक पहरेदारी र खबरदारी गर्न जरूरी छ ।                                              

सुमन पौडेल सुमन पौडेल
२०८० जेठ १० गते १६:५५

अहिले गैरआवासीय नेपालीको साझा अभियान इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ । तर, यसबाट पार लगाउन सक्ने गरी यो अभियान सशक्त र संगठित भइरहेको छैन ।

पछिल्लो समयमा गैरआवासीय नेपाली संघ संस्थागत रूपमा दुई धारमा विभाजित छ । संस्था र अभियानप्रति नै सदस्यहरूमा चरम वितृष्णा उत्पन्न भइरहेको छ । सदस्यहरू संस्थामा मन खोलेर गोलबन्द हुनसकिरहेका छैनन् ।

गैरआवासीय नेपाली संघभित्र चरम राजनीतिक धु्रवीकरण र हस्तक्षेप पनि बढिरहेको छ । संघ प्रगतिभन्दा दुर्गतिउन्मुख हुँदैन । यसले आगामी दिनमा गैरआवासीय नेपाली संघ अस्तित्व संकटमा पर्ने संकेत गर्दछ । सम्भावित दुर्गति रोक्न र संघको उज्ज्वल भविष्य सुनिश्चित गर्न सचेत वर्ग र बुद्धिजीवीले नागरिक पहरेदारी र खबरदारी गर्न जरूरी छ ।

विश्वव्यापीकरणले पछिल्लो समयमा नेपालीहरू श्रम, अध्ययन, पेशा तथा व्यवसायका लागि विश्वका विभिन्न मुलुकमा पुगेका छन् । जहाँ–जहाँ नेपालीहरू बसोबास र काम गरिरहेका छन्, त्यहाँ फरक–फरक प्रकृतिका समस्या र सवालसँग जुध्न बाध्य छन् । त्यस्ता सवालहरूको पहिचान गरी समस्या समाधानका लागि सम्बन्धित देश र नेपाल सरकारसँग समन्वय तथा सहजीकरणका लागि आवश्यक पहलकदमी गर्ने प्रमुख नैतिक जिम्मेवारी गैरआवासीय नेपाली संघको काँधमा रहेको छ ।

विदेशी भूमिमा बस्ने प्रत्येक नेपालीलाई आफ्नो मातृभूमिप्रतिको अपार माया र प्रगाढ आत्मीयता छ । उनीहरूलाई नेपालको विकास र समृृद्धिमा योगदान पुर्‍याउने हुटहुटी हुन्छ । विदेशमा आर्जन गरेको मौद्रिक सम्पत्ति मात्र हैन ज्ञान, सीप, पूँजी र प्रविधिलाई नेपालको विकास र समृद्धिका लागि हस्तान्तरण गर्ने भावना अधिकांश प्रवासीलाई हुन्छ । यो गैरआवासीय नेपालीको ठूलो चासो र चिन्ताको विषय हो । त्यसैले यसलाई सही ढंगबाट व्यवस्थापन र सहजीकरण गर्ने जिम्मेवारी संघको काँधमा छ । तर संघको भूमिका यस सम्बन्धमा अपेक्षित रूपमा प्रभावकारी हुनसकिरहेको छैन ।

गैरआवासीय नेपाली लामो समयदेखि आफ्नो पैतृक सम्पत्तिको सुरक्षा, वंशजका आधारमा नागरिकताको निरन्तरता र मातृभूमिमा आफ्नो लगानीको सुरक्षाका लागि संघर्षरत छन् । यद्यपि नेपालको संविधानले गैरआवासीय नेपालीको यी अधिकारहरू सुनिश्चित गर्ने प्रतिबद्धता अनुरूप यथेष्ट कानुन निर्माण गर्न सकेको छैन । फलतः गैरआवासीय नेपाली सम्बन्धित अधिकारहरूबाट वञ्चित हुनुपरेको अवस्था छ ।

अहिलेको मुख्य चुनौती भनेकै संघभित्रको चरम राजनीतिक गुटबन्दी र राजनीतिक हस्तक्षेप नै हो । यसको असर संघको राष्ट्रिय समन्वय परिषददेखि अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म परेको छ । अदृश्य रूपमा नेपालका मुख्य राजनीतिक दलहरूको राजनीतिक हस्तक्षेपमा दशौं महाधिवेशन पश्चात् गठित तीन अध्यक्ष सहितको जम्बो कार्य समिति निर्माण संघको इतिहासकै एउटा गलत अभ्यास हो ।

