+
+

‘मेयरसँग एउटा प्रस्ट रोडम्याप छैन’

हाम्रोमा जनता समस्या लिएर मेयरकोमा जाने परिपाटी छ । जानुपर्ने त समस्या के छ भन्दै जनताकोमा मेयर हो । जनता चुनावको बेला मात्रै चाहिने हुन् र ? हाम्रा नेतामा यस्तो संस्कारको खडेरी छ ।

कमल लम्साल कमल लम्साल
२०८० जेठ ११ गते १२:५८

वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले आफ्नो कार्यकालको एक वर्ष पूरा गर्नुभएको छ । एक वर्षमै मेयरको मूल्याङ्कन गर्दा अलि हतार हुन्छ । तर एक वर्षमा हुनुपर्ने जति काम भएको छैन । मेयर ढकाल वीरेन्द्रनगरका लागि चिरपरिचित हुनुहुन्छ । उहाँ नगरपालिकाको आन्तरिक व्यवस्था, संघीयताको मूलभूत सवाल, वित्तिय व्यवस्थाको अवस्था लगायत बारे जानकार नै हुनुहुन्छ ।

उहाँसँग विगत पाँच वर्ष उपमेयर भएर काम गरेको अनुभव पनि छ । विगत पाँच वर्षमा न्यायिक समितिको संयोजक भएर काम गरेकाले मुद्दा मामिलाहरूमा काम गर्ने तरिका पनि थाहा छ । उहाँ जतिको अनुभवी मेयरबाट धेरै अपेक्षा हुनु स्वाभाविकै हो । तर जनताले अपेक्षा गरेजस्तो कुनै पनि कामको सुरुआत भने हुन सकेन ।

दलीय व्यवस्थाअन्तर्गत कुनै दलबाट मेयर जितेका जनप्रतिनिधि सबै जनताको होइन, दलको मात्रै मेयर भए जस्तो देखिन्छ । मेयरले अपेक्षाकृत वृहत्तर स्वामित्व लिन सकेको देखिंदैन । कार्यशैलीगत कमजोरीले यस्तो भएको हो । यो व्यक्तिगत नभएर सैद्धान्तिक सवाल हो ।

संघ, प्रदेश र स्थानीय तीन तहकै सरकारमा चुनावी एजेन्डा एकातिर, कार्यान्वयन अर्कोतिर हुने समस्या पुरानै हो । यहीँनेर वस्तुनिष्ट भएर नीति, योजना र कार्यक्रम बन्नुपर्ने हुन्छ । घोषणा लेख्ने एउटा हुन्छ, जनप्रतिनिधि अर्कै, फलत: चुनावी एजेन्डा कार्यान्वयन हुनसक्दैन । एकातिर मत तान्न घोषणापत्रमा जे पनि लेखिदिने अभ्यास छ भने अर्कोतिर चुनाव जितिसकेपछि मेयरले घोषणापत्र लेख्ने मान्छेलाई नै बिर्सिन्छ । त्यसैले अपेक्षाकृत काम भइरहेको छैन ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएको पालिका हो । यहाँ मेयरले गर्ने काम प्रदेश राजधानीलाई कति सफा, व्यवस्थित, सुन्दर, हरियाली र व्यवस्थित बनाउने भन्ने अभिभारासँग जोडिएको हुन्छ । यसमा मेयरको ध्यान जानुपर्छ ।

राजनीतिक नेतृत्वले एउटा भिजन दिनुपर्छ । झण्डै ५० वर्षअघि राजा बीरेन्द्रले बनाएको गुरुयोजना अनुसार आज वीरेन्द्रनगर चलिरहेको छ । हाम्रो मेयरले पनि अबको ५० वर्षपछिको वीरेन्द्रनगर कस्तो बनाउने भन्ने लक्ष्य लिएर तदनुरूप काम गर्नुपर्‍यो । वीरेन्द्रनगरले अहिले सुरु गरेका काममा दीर्घकालीन लक्ष्यसँग जोडिएको छैन । मेयर उद्घाटन र अनुगमनमा रमाएर त्यसैमा हराउनु हुँदैन र, त्यसैलाई आफ्नो उपलब्धि ठान्नु पनि हुँदैन ।

मेयरले संस्थागत सुधार, दीर्घकालीन रणनीति र त्यसअनुसारको लक्ष्य प्राप्तिका लागि नीति कार्यक्रमहरू बनाउने कुरामा जोड दिनुपर्छ । झिनामसिना काम सम्बन्धित शाखाहरूले नै समाधान गर्छन् ।

‘बिहानीले दिउँसोको संकेत गर्छ’ भने झै केही महत्वपूर्ण कामको सुरुवात गर्नुपर्छ । त्यस्तो काम भिजनरी नेताहरूले गर्ने हो । मेयर आफैं भिजनमा स्पष्ट छैनन् भने आफ्नो टिम, पार्टी वा अन्य पार्टीका क्षमतावान नेतृत्वको सहयोग लिनसक्नुपर्छ ।

वीरेन्द्रनगरका मेयरसँग एउटा प्रस्ट रोडम्याप छैन । अहिले सरसर्ती हेर्दा विगतकै कामको निरन्तरता दिएको देखिन्छ । वीरेन्द्रनगरलाई कसरी व्यवस्थित गर्ने र कहाँ पुर्‍याउने भन्ने योजनाबद्ध कार्यतालिका मेयरसँग छैन

