+
+
प्रधानमन्त्रीको भारत भ्रमण :

नेपाल–भारत कृषि सहकार्य सम्झौता पुनः नवीकरण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १९:५०
फाइल तस्वीर

१७ जेठ, काठमाडौं । नेपाल र भारत बीच कृषि क्षेत्र सहकार्य सम्झौता पुनः नवीकरण हुने भएको छ । बुधबारदेखि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सम्झौता हुने भएको हो ।

नेपाल र भारतबीच कृषि विकास सहकार्यको यस्तो सम्झौता कृषि उपज, बिउ बिजन, प्रविधि र कृषि जोखिम न्यूनीकरण उपायहरु आदान प्रदानमा केन्द्रित छ । उन्नत बिउ, घाँस र नश्ल सुधार विकास, कृषि उपजको विषादी परीक्षण र विषादी व्यवस्थापन सम्झौताको मुख्य प्राथमिकता भएको मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीच ३० वर्ष अघि भएको यस्तो सम्झौता सन् २०२१ मा कोभिड–१९ महामारीपछि बिच्छेद भएको थियो ।

सन् १९९१ मा भएको कृषि सहकार्य सम्झौता पुनः नवीकरणका लागि मन्त्रालयको टोली प्रधानमन्त्रीको भ्रमण दलमा नयाँ दिल्ली पुगेको छ । कृषि तथा पशुपन्छी सचिव डा. गोविन्द शर्माले नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

‘सम्झौता नवीकरण पछि दुई देश बीच सहसचिव स्तरमा जोइन्ट वर्किङ कमिटी बन्ने छ । सो समितिले दुई देश बीचको कृषि सहकार्य र परस्पर हितका लागि सहकार्य गर्नेछ’ मन्त्रालय स्रोतले भन्यो, ‘यस्तो सम्झौताले नेपाल–भारत बीचको कृषि क्षेत्रको दुरी घटाउने छ ।’

सम्झौताका मुख्य विशेषता

सम्झौताले बालीको उत्पादन वृद्धि, कृषि बजार, विरुवा र विरुवाजन्य उत्पादनको व्यापार, बाली संरक्षण र एकीकृत खेती प्राणाली, सिंचाइ विस्तार, प्राङ्गरिक मल उत्पादन, जैविक विषादी उत्पादन उपरान्त हुने क्षति व्यवस्थापनका मुद्दामा दुई देशबीच सहकार्य हुनेछ ।

यस्तै जलवायु र दिगो कृषि र कृषि अनुसन्धान, प्राविधिक सहकार्य र विषादी आयात निर्यात, कृषि उपजमा विषादी परीक्षण, नश्ल सुधार, पशुपन्छीको रोग निदानमा सहकार्य र कृषि उपजको ट्रेडमार्क समाधान प्राथमिकतामा छन् ।

सम्झौताअनुसार कृषिमा दुई देशबीच बन्ने जोइन्ट वर्किङ ग्रुपको बैठक दुई देशमा पालै पालै बस्नेछ । समझदारीको यस्तो खाका ११ वटा परिच्छेदमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?