+
+

प्रधानमन्त्रीको भारत भ्रमण : पञ्चेश्वर र एयर रुटमा ब्रेक थ्रुको आशा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० जेठ १३ गते २१:५९

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही १७ जेठमा भारत भ्रमणमा जाँदैछन् । तेस्रो कार्यकालमा पहिलो विदेश भ्रमण भारतबाटै गर्न लागेका प्रधानमन्त्री प्रचण्डले यसपटक आफ्नो भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा ब्रेक थ्रु हुुुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार कतिपय सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणबारे प्रश्न सोधेका थिए । सांसदहरुले राखेको जिज्ञासा मेटाउने क्रममा उनले आफ्नो भ्रमणका क्रममा उठ्ने र उठाइने केही विषयबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा शनिबार नै नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ गरेका छन् । प्रधानमन्त्रीले आगामी १७ देखि २० जेठसम्म भारतको भ्रमण गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा यसपटक नयाँ समझदारी हुने बताए । ‘पञ्चेश्वरका बारेमा छलफल चलिरहेको छ । सम्भवतः धेरै वर्षपछि पञ्चेश्वर परियोजना अगाडि बढाउनेबारेमा एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भारतसँग नयाँ एयर रुटको विषयमा पनि छलफल हुने बताए । भारतले एयर रुट नदिँदा पोखरा विमानस्थल र भैरहवा विमानस्थलमा भारतको आकाश हुँदै उडान र अवतरण हुन सकेको छैन । सांसद योगेश भट्टराईले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्ढले भने, ‘नयाँ एउटा एयर रुट प्राप्त हुने सम्भावना छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार २०७५ सालमा भारतबाट नेपालमा चार वटा हवाई रुट थप्ने सहमति भएको थियो । तर, कार्यानवयनमा आउन सकेको थिएन । २०७५ साल असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

त्यसपछि भएको मन्त्रिस्तरीय वार्तामा भारत आफ्नो वचनबाट पछि हटेको थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा व्यापार तथा पारवहन (ट्रेड एण्ड ट्रान्जिट) बारे पनि नयाँ सहमति हुने बताएका छन् । ‘ट्रेड एण्ड ट्रान्जिटबारे पनि सहमति हुन्छ’, प्रधानमन्त्री प्रचण्डल भनेका छन्, ‘त्यो २०१९ देखि रोकिएको काम यो पटक अगाडि बढ्छ, भन्ने विश्वास छ ।’

नेपाल भारत सीमा समस्या र नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनबारे पनि शनिबार सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले यी विषय उपयुक्त हिसाबले छलफलमा जाने बताएका छन् ।

नेपाल र भारतको सहमतिमा बनेको ८ सदस्यीय समूहले इपिजीको प्रतिवेदन तयार भएको ५ वर्ष पुगिसकेको छ । तर उक्त प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले र त्यसपछि नेपालका प्रधानमन्त्रीले बुझ्ने समझदारी थियो । तर भारतीय प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझ्न हालसम्म समय दिएका छैनन् । सोही कारण हालसम्म प्रतिवेदन सार्वजनिकसमेत भएको छैन ।

के के छ भारत भ्रमणका कार्यक्रम ?

चार दिने भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दोस्रो दिन १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । सोही दिन मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?