+
+

‘होटल नै घरधनीलाई जिम्मा लगाएर हिंड्नुपर्ने स्थिति आयो’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १३:४९

१४ जेठ, बुटवल । व्यवसायमा टिक्न गाह्रो भएको भन्दै रुपन्देहीका होटल व्यवसायीले घरभाडा घटाउन घरधनीसँग माग गरेका छन् ।

विगतको कोभिड–१९ महामारी र हालको आर्थिक मन्दीले व्यवसाय खस्केको भन्दै उनीहरुले घरभाडा पनि चर्को हुँदा विस्थापित हुने अवस्था आएको बताएका छन् । २० देखि ४० प्रतिशत घरभाडा घटाउनुपर्ने व्यवसायीको माग छ ।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलबाट प्रदेशको स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन नहुनु जस्ता कारणले व्यवसाय ठप्पप्राय: रहेको बताए । व्यवसायीलाई पलायन हुनबाट जोगाउन घरभाडा घटाउनुपर्ने उनको भनाइ छ ।

रुपन्देहीका १२ सय होटलमध्ये ९० प्रतिशत भाडाका घरमा सञ्चालनमा रहेको अनुमान छ । ‘कैयौं व्यवसायी चर्को भाडा तिर्न नसकेर पलायन भए, लगानी डुबाएर घरधनीलाई होटल जिम्मा लगाएर रित्तै हिंडेका छन्’ अध्यक्ष भण्डारीले भने, ‘घरभाडा सम्बन्धी निश्चित ऐन–कानुन र मापदण्ड नहुँदा घरधनीहरुले मनोमानी गरेका छन् ।’

वैज्ञानिक भाडा दर लागू गर्न कानून बनाउनुपर्ने र कानून नबन्दासम्म स्थानीय सरकारले घरभाडा नियन्त्रण गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ । भाडादर नियन्त्रण नहुने हो भने व्यवसायीले वार्षिक २ अर्ब बढी क्षति व्यहोर्नुपर्ने उनको दाबी छ ।

रुपन्देहीमा तीनवटा वटा पाँचतारे, तीनवटा चारतारे सहित १ हजार २४७ वटा पर्यटकस्तरका होटलमा १८ हजार ७०५ कोठा र २८ हजार बेड रहेको संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताए । होटल सहित रुपन्देहीको पर्यटन क्षेत्रमा ३० खर्ब रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

संघका महासचिव अर्जुन थापाले भाडा न्यूनीकरणबाट व्यवसाय टिकाउनुपर्ने र रात्रिकालीन व्यवसाय सञ्चालनमा स्थानीय सरकार र प्रहरीको सहयोग आवश्यक रहेको बताए । व्यवसायीको अनुरोधमा बुटवलमा हालसम्म २० जनाभन्दा बढी घरधनीले २० देखि ४० प्रतिशतसम्म घरभाडा घटाएका र उनीहरुलाई संघले सम्मान गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?