वीरेन्द्रनगर राजधानी सहर हो । प्रदेशका मन्त्रालय र केही महत्वपूर्ण सरकारी कार्यालयहरू यहीँ छन् । धेरै नागरिकको काम मन्त्रालय र पालिकामा हुन्छ । यहाँ नगरी नहुने काम हो सार्वज्निक यातायायत व्यवस्थापन, तर यो सजिलो काम होइन । अटोको भाडादर निकै महङ्गो छ । पालिकाले नगर बस नै चलाउनुपर्छ भन्ने छैन । नगरमा भएका विभिन्न यातायात व्यवसायीहरूसँग समन्वय गरेर भाडा दर निर्धारण र अन्य व्यवस्थापनसँग जोडिएका काम गर्न सकिन्छ । त्यसका लागि पालिकाले व्यवस्थापन र प्रभावकारी समन्वय गरे मात्रै पुग्छ ।

अर्को कुरा नगरको खुल्ला क्षेत्रमा सार्वजनिक ‘पार्क’ बनाउने नीति लिनुपर्छ । पार्कमा मान्छेलाई बस्ने र ओत लाग्ने सामान्य व्यवस्था गरिदिए मात्रै पुग्छ । सार्वजनिक शौचालय अनिवार्य हुन्छ । साथै, सस्तो र गुणस्तरीय खानाका परिकार पाइने ठाउँ बनाउन आवश्यक छ । जनताका आधारभूत आवश्यकता र अन्य सामान्य विषयलाई पनि मेयरले ध्यान दिन आवश्यक हुन्छ ।

स्थानीय तहमा जनप्रतिनिधि राजनीतिक दलबाट निर्वाचित हुने परिपाटी नै गलत छ । दलबाट निर्वाचित भएका जनप्रतिनिधि दलको काममा बढी केन्दि्रत भएको देखिन्छ । करिअरमा पनि दोहोरो वृत्ति देखिन्छ । जनप्रतिनिधि त केवल पाँच वर्ष हो, राजनीति सधैंका लागि भन्ने भावनाले त्यहाँ आफ्नो पकड बनाइराख्न जोड दिइन्छ । यस्तो मनस्थिति भएपछि केन्द्रबाट कुनै नेता आए डौडिनुपर्ने, चाकडी गर्नुपर्ने जस्ता अभ्यासले पालिकाको काम प्रभावित हुन्छ ।

हाम्रोमा जनता समस्या लिएर मेयरकोमा जाने परिपाटी छ । जानुपर्ने त समस्या के छ भन्दै जनताकोमा मेयर हो । जनता चुनावको बेला मात्रै चाहिने हुन्ा् र ? हाम्रा नेतामा यस्तो संस्कारको खडेरी छ ।

नगरपालिका भित्रै एउटा अनुसन्धान केन्द्र वा थिङ्क ट्याङ्क बनाउनुपर्छ । पालिकाभित्र विभिन्न शाखाहरूमा दिनानुदिन प्रशासनिक, नीतिगत लगायतका समस्याहरू आइरहेका हुन्छन् । त्यसलाई अनुसन्धान केन्द्रबाट अध्ययन अनुसन्धान गरेर वैज्ञानिक समाधान दिने व्यवस्था गर्न आवश्यक छ ।

स्थानीय तहमा शिक्षा, सामाजिक, खेलकुद, स्वास्थ्य, प्रशासनिक शाखा हुन्छन् । तर अनुसन्धान शाखा, समस्या समाधान शाखा छैनन् । नगरपालिका बजेट बनाउने र खर्च गर्ने लगायतका सरकारी काम मात्रै गर्नुपर्छ भन्ने छैन । हामीले गरेको कामलाई प्रभावकारी बनाउने, समस्या पहिचान गर्दै समाधानका विकल्प दिने कुरामा पनि ध्यान दिनुपर्छ ।

वीरेन्द्रनगरका मेयरसँग एउटा प्रस्ट रोडम्याप छैन । अहिले सरसर्ती हेर्दा विगतकै कामको निरन्तरता दिएको देखिन्छ । वीरेन्द्रनगरलाई कसरी व्यवस्थित गर्ने र कहाँ पुर्‍याउने भन्ने योजनाबद्ध कार्यतालिका मेयरसँग छैन । के काम गर्ने, कहाँबाट सुरु गर्ने भन्ने कुराकै टुंगो छैन । जनप्रतिनिधिमा जनताले चुनेपछि म नै सर्वेसर्वा हुँ, म जे गर्छु ठीक गर्छु भन्ने प्रवृत्ति विकास हुने रहेछ । यो नै समस्याको जड हो ।

कर्मचारी कसरी चलाउने भन्ने कुरा राजनीतिक नेतृत्वले देखाउने क्षमतामा भरपर्छ । नेतृत्वमा पुगेपछि कुनै पनि प्रकारको पूर्वाग्रह विना अगाडि बढाउने हैसियत उसले देखाउनैपर्छ । तर, हामीले त्यो क्षमताको विकास गर्न सकेका छैनौं ।

नगर विकासका लागि सबैले राजनीतिभन्दा माथि उठेर काम गर्न आवश्यक छ । फरक मतका बीचमा पनि साझा एजेन्डामा सहमति बनाउन जरुरी छ । सौन्दर्य, विकास निर्माण, हरियाली र प्रदूषणरहित सहरको एजेन्डामा कसले पो विमति जनाउला र ? अझै समय गएको छैन, मेयरले केही गरेर देखाउने ठाउँ प्रशस्त छ । खाँचो छ त केही गरेरै छोड्ने हुटहुटीको ।

(मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?