यसरी विश्वभरिबाट गैरआवासीय नेपालीले दिएको म्याण्डेटलाई केन्द्रीय तहबाट दुरुपयोग गर्नु भनेको गैरआवासीय नेपालीको भविष्यप्रति गरिएको गम्भीर खेलबाड हो । यस्ता गलत संस्कार, अभ्यास र परिणामले संघभित्र अवसरवादी चरित्रको नेतृत्वबाट गैरआवासीय नेपालीको हकहित र नेपालको विकास तथा समृद्धिमा काम हुन्छ भन्नु कागलाई बेल पाक्यो हर्ष न विस्मात् हो ।

यस्ता प्रवृत्तिले नयाँ पुस्तालाई संघको अभियानप्रति आकर्षण गर्न सक्दैन । त्यसैले संघभित्र मौलाइरहेका विकृति र विसंगतिलाई गम्भीर ढंगबाट समीक्षा र विश्लेषण गर्नुपर्ने बेला आएको छ । गैरआवासीय अन्तर्राष्ट्रिय संघको १०औं महाधिवेशनपश्चात् संघ दुई धारमा विभाजन भएको छ ।

एउटा पक्षले विधानको खिल्ली उडाएर गैरआवासीय नेपालीको म्याण्डेटलाई मानमर्दन गरेको छ भने अर्को पक्ष विधान बमोजिम गठित हुँदै संघभित्र सुशासन र पारदर्शिताको मुद्दालाई उठाउँदै राम्रो र हाम्रो एनआरएन बनाउने अभियानमा जुटिरहेको छ ।

यही पृष्ठभूमिमा विधान बमोजिम विनोद कुँवरको नेतृत्वमा गठित गैरआवासीय नेपाली संघको उत्तर अमेरिकाज क्षेत्रको क्षेत्रीय सम्मेलन यही २७ र २८ मे २०२३ मा पहिलो पटक क्यानडाको टोरोन्टो शहरमा आयोजना गरिंदैछ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद, गैरआवासीय संघ अमेरिका र ग्लोबल एनआरएन क्यानडाको संयुक्त आयोजनामा हुन गइरहेको यो सम्मेलनको विशेष महत्व र अर्थ छ । सम्मेलनले नेपालको आर्थिक विकास र सामाजिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका भन्ने मूल नारा तय गरेको छ ।

यस सम्मेलनले उत्तर अमेरिकाज क्षेत्रमा पर्ने देशहरू अमेरिका, चिली, क्यानडा लगायत अन्य करिब ४० देशबाट कार्यक्रममा सहभागी हुन आउने गैरआवासीय नेपालीको साझा अभियानका जुझारु नेतृत्व, अगुवा र प्रतिनिधिहरूलाई गैरआवासीय नेपालीको साझा हितमा कार्य गर्न तथा नेपालको विकास र समृद्धिमा योगदान पु¥याउन मार्गदर्शन, संगठित र उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघसँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरूका वर्तमान तथा पूर्व पदाधिकारीहरू, सदस्य र सल्लाहकार तथा गैरआवासीय नेपालीको अभियानसँग आबद्ध हुनुभएका विभिन्न पेशाकर्मी, व्यवसायी, विषय विज्ञ तथा सामाजिक अभियन्ताहरू गरी करिब २०० जनाको सहभागिता रहनेछ । दुई दिनसम्म चल्ने यस सम्मेलनमा प्रमुख चारवटा मुद्दाहरूमा छलफल गरिनेछ ।

अहिले नेपालमा मात्र हैन विश्वभरि नै ऊर्जा संकट मौलाउँदै गएको छ । विश्वमा अहिले ऊर्जाको प्रमुख स्रोतको रूपमा पेट्रोलियम पदार्थ रहेको छ । समयमै अब यसको विकल्प सोचिएन भने निकट भविष्यमै विश्वले चरम ऊर्जा संकट बेहोर्नुपर्ने अवस्था सृजना भइसकेको छ । त्यसैले विश्वमा वैकल्पिक ऊर्जाका रूपमा हाइड्रोजनको प्रयोग आइसकेको छ ।

