+
+

प्रधानमन्त्रीको भारत भ्रमण : २ रेलमार्ग र अन्तरदेशीय रेलमार्गको सर्भे रिपोर्ट बुझ्दै नेपाल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ १७ गते १३:२३

१७ जेठ, काठमाडौं । बुधबारदेखि सुरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा रेल्वे पूर्वाधारका मुद्दाले पनि प्राथमिकता पाउने भएका छन् । भारतले आफ्नो अनुदान सहयोगमा निर्माण र स्तरोन्नति गरेका २ वटा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्दै छ भने रक्सौल–काठमाडौं अन्तरदेशीय रेलमार्ग निर्माणका लागि भएको फाइनल लोकेसन सर्भे प्रतिवेदन पनि नेपालले प्राप्त गर्दैछ ।

भारतले जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत नेपाललाई कुर्था–बिजलपुरा रेलमार्ग पनि हस्तान्तरण गर्ने तय भएको छ । यसअघि जयनगर–जनकपुर रेलमार्ग स्तरोन्नति गरेर हस्तान्तरण गरेको भारतले प्रधानमन्त्री प्रचण्डको बुधबारदेखि हुने भारत भ्रमणका अवसरमा यो रेलमार्ग हस्तान्तरण गर्न लागेको हो ।

धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म विस्तार भएको रेल्वे लाइनको सफल परीक्षण भइसकेको छ । १७ किलोमिटर ट्रयाकमा रेल गुडाएर परीक्षण गरिएको थियो ।

यो रेल्वे लाइनमा भारतले स्टेसनहरुमा पूर्वाधारहरु तयार गरिसकेको छ । हस्तान्तरणपछि कुर्थासम्म चलिरहेको रेल अब बिजलपुरासम्म आउन बाटो खुल्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।

सन् २०१० मा यो रेलमार्गको स्तरोन्नति र गेज विस्तारका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको थियो । सन् २०११ देखि भारतले निर्माण थालेको थियो । भारत सरकारले जयनगर–कुर्था खण्ड हस्तान्तरण गरेपछि ३५ किलोमिटर रेलमार्गमा २० चैत, २०७८ देखि नियमित रेल सेवा चलिरहेको छ ।

विराटनगरमा कार्गो रेल

भारतले प्रधामन्त्रीको भ्रमणकै अवसरमा भारतको बथनाहबाट नेपालको बथनाहदेखि विराटनगर आईसीपीसम्मको ८ किलोमिटर लम्बाइको रेलमार्ग पनि नेपाललाई हस्तान्तरण हुनेछ । यो रेलमार्ग विारटनगर भन्सारमा आउने बल्क रेल्वे कार्गोका लागि निर्माण गरिएको हो ।

भारतले करिब चार अर्ब भारुको लागतमा बनाएको यो रेलमार्ग निर्माण सुरु भएको १२ वर्षपछि हस्तान्तरण हुन लागेको हो । सन् २०११ मा भारतले निर्माण थालेपनि यो रेलमार्ग मुआब्जा र गुणस्तरको विवादमा अल्झिएको थियो । यो रेलमार्गमा कार्गो रेल चलाउन कार्गो ब्रोडगेज रेल यार्ड पनि बनाइएको छ ।

व्यवसायीहरुले यो रेलमार्ग सञ्चालन गर्न पटक–पटक सरकारसँग माग गर्दै आएका थिए । अब भारतले रेलमार्ग हस्तान्तरण गरेपछि यो रेलमार्गमा भारतबाट सामान बोकेर आएका रेल विराटनगर भन्सारसम्म नै आउन सक्छन् ।

भारत सरकारले बनथाहादेखि कटरहीसम्मको १८.६ किलोमिटर रेलमार्ग बनाउन जिम्मा लिएपनि आधाभन्दा बढी खण्डको काम भएको छैन । भारतीय पक्षले २०७६मा बथनाहादेखि विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्म कात्तिक रेल चलाएर परीक्षण गरेको थियो ।

अन्तरदेशीय रेलमार्गको प्रतिवेदन प्राप्त हुने

प्रधानमन्त्री प्रचण्डको भ्रमणमा भारत काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन पनि नेपाललाई हन्तान्तरण गर्ने भएको छ ।

भारत भ्रमणका समयममा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह हुने र भारत तयार भए उच्चस्तरमै समझदारी समेत हुनसक्ने अधिकारीहरु बताउँछन् ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो । भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो । १८ महिनाभित्र यो काम सकाउने लक्ष्य थियो ।

यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने र साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले भारतसँग विद्युतीय अन्तरदेशीय रेलमार्ग निर्माणका लागि थप समझदारी बनाउन सहयोग गर्ने अधिकारीहरु बताउँछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब प्रधानमन्त्रीको भारत भ्रमणमा रुट, लागत र इन्जिनियरिङसहितको अध्ययन प्रतिवेदनका आधारमा रेलमार्गको निर्माण अघि बढाउन प्रस्ताव गर्ने तयारी छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?