+
+
शहीद स्मारक लिग :

८ पटकको च्याम्पियन मनाङको लक्ष्य रेलिगेसनबाट जोगिने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ १४ गते १४:२४

१४ जेठ, काठमाडौं । कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङ नेपाली घरेलु फुटबलमा सदाबहार टोली हो । घरेलु फुटबलमा सधैंजसो उपाधिको होडमा देखिने र चर्चित क्लब मनाङ मर्स्याङ्दी आफैंमा ब्राण्ड हो ।

मनाङको जर्सी लगाएर कम्तीमा एक पटक खेल्ने नेपाली फुटबल खेलाडी सपना हुन्छ । तर यो सिजनमा लिग सुरु हुनुअघि नै मनाङका खेलाडीले टिम छाडेका थिए ।

कप्तान रहेका अन्जन विष्टले नयाँ सिजन सुरुहुनुअघि २०७९ पुसमा लामो स्ट्याटस लेख्दै मनाङ छाडेको घोषणा गरे । त्यसपछि अन्जन नवप्रवेशी चर्च ब्वाइज युनाइटेड पुगे । अर्का मिडफिल्डर पुजन उपरकोटी मनाङ छाडेर मछिन्द्र एफसी पुगे ।

नयाँ सिजनका लागि मनाङले गण्डकी प्रदेशलाई आधार बनाउँदै आहा रार गोल्डकपका लागि मानबहादुर तामाङको कप्तानीमा युवा टिम बनायो । जसको प्रशिक्षकमा राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका किरण श्रेष्ठलाई नियुक्त गरियो ।

दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगर लगायत खेलाडीलाई अनुबन्ध गर्‍यो ।

‘नयाँ सिजनको लिगमा हामीले युवा खेलाडीमाथि विश्वास गरेका छौं । उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अनुबन्ध गरेका छौं’, क्लबले त्यतिबेला टिम घोषणा गर्दै भनेको थियो ।

क्लबले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने भने पनि लिगमा उसको प्रदर्शन फितलो देखिएको छ । स्टार र अनुभवी खेलाडीले भटाभट बाहिरिँदा जारी शहीद स्मारक लिगमा त्यसको असर देखिएको हो । ८ पटकको लिग च्याम्पियन २१ खेल खेल्दा मनाङ २५ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

लिगअघि नियुक्त भएका प्रशिक्षक किरण श्रेष्ठले क्लब छाडिसकेका छन् । युवा खेलाडीमा केन्द्रित रहँदै टिम बनाएको मनाङले मानबहादुर अष्ट्रेलिया गएपछि गोलकिपर दिप कार्कीलाई कप्तान बनाएर शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको छ ।

यस पटक मनाङले युवा खेलाडीलाई प्राथमिकता दिँदा ठूलो लक्ष्य राखेको थिएन । ‘क्लब व्यस्थापनसँग छलफल गरेर नै मैले जिम्मेवारी लिएको थिएँ,’ १३औं चरणको खेलपछि मनाङबाट बिदा भएका प्रशिक्षक श्रेष्ठले भने, ‘सुरुमा हाम्रो लक्ष्य शीर्ष चारको थियो त्यो नभए शीर्ष ६ को लक्ष्य थियो ।’

किरण श्रेष्ठ

क्लब व्यवस्थापनले ठूलो अपेक्षा नराखे पनि लिगमा मनाङले राम्रै सुरुवात गर्‍यो । सुरुवाती ७ खेलसम्म अपराजित रहेपछि क्लब र समर्थकको अपेक्षा बढ्न गयो ।

‘हामी ७ खेलसम्म अपराजित रहेपछि क्लबको भन्दा पनि समर्थकको अपेक्षा बढ्यो,’ श्रेष्ठले सम्झे, ‘हामी उपाधिकै लागि खेल्नुपर्छ भनेर सुझावहरु आउन थालेको थियो ।’

सुरुवाती ७ खेलमा ४ जित र ३ बराबरीबाट १५ अंक जोडेको मनाङको मनाङको प्रदर्शन भने त्यसपछि खस्कियो । ७ खेलमा अपराजित रहेको टोलीले त्यसपछि लगातार ६ खेलमा हार व्यहोर्‍यो । त्यसपछि त्रिभुवन आर्मीसँगको खेल १-० ले जितेको मनाङले फेरि लगातार  लगातार ७ बराबरी खेल्यो ।

लिगमा मनाङले २१ खेल खेल्दा जम्मा ५ खेल जितेको छ भने १० बराबरी खेलेको छ, ६ खेलमा हार व्यहोरेको छ ।

लगातार ६ हारपछि बाहिरिएका किरणको ठाउँमा मनाङले विष्णु गुरुङलाई प्रशिक्षक बनायो ।

विष्णु गुरुङ

विष्णु गुरुङ आएपछि पनि मनाङको प्रदर्शन आहा भन्न लायक भएन । गुरुङको प्रशिक्षणमा मनाङले आर्मीलाई १४औं चरणमा हरायो । तर त्यसपछि भने मनाङले ७ खेलमा बराबरी खेल्यो । गुरुङ आएपछिका ८ खेलमा सम्भावित २४ मध्ये मनाङले १० अंक मात्र जोड्यो ।