नेपाल विश्वकै जलस्रोतमा धनी देश हो । तसर्थ यस सम्बन्धमा नेपालले आफ्नो जलस्रोत उपयोग गरेर प्रचुर लाभ लिनसक्ने अवसर छ । देशको दिगो आर्थिक विकासमा टेवा पु¥याउन नवीकरणीय ऊर्जाको रूपमा हाइड्रोजनको उत्पादन, प्रयोग र बिक्रीवितरण महत्वपूर्ण हुन सक्दछ ।

गैरआवासीय नेपालीको दृष्टिकोणबाट अहिले यो क्षेत्रमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा छलफल र बहस प्रारम्भ भइसकेको छ । गैरआवासीय संघका अग्रजहरूले नेपाल सरकारसँग यसका संभावनाका विषयमा छलफलहरू अगाडि बढाइरहनुभएको छ । सम्मेलनमा यो पनि प्रमुख छलफलको विषय हुनेछ ।

संघले लामो समयदेखि गैरआवासीय नेपालीका लागि वंशजको आधारमा नेपाली नागरिकता निरन्तरताको मुद्दा उठाइरहेको छ । यो विषयमा नेपालको संविधान सकारात्मक भएतापनि सम्बन्धित प्रस्तावित ऐन कानुन हालसम्म पनि पारित हुन नसक्दा गैरआवासीय नेपालीको मातृभूमिसँगको सम्बन्धविच्छेद हुने अवस्था सृजना भएको छ ।

यसको अभावमा गैरआवासीय नेपालीले मातृभूमिमा चाहेर पनि लगानी गर्न सक्ने वातावरण बनेको छैन । यो विषयमा पनि सम्मेलनमा गम्भीर छलफल हुँदैछ । यो छलफलमा उठेका विषयवस्तुहरूमाथि नेपाल सरकारको ध्यानाकर्षण गर्दै प्रस्तावित ऐन कानुनहरू अविलम्ब पारित गर्न वातावरण बनाउने अपेक्षा सम्मेलनले लिएको छ ।

नेपाल विविधताले भरिपूर्ण देश हो । नेपालको अस्थिरता र अविकासको एउटा प्रमुख कारण सामाजिक, सांस्कृतिक, भाषिक, लैंगिक र क्षेत्रीय रूपमा विद्यमान असमानता पनि हो । यो यथार्थ नेपालको संविधानले पनि अंगीकार गरिसकेको अवस्था छ ।

आर्थिक विकासले मात्र देशको कायापलट हुन नसक्ने हुनाले मानवीय र सामाजिक विकासलाई पनि सँगसँगै लैजाने अभ्यास विश्वव्यापी बनिसकेको छ । तसर्थ गैरआवासीय नेपालीको लगानी अबका दिनमा नेपालको आर्थिक विकास र सामाजिक समृद्धि दुवैमा टेवा पुर्‍याउनका लागि हुनुपर्दछ । यो कामले नेपालको संविधानको अपनत्व र कार्यान्वयनमा पनि गैरआवासीय नेपालीको सहभागितालाई वृद्धि गर्ने कुरामा सम्मेलनले विशेष जोड दिनेछ ।

गैरआवासीय नेपाली संघको अबको एजेण्डा पारदर्शी, विधान र पद्धति केन्द्रित अभ्यास, जवाफदेही र संस्थागत रूपमा सुदृढ एनआरएन हो । यसले मात्र गैरआवासीय नेपालीलाई यो संस्थाप्रति अपनत्व र दायित्वबोध गराउन सक्दछ । त्यसैले संघको संस्थागत शुद्धीकरण अभियान केन्द्रित कसरी बनाउने भन्ने सवालमा सम्मेलनमा बृहत् छलफल हुन गइरहेको छ ।

संघको पछिल्लो सन्दर्भमा हुन गइरहेको यो सम्मेलन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद् र यसका सदस्य संस्थाहरूलाई संघको उद्देश्य प्राप्तिको लागि सशक्त ढंगबाट कार्य गर्न मार्गदर्शन प्रदान गर्ने दिशामा कोसेढुंगा साबित हुनेछ ।

सम्मेलनले संघलाई समग्र गैरआवासीय नेपालीले साझा प्रतिनिधिमूलक संस्थामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । साथै विश्वभर छरिएर रहेका करिब ८० लाख गैरआवासीय नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण सन्देशमा प्रवाह गर्नेछ ।

(लेखक ग्लोबल एनआरएन क्यानडाका उपाध्यक्ष तथा सम्मेलन मूल आयोजक समितिका सचिवालय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?