+
+
ब्लग :

बालबालिकाको न्याय नखोसौं

शिक्षकले ४५ मिनेटमा आफूलाई विभिन्न रूपमा प्रस्तुत गर्नका लागि पूर्वतयारी नितान्त आवश्यक छ तर शिक्षकसँग तयारी गर्ने न जाँगर छ न समय नै । अन्ततः बालबालिका जबरजस्ती कक्षाकोठामा बस्न बाध्य छन् ।

दीपकराज जोशी दीपकराज जोशी
२०८० जेठ १८ गते १८:२०

शिक्षाकर्मी भएर बालबालिकाको भविष्य सुन्दर बनाउन लागेको दुई दशक हाराहारी भएछ । म आफैंलाई उनीहरूमाथि पूर्ण रूपमा न्याय गर्न नसकेको महसुस भइराखेको छ ।

हो, हामी शिक्षक-शिक्षिकाका पनि आफ्नै समस्या, गुनासा, अभाव, तनाव तथा चुनौती छन् र रहिरहने पनि देखिन्छ। हामी शिक्षा क्षेत्रमा रहरले वा बाध्यताले लागेका छौं ? वा जागिरका लागि लागेका छौं ? के साँच्चिकै जवाफदेही शिक्षाकर्मी भएर बालबालिकालाई न्याय दिनका लागि हामी तम्तयार भएका छौं त ? एकपटक हामी सबैले आफैंलाई प्रश्न सोध्ने कि ‘मैले बालबालिकालाई न्याय गरिरहेको छु त ?’

बालबालिकाका लागि शिक्षक सबैभन्दा ठूलो आस्था र विश्वासको धरोहर हो । बुवा–आमाभन्दा पनि बढी विश्वास शिक्षकको गर्दछन् पूर्वप्राथमिक तहका बालबालिका तर हामी उनीहरूको विश्वासको धरोहर बन्न सकेका छौं कि छैनौं एकपटक आफैंलाई नियाल्ने कि ? हाम्रो अक्षमताको कारणले बालबालिका माथि विभिन्न तरिकाले अन्याय गरिरहेका छौं ।

प्रत्येक विद्यालयका हामी शिक्षक-शिक्षिकाले एकपटक आत्मसमीक्षा मात्र गरिदिंदा धेरै हदसम्म परिवर्तनको थालनी भई आम बालबालिका साँच्चिकै २१औं शताब्दीका भाग्यमानी बन्ने थिए कि ? हामी प्रायःजसो शिक्षाकर्मीहरूबीच बालबालिकाको बारेमा छलफल हुँदा उनीहरूभित्र भएका सकारात्मक पक्षहरूबाट सुरुवात नगरी अवगुणहरूको बारेमा छलफलमा केन्द्रित भएर सुधार्न प्रयास गर्दछौं ।

हामी स्वयंले आफूलाई बालबालिकाको ठाउँमा राखेर कत्तिको हेरेका छौं ? हामी र बालबालिकाबीच तुलना गर्ने हो भने उनीहरू निर्दोष, पवित्र छन् मात्र उमेर अनुसार केही बदमासी गर्न मन गर्दछन्। केही झुट, केही बिगार र अलि-अलि ठगी गर्न खोज्छन् र त्यसो गर्दा उनीहरूलाई गल्ती गरेको बोध गराउने र सही मार्गमा हिंडाउने जिम्मेवारी त हामी शिक्षाकर्मी र अभिभावकको हो । तर शिक्षाकर्मीले जानी–जानी गरिरहेको बालबालिका माथिको अन्याय कसले र कहाँबाट सुधार्ने त ?

