+
+

शरणार्थी शिविरमा दलाली धन्दा चलाउन खोजिएको भन्दा गृह सचिवको जवाफ : टेन्सन नलिनू

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १८:१९
टेकनारायण पाण्डे

१० जेठ, काठमाडौं । झापाको शरणार्थी समन्वय इकाइ बेलडाँगीका सुपरीवेक्षक सुरेन्द्रराज दाहालले डेढ वर्षअघि नै शरणार्थीका नाममा दलाली धन्दा चलाउन खोजिएको भन्दै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई जानकारी गराएको पाइएको छ ।

तर, पाण्डेले ‘टेन्सन नलिनू भन्दै केशव दुलाल र सानु भण्डारीको विषय केही होइन’ भन्ने जवाफ दिएको तत्कालीन शरणार्थी समन्वय इकाइ, बेलडाँगीका सुपरीवेक्षक दाहालले बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दाको अभियोग पत्रमा समावेश उनको कागजमा २०७८ जेठदेखि प्रतिवेदनको बारेमा नक्कली शरणार्थी प्रकरणका आरोपी केशव दुलाल, सानु भण्डारी लगायतले चासो देखाएको बताएका छन् ।

‘कुनै पनि समयमा माथिबाट निर्णय हुँदैछ भनेर उनीहरुले उपलब्ध गराएको भुटानी शरणार्थी समस्या समाधान सम्बन्धी प्रतिवेदन राय सुझावसहित पठाइदिनुपर्‍यो, हाम्रो मन्त्रालयका सबैसँग सल्लाह भएको छ भन्ने गरेका थिए’, दाहाल भन्छन्, ‘पछि २०७८ मंसिर/पुसतिर तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले बोलाउनु भएको हुँदा मन्त्रालय आएँ ।’

मन्त्रालयमा सचिव पाण्डेले शरणार्थी समस्या, पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन लगायतका विषयमा सोधपुछ गरेको दाहालको भनाइ छ । ‘त्यसक्रममा मैले शिविरभित्र दलाली धन्दा चलाउन खोजेको र उक्त कार्यमा केशव दुलाल र सानु भण्डारी लगायतको टिम सक्रिय रहेको जानकारी गराएको थिएँ’, उनले भने ।

सुरेन्द्रराज दाहाल ।

भण्डारी र दुलालले पटकपटक मन्त्रालयले पत्राचार गरिसकेको छ, तपाईंहरुले टुंग्याउनुपर्‍यो भनेपछि त्यस विषयमा जिल्लामा सल्लाह गर्छु भनेर जिल्ला प्रशासन कार्यालय, झापामा त्यसमा राय दिन सकिंदैन, त्यसमा केही गलत छ भनेको उनले बताए ।

‘केशव दुलालले उपलब्ध गराएको प्रतिवेदन प्रतिलिपिमा गलत व्यक्तिहरुको विवरण समावेश भएको देखियो, दलालहरुले पैसा उठाएको र शरणार्थी बन्नेको नाम हल्लामा आए अनुसार धेरै छन्, पैसामा कारोबार भएको सुनिन्छ भनेर तत्कालीन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई जानकारी गराएँ’, उनी भन्छन्, ‘हामी दुवै अडिग रही फाइल अघि नबढाउने भनी कुरा गरियो ।’

फाइल अघि नबढाएपछि पटकपटक दबाब र सरुवाको धम्की आएको उनले बताएका छन् । त्यसक्रममा मन्त्रालयबाट पछिल्लो मिति राखेर तुरुन्त रमाना दिनु भन्दै तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण स्वयम्ले तत्कालीन प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई खबर गरेको उनले बताएका छन् । ‘रमाना नदिए तिमी तुरुन्त काठमाडौं आउनु भन्नेसम्मको धम्की दिएको हुँदा मेरो रमाना बाध्यकारी रुपले कानूनले तोकेको बरबुझारथ समेत नदिई भएको थियो’, उनले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोह अनुकूल व्यक्तिहरुका नाम पन्थी कार्यदलले नसमेटेपछि प्रकरणमा संलग्नहरुले बालकृष्ण खाँण नेतृत्वका गृहप्रशासनसँग साँठगाँठ गरेका थिए ।

त्यसक्रममा तत्कालीन गृह सचिव पाण्डेले आर्थिक लाभ लिएर पन्थी कार्यदलको प्रतिवेदन सच्याउन भन्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र निरौलाको नेतृत्वमा उपसमिति गठन गराएका थिए । तर, समितिले काम नगरेपछि गृह सचिव पाण्डे स्वयंले मन्त्रालयमा भएको प्रतिवेदन किर्ते गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?