+
+
काभा वुमन्स च्यालेन्ज कप भलिबल :

जस्तो तयारी उस्तै नतिजा

नमिता दाहाल नमिता दाहाल
२०८० जेठ १४ गते २१:५०
प्रतियोगितामा तेस्रो भएको नेपाली टिम । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

१४ जेठ, काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो ।

तर, सेमिफाइनलमा एसियाकै बलियो टिम काजकस्तानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको लक्ष्य चकनाचुर बन्यो ।

उपाधि जित्न नसक्नुमा नेपालको धेरै पक्ष कमजोर रह्यो । विदेशी प्रशिक्षक ल्याएर साढे दुई महिना प्रशिक्षण गरे पनि नेपालको परीक्षण सिधै प्रतियोगितामा मात्र भयो ।

किनभने आफ्नो स्तर परीक्षणका लागि नेपाल टिमले कुनै प्रतिस्पर्धात्मक खेल खेल्न पाएन । भलिबल संघले आर्थिक अभावलाई कारण देखाएको थियो ।

प्रतियोगितामा सुरुवाती दुई खेल कीर्गिस्तान र बंगलादेशलाई हराउन कठिन भएन । तर, भारत र काजकस्तानसँग खेल्दा नेपालको अनुभव र एक्स्पोजरको अभाव प्रष्ट देखियो ।

नेपालका लागि यसरी हेर्दा अनुभवी खेलाडीको रुपमा सरस्वती चौधरी र कप्तान अरुणा शाही मात्रै रहे । लिबेरो सलिना श्रेष्ठले धेरै हदसम्म नेपालको डिफेन्समाआलोचनाविहीन प्रदर्शन गरिन् । यो प्रतियोगिताका दौरान नेपालको कुनै पक्ष राम्रो थियो भने त्यो डिफेन्स नै थियो ।

उचाइका कारण ब्लक कमजोर देखियो, प्रमुख स्पाइकर प्रतिभा माली चोटग्रस्ता हुँद कम अनुभवी अन्य स्पाइकर आवश्यक समयमा जम्न सकेनन् । सेटिङमा कप्तान अरुणा शाहीको प्रदर्शन औषत रह्यो ।

बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले नेपाली खेलाडीको उचाइ र एक्सपोजरको कमीले तेस्रो बनेको नतिजा सहर्ष स्वीकार गरे । ‘तीन महिना यो टिमसँग काम गरेर राम्रो नतिजा ल्याउनु मेरो लागि राम्रो अनुभव भयो,’ उनले आफ्नो कार्यकालको निष्कर्ष निकाले ।

नेपालको यसपल्टको तयारीमा डिफेन्स, रिसिभ र छरितोपनमा उधार भएको हो । तर, बलिया टिमसँग निर्णायक सेटहरुमा लगातारको कमजोरी अनावश्यक मनोवैज्ञानिक दबाव र खेल अुनभवको कमी नै हो ।

नेपालको यही टिमले चार महिनापछि चीनमा हुने १९औं एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।

कप्तान अरुणा शाहीका अनुसार यो प्रतियोगिता आसन्न एसियाली खेलकुदका लागि उत्कृष्ट एक्स्पोजर भएको छ । ‘यो प्रतियोगितामा सिकाइका लागि महत्वपूर्ण रह्यो । एसियन गेम्सको लागि अनुभव बटुल्ने खेल भयो । एसियन गेम्समा हामीले उच्च स्तरका खेलाडीहरुसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने सिकेका छौं,’ उनले थपिन्, ‘भारत र काजाकस्तान हामीभन्दा शारीरिक रुपमा अग्लो टिम हो ।’

नेपालको तयारी र क्षमता अनुसार नेपालले तेस्रो पदक जित्नु स्वभाविक रहेको प्रशिक्षक जान डी ब्रान्टले बताए । उनी भन्छन्, ‘हामीले तेस्रो पदक जित्नु स्वभाविक जस्तै हो किन भने, जुन तरिकाले हामीले भारत र काजकस्तानसँग खेल्यौं त्यो स्तरमा भन्ने हो भने उज्वेकिस्तान उनीहरुभन्दा एक स्तर कम छन् ।’

प्रशिक्षक ब्रान्ट नेपाल टिमको डिफेन्स सुधार भएकोमा आफ्नो कार्यकालको सफलता मान्छन् । ‘नेपाली टिम भविष्यको लागि राम्रो सुरुवात हो । यो १४ खेलाडीसँगै अब हामी एसियन गेम्सका लागि ४÷५ जना अग्ला तथा प्राविधिक रुपमा खेल्न सक्ने खेलाडीको खोजीमा हुनेछौं । तर, यो केही महिनाभित्र गर्नु सहज भने हुनेछैन,’ उनले थपे ।

नेपालले असारदेखि एसियन गेम्सको तयारी सुरु गर्नेछ । नेपाल टिम मिडल ब्लकका लागि अग्ला खेलाडीको खोजीमा रहनेछ ।

कप्तान अरुणा शाही भने नेपालको प्रदर्शनसँग खुसी छिन् । ‘सबै नयाँ बहिनीहरुसँग खुसी छु । उनीहरुसँग अन्तर्राष्ट्रिय खेलको अनुभव धेरै नभए पनि यसरी प्रतिस्पर्धात्मक खेल खेल्दा राम्रो प्रदर्शन गरे’ अरुणा भन्छिन् ।

नेपाली टिमका कोच र कप्तानको प्रतिक्रिया हेर्नुहोस् :

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?