+
+

रेशमको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १४:३०

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् ।

सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए । सरकार चलाउन केही गाह्रो भयो भनेर बलमिच्याँइ गरेर निर्णय गर्न नहुने भन्दै महामन्त्री थापाले भने, ‘अदालतको पूर्णपाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौं । हामीले बलमिच्याइँ गर्‍यौं । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौं ।’

‘हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौं । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ’ उनले भने ।

तर आफ्नै पार्टी कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको महामन्त्री थापाको टिप्पणी छ ।

सत्ता चाहिँदैन, सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गरेको र ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा जान्न भनेको स्मरण गर्दै उनले भने, ‘त्यो कांग्रेसको इमेज अहिले के भयो ? कांग्रेसका लागि सरकार सबै कुरा हो । सत्ताका लागि हामी सबैथोक गर्छौं भन्ने इमेज बन्यो, आज निराशाको मूल कारण यही हो ।’

गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्ने भन्दै उनले त्यसका लागि लड्ने बताए ।

साथै कांग्रेसले कहिल्यै चुनावअघि गठबन्धन नगर्ने बताए । ‘अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘जनता र पार्टीका सदस्यसँग माफी माग्दै कांग्रेसले घोषणा गर्छ, अब चुनाव हारे हारिन्छ, तर चुनावअघि कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?