शिक्षक समाजको बौद्धिक र जाने-बुझेको वर्ग होइन र ? अन्जान र अज्ञानीलाई सिकाउन, सुधार्न सकिन्छ तर जो स्वयं सबैथोक आउँछ भन्ने भ्रममा बाँचिरहेको छ अथवा अल्छीपनबाट उम्किन चाहँदैन भने कसरी सकिन्छ सुधार्न ? यदि घरमा अभिभावकले आफूलाई समयसापेक्ष रूपान्तर गरी उपयुक्त वातावरणमा सही संस्कार दिन सके र प्रत्येक शिक्षाकर्मीले थोरै मात्र जमर्को गर्ने हो भने बालबालिका सही गन्तव्यमा खुसीका साथ अघि बढ्दथे। अनाहकमा कुनै पनि बालबालिकाले पीडा र सकसमा बाँच्नु पर्दैनथ्यो।

अभिभावकले गर्नुपर्ने बोध 

नासपाती रोपेर स्याउ फल्दैन। तसर्थ हरेक घरमा रहेका बुवाआमाले बालबालिकामा समय सापेक्षित ज्ञान र सही संस्कार दिनुपर्छ। अभिभावकले बालबालिकालाई आफ्नो नियन्त्रणमा नराखे, कु-संस्कारको रोपनी भएमा विद्यालयमा रहेका शिक्षाकर्मीबाट आश गर्नु भनेको अर्थहीन अपेक्षा हो  जसबाट स्वयं अभिभावक र बालबालिकालाई पीडा मात्र हुने गर्दछ।

अधिकांश अभिभावकको ‘छोराछोरीले भनेको मान्दैनन्, मुखमुखै लाग्ने गर्दछन्, रिसाउने, झर्किने, गलत संगतमा लाग्ने गर्दछन्, पढ्न मान्दैनन्’ भन्ने जस्ता गुनासाका पोकासहित विद्यालयमा सहयोगको आशा र अपेक्षा राख्ने गर्दछन् ।

विद्यालयका शिक्षाकर्मी, प्रधानाध्यापक जादुगर होइनन्। उनीहरू केवल प्रेरणाका स्रोत हुन्, व्यवस्थित कार्यतालिकामा काम गर्ने र सम्झाउने व्यक्तित्व हुन्। बालबालिकाहरू शिक्षकले सम्झाउँदा तथा हप्काउँदा केहीबेरको लागि सुने जस्तो, माने जस्तो गर्दछन् तर दीर्घकालीन रूपमा त्यसले पनि काम गर्दैन।अभिभावकले आफ्ना बालबालिका विद्यालयमा र साथी संगतले मात्र सही मार्गमा लाग्ने र सफलता प्राप्त गर्ने विश्वास छ ।

केही हदसम्म यसले काम गर्दछ तर आमरूपमा समाजमा उपलब्धि र सफलताको शिखर चुमेर असल मान्छे उसको घरपरिवारका कारणले बनेको पाइन्छ। कुनै पनि मान्छेको सफलताको जग उसको घर हो बाँकी सबै गन्तव्यमा पुग्ने माध्यम मात्र हुन्।

शिक्षक-शिक्षिकाहरूले गर्नुपर्ने बोध

शिक्षण एउटा यस्तो पेशा हो जसको सिकाइ–पढाइको अन्त्य कहिल्यै हुँदैन । हामीमा दुई दशक र अझै धेरै वर्षदेखि पढाएको घमण्ड छ। भित्रभित्रै आफू आउटडेटेड भइसकेको पत्तै हुँदैन।

आफूले हिजो गरे जस्तै आज पनि निरन्तर रूपमा त्यही पद्धति, प्रणाली, शैली अपनाएर कक्षाकोठामा प्रवेश गरिरहेका छौं । अनि विद्यार्थी माथि सम्पूर्ण दोष थुपारेर पानीमाथिको ओभानो बन्न खोजिरहेका छौं ।

प्रायःजसो शिक्षक किताब पढाउने गर्दछौं, पाठ्यक्रम हेरेकै छैनौं । कहिलेकाहीं त बोर्ड परीक्षामा पाठ्यक्रम र ग्रिड अनुसारको प्रश्नपत्र माथि नै शंका गर्छौं । यो त भएन, किताबमा नै नभएको प्रश्न सोधियो भन्ने शिक्षाकर्मी पनि भेटिन्छन् ।

