+
+
यात्रा संस्मरण :

मुर्मा टपबाट तिमीलाई परख गर्ने धोको अधुरै छ रारा 

तालको सामीप्यमा जाँदै गर्दा सबैको मुखबाट वाह् ! शब्द मात्र निस्किए। राराको रसास्वादन गर्न मोबाइलका क्यामेराभन्दा आँखाहरू नै लालायित थिए।

मोहनराज निरौला मोहनराज निरौला
२०८० जेठ १३ गते १४:५५

निर्धारित समयमा खाँडाचक्र नगरपालिका, कालीकोटको कार्यक्रम सिध्यायौं। साथीहरूसँगको सल्लाहबमोजिम पाँच सदस्यीय हाम्रो समूह मुगुको रारा यात्रामा निस्कियो।

अक्करे भीरको बाटो, भीमकाय ढुङ्गाहरूबीच बगेको तीला कर्णालीको तीरैतीर अगाडि बढ्यौं। कालीकोटको ताली, पिली, सेरावाडा, टिमुरे, गाल्जे, राँचुली, धनाघाट, भिग्मा, नाग्मा हुँदै जुम्लाको हिमा गाउँपालिकाको बागबजार, जुगाडा, बाझागाड, कोईरेली, बड्की, आचार्यलीसम्मको यात्रा रोमाञ्चकताले भरिपूर्ण रह्यो।

करिब ३ घण्टा ३० मिनेटको यात्रापछि हामी जुम्लाको सिंजा उपत्यका प्रवेश गर्‍यौं। जुम्लाको नराकोट, चुले गाउँ, विष्टबाडा, बैरागीडाँडा, घोडेढुङ्गा, गुम्गाड, प्याखुरेवाडाबाट नेपाली भाषाको पहिलो आधिकारिक अभिलेख भेटिएको र आर्य संस्कृतिको उत्पत्तिको जननी मानिने सिंजा उपत्यका पुग्न र देख्न पाउनु मेरो (हाम्रो) जीवनको अभिन्न अङ्ग बन्यो।

बीचमा बगेकी हिमा नदी, किनारमा झुल्दै गरेका गहुँका फाँटहरू। अलि माथि रहेका ग्रामीण सुन्दर बस्तीहरू हेर्दा सबैको मन आल्हादित भयो। त्यो दृश्य कैद गर्न फर्किएका नयनहरू, मोबाइल र क्यामेराले प्रस्टै झल्काउँथ्यो।

सिंजा उपत्यका हुँदै कनकासुन्दरी गाउँ कार्यपालिकाको कार्यालयबाट अगाडि बढ्यौं। पाखाभरि बारीमा देखिए स्याउका बोटहरू जसले ग्रामीण बस्तीहरू विस्तारै व्यावसायिकतातर्फ लम्किइरहेको महसुस गर्न सकिन्थ्यो।

बाटोमा देखिन थालेका कोणधारी बोटबिरुवाले हामी विस्तारै उचाइमा प्रवेश गरेको संकेत गर्दैथिए। सिमसिम पर्दै गरेको पानीले पूर्व योजना विनाको यात्रालाई चिसो अनुभूति दिलाएर चुनौती दिंदै थियो।

वरिपरि लागेको बादल र सिमसिम पानीले बाटोमा परख गर्न सकिने सुन्दरतालाई ढाकिदिएको थियो। करिब ६ घण्टाको यात्रापछि हामी पाण्डवचोक, भण्डारीबाडा, गोरुचौर, गोठेज्यूला, बोतामालिका र जिय हुँदै साँझ ७:२५ मा बुलबुले पुग्नै लाग्दा मध्य वैशाखमा हिउँ परिरहेको अनुभव गर्ने मौकाले सबै साथीहरूमा रोमाञ्चकता थप्ने नै भयो।

झिसमिसे अँध्यारोमा पर्दै गरेको हिउँ धेरै समय खेल्ने सबैको धोको भए पनि गन्तव्य रारा भएकोले हामीले यात्रालाई नै प्राथमिकतामा राख्यौं।

बुलबुलेमा नेपाली सेनाको चेकपोष्टबाट अगाडि बढेपछि हिउँ खेलेर भिजेको र थाकेको आँतले न्यानो र आरामको खाँचो जताउँदै थियो।

करिब १ घण्टा ३० मिनेट माथिल्लो पहाडी भेगमा गाडीको यात्रापछि हामी मुगुको ताल्चा विमानस्थल पुग्नै लागेको स्वागतद्वारले जानकारी गराइरहेको थियो। ताल्चामा साथीको माध्यमबाट पूर्ण खत्री दाइ-भाउजूको होटलमा खाना र बासको लागि पहिल्यै जानकारी गरिएकोले पुग्ने बित्तिकै गाँस र बासको प्रबन्ध हुनेमा हामी विश्वस्त थियौं।

