
काठमाडौं । चीनको विश्व प्रतिष्ठित सांघाई फिल्म फेस्टिभलले सन् २०२३ को संस्करणका लागि प्रतिस्पर्धी फिल्मको लाइनअप घोषणा गरेको छ । चिनियाँ फिल्मको वर्चस्व देखिएको यो सूचीमा इरानी र जापानी फिल्म पनि उल्लेख्य समावेश छन् । फेस्टिभल आयोजकले अमेरिकाको एउटा फिल्म पनि लाइनअपमा समावेश गरेनन् ।
आगामी जुन ९ देखि १८ सम्म चल्ने फेस्टिभल चीनको विषम कोभिड संकटपछि विश्व फिल्म उद्योगसँग सिधै जोडिने घटनाको रुपमा पहिलोपटक भौतिक रुपमा आयोजना हुन लागेको हो । गत वर्ष सांघाईको एक महिना लामो लकडाउन र यात्रा प्रतिबन्धका कारण फेस्टिभल रद्द गरिएको थियो ।
यस वर्ष सांघाई आयोजकले बेइजिङको वर्तमान ‘व्यवसायका लागि खुला’ नीतिमार्फत विश्वलाई पुनः चीनतर्फ फर्काउने आशा राखेका छन् । तर वासिङ्टन र बेइजिङबीचको बिग्रिएको कूटनीतिक सम्बन्ध र चीनमा अमेरिकी फिल्मको न्यून कमाइले फेस्टिभललाई कुनै न कुनै कोणबाट प्रभावित तुल्याउन सक्ने हलिउड रिपोर्टरले जनाएको छ ।
सांघाई फिल्म फेस्टिभललाई चीनको सबैभन्दा स्थापित र कलात्मक रूपमा सम्मानित सिनेमा कार्यक्रमको रूपमा लिइन्छ । तर फेस्टिभलको जुन विश्वव्यापी प्रतिष्ठा छ त्यो अनुरुपको लाइनअप भएको उक्त म्यागजिनले उल्लेख गरेको छ । कार्यक्रम आयोजकको कलात्मक इच्छा र चिनियाँ राजनीतिको अधिनमा फेस्टिभल आयोजना हुन लागेको आरोप उक्त अमेरिकी म्यागजिनले लगाएको छ ।
सन् २०२३ को संस्करणका लागि आयोजकले १२८ मुलुकबाट आठ हजार ८०० वटा फिल्म प्राप्त गरेको जनाएका छन् । भूराजनीतिक तनावका कारण दक्षिण कोरियाली फिल्महरुको उपस्थिति पनि फेस्टिभल लाइनअपमा निकै कम देखिएको छ । चीनले कोरियाली फिल्मलाई खुलेरै प्रतिबन्ध नलगाए पनि उसको व्यवहारले त्यो पुष्टि गर्छ ।
फेस्टिभलको फिचर फिल्म प्रतिस्पर्धातर्फ १२ फिल्म प्रतिस्पर्धामा छन् ।
पछिल्लो समय चीन र अमेरिकाबीच तनाव चुलिएको छ । यसै महिना जापानको हिरोसिमामा आयोजित जी-सेभेन बैठकको कारण चीन अमेरिकालगायत उसका साझेदार मुलुकसँग चिढिएको छ । रुस-युक्रेन युद्धमा चीनको भूमिका र प्रशान्त महासागरमा चिनियाँ भूमिकालाई लिएर जी-सेभेन राष्ट्रले चीनलाई चेतावनी दिएका थिए ।
प्रतिक्रिया 4