विज्ञ समूहले लामो समय लगाएर बनाएको पाठ्यक्रम अनुसारको तयारी गरी पढाउन–सिकाउनको लागि एकाइ र पाठको पूर्व तयारी गरी शिक्षक कक्षाकोठामा प्रवेश गर्नुपर्ने हो । तर हामी ४५ मिनेट आफ्ना कुरा सुनाएर हिंड्छौं र अझै पनि हामीलाई लाग्छ कि मैले शिक्षण पेशालाई न्याय गरेको छु ।

शिक्षकले ४५ मिनेटमा आफूलाई विभिन्न रूपमा प्रस्तुत गर्नका लागि पूर्वतयारी नितान्त आवश्यक छ तर शिक्षकसँग तयारी गर्ने न जाँगर छ न समय नै । अन्ततः बालबालिका जबरजस्ती कक्षाकोठामा बस्न बाध्य छन् ।

एक शिक्षक प्रेरणाको स्रोत, मनोवैज्ञानिक र परामर्शदाता हो । मायाको खानी हो, मनको कुरा सुन्ने साथी हो । अप्ठेरोको सहयोगी हात हो, कक्षाकोठाको कमान्डर हो, समय सापेक्षित रूपमा कक्षाकोठाको वातावरण निर्माण गर्न सक्ने डाइनामिक व्यक्तित्व हो ।

सामुदायिक र संस्थागत विद्यालयको अवस्था

विद्यालयको ठूलो हिस्सा सामुदायिक विद्यालयले ओगटेको छ तर बहुसंख्यक विद्यालय राजनीतिक कार्यकर्ता उत्पादन गर्ने ठाउँ भइराखेका छन् भने साधन-स्रोतको अभाव छ । सामुदायिक विद्यालयको नेतृत्वलाई पर्याप्त साधनस्रोत तथा अधिकार प्रदान गर्न सकिएको छैन ।

फलतः  बालबालिका अन्यायको शिकार बनेका छन् । स्थानीय सरकारले चाहेमा सामुदायिक विद्यालयको रूपान्तरण गर्न त्यति गाह्रो छैन । शिक्षक र भौतिक संरचना संघीय सरकारले व्यवस्थापन गरिसकेपछि स्थानीय सरकारले विद्यालयमा अपुग साधनस्रोत र थितिको व्यवस्थापन गर्न सक्छ । यसले बालबालिकालाई उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गरी आफ्नो जीवनको गोरेटो तय गर्न सक्दछन् ।

संस्थागत, गुठीलगायत अन्य विद्यालयहरूले आफ्नै पाठ्यक्रम निर्माण गरेर अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउने गर्दछौं भनेको सुनिन्छ । कतिपयले अभ्यास पनि गरिरहेका छन् । तर यो आफैंमा नेपाल सरकारको शिक्षा नीति-नियमको उपहास हो ।

कतिपय अवस्थामा यो अभिभावकलाई गुमराहमा राखेर अचाक्ली शुल्क असुल्ने फण्डा मात्र बनेको छ । लामो समय लगाएर विज्ञ समूहले नेपाल र विश्व परिवेशलाई मध्यनजर गरी बनाएको पाठ्यक्रम भन्दा केही विद्यालयमा कार्यरत शिक्षाकर्मी र कसैको सहयोगमा बनाएको पाठ्यक्रमलाई कसरी मान्न सकिन्छ ?

अभिभावक–शिक्षाकर्मी तथा सरोकारवालाहरू सबैले आफूलाई कम्तीमा सामान्य कुराको जानकारी नराखिकन निर्णय गर्ने कार्य ग¥यौं भने त्यो सरासर बालबालिकामाथिको अन्याय हो।

हाम्रो प्रवृत्ति समस्यालाई पन्छाउने र विषयलाई विषयान्तर गर्नेछ । कम्तीमा शिक्षा क्षेत्रमा लागेकालाई यसो गर्ने छुट कदापि हुँदैन ।

बालबालिकालाई सही मार्गमा हिंडाएर उनीहरूको उज्ज्वल भविष्यको लागि शिक्षक, अभिभावक र विद्यालयको हातेमालो हुनु जरूरी छ । सामुदायिक र संस्थागत विद्यालयहरूले आ–आफ्नो कमी–कमजोरीहरू सुधारेर अगाडि बढ्नुपर्छ ।

(लेखक शिक्षाकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?