गाडीबाट उत्रिएर दर्के पानीसँगै ताल्चा विमानस्थलको धावनमार्गको बीचैबीच करिब दश मिनेटको दौडाइपछि हामी बस्ने होटलसम्म पुग्यौं। बुलबुलेमा हिउँले भिजेको शरीरमा दश मिनेटको दर्के पानीले गोद्यो। विना तयारी सामान्य कपडामा गरिएको यात्राले त्यहाँको चिसोमा शरीर माथिल्लै स्केलमा कामिरहेको थियो।

होटलमा सुधारिएको फलामको चुलो र बल्दै गरेको आगो देख्ने बित्तिकै हामी मौरी घारमा झुम्मिएझैं गोलबद्ध हुन पुग्यौं। खाना खाएर भोलिपल्ट बिहानै राराको सुन्दरता परख गर्ने कल्पना गर्दै विस्तरामा पल्टिएको शरीर दुई पटकको भूकम्पको झड्का महसुस गरे पनि उठ्न नमान्ने थकान ग्रसित थियो।

भोलिपल्ट उठ्ने बित्तिकै ताल्चा विमानस्थलको अवलोकन पछि ८:३० मा राराको चेक प्वोइन्ट पुगियो। त्यहाँ खानबस्नको राम्रो व्यवस्था रहेछ। राराबाट फर्किंदा मार्सी चामलको खाना ज्यूनार गर्ने प्रबन्ध गरी खाजा खाएर हाम्रो समूह रारातर्फ उकालो लाग्यो।

केही समय उकालो हिंडेपछि भेटिएको विशाल फाँट र त्यसको परिपरि रहेका धुपीका लामबद्ध कोणधारी रुखहरूले हामीलाई जोडदार स्वागत गरेको प्रतीत भइरहेको थियो। विशाल फाँटको छेउका रुख, चरिरहेका भेडाका बथान, फाँटमा फुलेका पहेंला र सेता फूलहरूले जो–कोहीको मन नलोभ्याउने प्रश्नै थिएन।

फाँटको पल्लो छेउमा रहेको सूचकले हामी अब राराको नजिकै पुगेको संकेत गरिरहेको थियो। त्यहाँबाट दश मिनेट ढुङ्गाबाट बनाइएको सिंढीको बाटो तल झर्दै गर्दा सल्लाका बाक्ला बोटहरू घरमा लगाइएका वालपेपरमा देखिने भित्तेचित्रभन्दा कत्ति पनि कम थिएनन्।

जंगल पार गर्नासाथ परैबाट देखिएको गगन छुने नीलो जलको सतहले स्वर्गानुभूति भयो।

तालको सामीप्यमा जाँदै गर्दा सबैको मुखबाट वाह् ! शब्द मात्र निस्किए। राराको रसास्वादन गर्न मोबाइलका क्यामेराभन्दा आँखाहरू नै लालायित थिए।

सुन्दरताको परखमा पाँच दश मिनेट अवाक् भएका हामी त्यहाँको पानी शिरमा सिञ्चित गरेर केही फोटोहरू संग्रहित गरी डुङ्गा सयर गर्न थाल्यौं।

एक घण्टा तीस मिनेटको डुङ्गा सयरको शुल्क तिरेर हामी पाँच जनाको समूह राराको सौन्दर्य परख गर्नतर्फ कुना कुना चहार्न थाल्यौं। डुङ्गा सयर गर्ने, तालको छेउमा सयरको तयारी गर्ने र अन्य उपस्थित पर्यटकहरू सबैका मोबाइल, क्यामेरा धीत मरुञ्जेल फोटो, भिडियो खिच्न र नाचेको भिडियो (टिकटक) बनाउन व्यग्र र व्यस्त देखिन्थ्यो। हामीलाई पनि त्यस कर्मबाट छुट थिएन। किनकि त्यो जलविहारलाई जीवन्त बनाई मानसपटलमा स्वर्गानुभूति दिलाउनु जो थियो।

सुन्दरताको लागि रारा र वरिपरिको प्रकृतिप्रति कृतज्ञ हुँदै करिब तीन घण्टाको राराको सौन्दर्यमा डुबुल्की मारेर हामी फर्कने तरखरमा लाग्यौं। आँखाहरू अझै त्यही सौन्दर्यपानको लागि लालायित थिए।

हामी उकालो लाग्दा ओरालो बाटोमा साह्रै अप्ठ्यारो गरी हिंड्दै गर्नुभएका पाँच जना मुम्बई निवासी झण्डै ६० वर्ष पार गरेका महिला पर्यटकहरूको राराको सैन्दर्य परख गर्ने साहसलाई कदर गर्‍यौं। फेरि रारालाई भेट्ने र मुर्मा पिक (डाँडा) बाट रारा नियाल्ने धोको थाती नै राखियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?