निवर्तमान प्रशिक्षक श्रेष्ठ मनाङको प्रदर्शन कमजोर भएको भने मान्दैनन् । ‘टिमले खासै नराम्रो खेलेको होइन । ठूलो क्लब हुँदा स्वभाविक रुपमा अपेक्षा हुन्छ । तर हाम्रो टिम नै योङ छ’, घरायसी कारणले जिम्मेवारी छाडेको बताउने उनले भने ।

विदेशी खेलाडीको प्रदर्शन खस्कियो

मनाङले यस सिजन विदेशी खेलाडीमा बार्सिलोनाको एकेडेमीका पूर्व खेलाडी सेनेगलका डिएवान्डोउ डिएग्ने, टोगोका कोफी टिमोथी कोउडो, नाइजेरियाका णलुवासिना अजिज र उज्वेकिस्तान साइदजमोल दाभ्लात्जोनोभलाई अनुबन्ध गरेको थियो । यस्तै दक्षिण एसियाली कोटामा यश मात्रेलाई भित्र्यायो ।

सुरुमा विदेशी खेलाडीहरु डियाग्ने कोफी र साइदजमोलले मनाङका लागि राम्रो खेलेका थिए । तर लगातार खेल्दा खेलाडी घाइते हुन थाले । त्यसपछि विदेशी खेलाडीहरुको प्रदर्शन पनि उस्तै रहेन । मनाङको पक्षमा नतिजा नआउनुमा विदेशी खेलाडीको प्रदर्शन निर्णायक भएको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

उनी थप्छन्, ‘सुरुको ७ खेलपछि विदेशी खेलाडीले राम्रो खेल्न सकेन । उनीहरुको एट्टिच्युड नै चेन्ज भयो । अन्य टिमका विदेशी खेलाडीले राम्रो खेलिरहे, गोल गरिरहे, तर मनाङमा त्यस्तो भएन ।’

यस पटक एन्फाले एक टिमले पाँच विदेशी खेलाडी राख्न पाउने तर त्यसमा एसियाली एक र दक्षिण एसियाली एक खेलाडी अनिवार्य गरेको थियो भने एक पटकका चार जना मात्रै मैदान उत्रिन पाउने प्रावधान थियो । विदेशीहरु पनि घाइते हुँदा टिमको प्रदर्शनमा असर पुगेको श्रेष्ठको बुझाइ छ ।

विदेशी खेलाडीमा अहिले पनि समस्या रहेको प्रशिक्षक विष्णु गुरुङ पनि स्वीकार्छन् ।

गुरुङले क्लबले राम्रो खेलिरहेको तर नतिजामा नदेखिएको दाबी पनि गरे । ‘हाम्रो टिममा राम्रो खेलाडी छन्, प्रदर्शन पनि राम्रो नै भइरहेको छ । म आएपछि १ जित र ७ बराबरी भयो । तर अवसर बनाउँदा पनि नतिजा निस्केको छैन,’ उनले थपे, ‘हामीले टेबलमा टपमा रहेका चर्च ब्वाइज, जावलाखेलहरुसँग पनि राम्रो खेल्यो ।’

टिममा स्क्वाड डेप्थ नभएर गोल हुन नसकेको र चोटको समस्या पनि रहेको उनले बताए ।

केही खेलमा मनाङले अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्नु परेको थियो । ‘त्यसका लागि डिफेन्समा हामीले वर्क आउट गरिरहेका छौं। हामीले पहिलो हाफमा ७० प्रतिशत चान्स क्रिएट गरेका हुन्छौँ तर स्कोर त्यो अनुसार भएको छैन ।’

अबको लक्ष्य रेलिगेसनबाट जोगिने मात्र

लिग सुरुहुनु अघि शीर्ष ४ मा पर्ने लक्ष्य राखेको मनाङको अब लक्ष्य फेरिएको छ । प्रशिक्षक गुरुङले क्लबको लक्ष्य अब ए डिभिजनमै टिक्ने मात्र रहेको बताए ।

‘अब ५ खेल बाँकी छ । त्यसमा मनाङको लक्ष्य रेलिगेसनबाट जोगिने हुनेछ,’ दुई वर्षका लागि प्रशिक्षक नियुक्त भएका विष्णुले भने, ‘अर्को सिजन हामी उपाधि जित्ने लक्ष्यसहित बलियो टिम बनाउँछौं ।’

यस सिजन मनाङको अहिलेसम्मको खेलको नतिजा :

मनाङ १-१ हिमालयन शेर्पा

संकटा ०-१ मनाङ

मनाङ ०-० मछिन्द्र

मनाङ ३-१ एनआरटी

मनाङ २-१ एपीएफ

मनाङ २-० फ्रेण्ड्स

थ्रीस्टार १-१ मनाङ

मनाङ ०-१ सातदोबाटो

मनाङ ०-३ जावलाखेल

मनाङ ०-१ आर्मी

खुमलटार २-१ मनाङ

मनाङ ०-१ पुलिस

चर्च ब्वाइज ३-० मनाङ

मनाङ १-० आर्मी

मनाङ ०-० सातदोबाटो

मनाङ २-२ पुलिस

मनाङ १-१ हिमालयन

जावलाखेल २-२ मनाङ

संकटा २-२ मनाङ

मनाङ २-२ एपीएफ

चर्च ब्वाइज ०-० मनाङ

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?