+
+

व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १६:२७

१४ जेठ, काठमाडौं । सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत भएको बताएकी छिन् ।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएको बताइन् ।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै  मन्त्री शर्माले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने बताइन् ।

गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु भनेको हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् । सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यसवर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन् ।

मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यम कै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैं उज्यालो रहेको बताइन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए । उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा‍. चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताए ।

१५ औं स्थापना दिवसको अवसरमा सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र  रेडियो मध्यपश्चिम दाङका सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित पनि भएका छन् ।

तीनै जनालाई कार्यक्रमका मुख्य मन्त्री शर्माले जनही नगद १५ हजार रुपैयाँसहित सम्मान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?