News Summary
Generated by OK AI. Editorially reviewed.- फुडपार्कको आयोजनामा असोज २३ र २४ गते काठमाडौंमा भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।
- ४० वर्षभन्दा माथिका खेलाडी मात्र सहभागी हुने प्रतियोगितामा विजेताले १० लाख र उपविजेताले ३ लाख २५ हजार रुपैयाँ पाउनेछन् ।
- प्रतियोगिता ४०–४२, ४३–४५, ४६–५० र ५० वर्षभन्दा माथि गरी चार उमेर समूहमा सञ्चालन हुनेछ ।
९ असोज, काठमाडौं । फुडपार्कको आयोजनामा नेपाली भेट्रान फुटबल खेलाडीहरूबीचको भेट्रान फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी अक्टोबर ९ र १० अर्थात् असोज २३ र २४ गते हब स्पोर्ट्स सेन्टर र मेडन एरिनामा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ तथा उपविजेताले ३ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालगायत व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा ४० वर्षभन्दा माथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । खेलाडीको उमेरका आधारमा प्रतियोगितालाई ४०–४२, ४३–४५, ४६–५० र ५० वर्षभन्दा माथि गरी चार समूहमा विभाजन गरिएको छ ।
विभिन्न उमेर समूहमा प्रतियोगिता आयोजना गरी पूर्व तथा वर्तमान भेट्रान खेलाडीलाई सक्रिय खेलकुदमा जोड्ने आयोजकको उद्देश्य छ । उमेर बढ्दै गए पनि शारीरिक रूपमा सक्रिय, स्वस्थ र ऊर्जाशील जीवनशैलीका लागि प्रेरित गर्ने तथा खेलकुदमार्फत शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामार्फत भेट्रान खेलाडीलाई पुनः मैदानमा सक्रिय गराउनुका साथै नयाँ पुस्तालाई समेत खेलकुदप्रति प्रेरित गर्ने आयोजकको भनाइ छ ।
फुडपार्क भाटभटेनी सुपरमार्केटको माथिल्लो तल्लामा सञ्चालनमा रहेको मल्टिकुजिन फुड कोर्ट हो । विभिन्न परिकार तथा खानाका विकल्प उपलब्ध गराउँदै आएको फुडपार्कले खेलकुद प्रतियोगितामार्फत सामाजिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउने जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडी तथा टोलीले असोज १४ गते अर्थात् अक्टोबर २ सम्म आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया 4