+
+

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १०:३३

१८ जेठ, काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको छ । टोलीले बिहीबार आज देखि (जुन १-७) सम्म त्यहाँ प्रशिक्षण गर्नेछ । यस्तै नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भएपनि ओडीआई मान्यता भने हुने छैन ।

क्यानले दक्षिण अफ्रिकामा नेपालले अन्य खेलका लागि समेत प्रयास गर्ने जनाएको थियो । तर दुई खेल मात्र खेल्ने तालिका सार्वजनिक गरेको छ ।

दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ ।

विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मै पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका पनि छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् ।

दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?