+

आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

२०८० जेठ  १६ गते १२:२५ २०८० जेठ १६ गते १२:२५
आँखामुनिको कालो घेरा हटाउन आइ क्रिम कति उपयोगी ?

काठमाडौं । समग्र व्यक्तित्वमा अनुहारको सौन्दर्यले सबैभन्दा ठूलो भूमिका खेल्छ । यदि अनुहारमा डार्क सर्कल छ भने अनुहारको सुन्दरतामा नै यसले प्रभाव पार्छ । त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बनेको छ ।

यो गम्भीर समस्या त होइन, तर पनि यसले मानिसलाई थकित, निराश र अस्वस्थ द्खाउँछ । यसलाई हटाउन बजारमा विभिन्न प्रकारका आइ क्रिमहरू उपलब्ध छन् । बजारमा पाइने यस्ता आइ क्रिमले साँच्चै डार्क सर्कलको समस्याबाट छुटकारा दिन्छ त ?

डार्क सर्कल भनेको रोग होइन । अनुहारको आँखा बस्ने ठाउँमा भएको रगतको नसा, बोसो र विभिन्न तन्तुहरू मिलेर भित्रबाट आएको प्रतिबिम्ब नै डार्क सर्कल भएको छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

डार्क सर्कल आउने कारण

आँखामुनिको छाला एकदमै पातलो हुन्छ । यस्तो छालामा रगतका नसाहरू निलो देखिन्छ । केही कारणले रगतका नसाहरू फुले भने आँखामा डार्क सर्कल देखिने डा. पौडेल बताउँछन् ।

डा. विकास पौडेल

‘निद्रा पुगेन, थकान भयो वा बढी तनाव भयो भने त्यो बेला शरीरले स्ट्रेस हार्मोन रिलिज गर्छ । हर्मोनले रगतको नसा फुलाइदिन सक्छ । जसले गर्दा पनि डार्क सर्कल देखिन्छ,’ उनी भन्छन्, ‘साथै टेलिभिजन, ल्यापटप, मोबाइल धेरै हेर्ने वा चलाउने गर्दा पनि त्यसबाट निस्किएको विकिरणले आँखामा स्ट्रेस पर्न जान्छ र डार्क सर्कल देखिन्छ । आँखा धेरै मिच्ने बानीले पनि यो समस्या निम्तिन्छ ।’

कसैमा वंशाणुगत कारणले पनि आँखामुनिको छाला कालो हुन्छ । साथै कतिपय अवस्थामा भने घामको असरले गर्दा पनि आँखामुनि कालो देखिन्छ । घाममा भएका विकिरणले छालालाई कालो बनाइदिन्छ । यदि कसैको आँखा फुलेको वा सुन्निएको छ भने त्यसले आँखाको तल्लो भागमा छाया देखा पर्ने डा. पौडेल बताउँछन् ।

बुढेसकालमा आँखाको तल्लो भागको टिस्यु ड्यामेज हुँदै जाने भएकाले छाला पातलो र खुकुलो हुन्छ, जसले डार्क सर्कल बन्ने उनी बताउँछन् । ‘घामको विकिरणले टिस्यु ड्यामेज गराएर डार्क सर्कल देखा पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनि छाला सुख्खा हुने चाउरी पर्ने हुन्छ । त्यसको असर आँखामा पर्छ । जसले गर्दा डार्क सर्कल देखिन्छ,’ डा. पौडेल भन्छन् ।

आँखामा गाजल, मस्कारा र आइस्याडो लगायतका कस्मेटिकको प्रयोग गर्दा आँखाको वरिपरिको छालाका छिद्रहरू बन्द भएर तथा ती कस्मेटिकको एलर्जीका कारण पनि आँखामुनिको छाला कालो हुन सक्छ ।

बजारमा पाइने आइ क्रिमको प्रयागले डार्क सर्कल हट्छ ?

डार्क सर्कल हटाउन बजारमा विभिन्न प्रकारका आइ क्रिम उपलब्ध छ । यी क्रिमले शतप्रतिशत  डार्क सर्कल हटाउने भन्दा पनि कम चाहिं गर्न सक्ने डा. पौडेल बताउँछन् ।

‘डार्क सर्कल हटाउने दाबी गर्ने विभिन्न ब्युटी प्रडक्ट बजारमा उपलब्ध छन् । कसैलाई यस्ता क्रिमले फाइदा गर्लान् । तर यदि छाला संवेदनशील भएमा त्यस्ता ब्युटी प्रडक्ट हानिकारक साबित हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यसैले विशेषज्ञ डाक्टरको सल्लाह लिएर मात्र क्रिमको प्रयोग गर्नु उपयुक्त हुने पौडेल सुझाउँछन् ।

समाधान

डार्क सर्कल के कारणले बढेको हो त्यसलाई पत्ता लगाएर समाधान गरेमा यो समस्या आफैं कम भएर जान्छ । निद्रा, थकान वा तनावको कारणले डार्क सर्कल बसेको हो भने त्यहीअनुसार विचार पुर्‍याउनुपर्ने डा. पौडेल बताउँछन् ।

‘घाममा निस्किंदा सनस्क्रिन र सनग्लास लगाउनुपर्छ । आँखामुनिको छालालाई मोस्चराइज राख्नुपर्छ । आँखा मिच्ने बानी गर्नु हुँदैन । प्रशस्त पानी पिउनुपर्छ,’ उनी भन्छन् ।

डार्क सर्कलको मेडिकल उपचार पनि छ । आँखामुनि इन्जेक्सनमार्फत ‘टिस्यु फिलर’ गर्न सकिन्छ, जसले कालो दागलाई छोपिदिन्छ । डार्क सर्कल हटाउन विश्व बजारमा छाला कलरको ट्याटु बनाउने चलन पनि छ । तर नेपालमा यो ट्याटु त्यति प्रयोग नभएको डा. पौडेल बताउँछन् ।

‘लेजर सर्जरी गरेर पनि आँखामुनिको कालो दाग हटाउन सकिन्छ । साथै केमिकल पिलिङ गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ,’ उनी भन्छन् ।

आँखा आइ क्रिम
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय