१८ जेठ, चितवन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल जस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर शसस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन् ।
बिहीबार ‘सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय’ कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उनले उक्त धारणा व्यक्त गरेका हुन् । ‘यो तालिम ठुलो योगदानको रुपमा अंकित हुनेछ।’ प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताको सेवा गर्न सीपसहित आफुलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’
गण्डकी प्रदेश सरकार समेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवम् प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए।
आफ्नै आवश्यकता आधारमा, सीपयुक्त गोताखोर उत्पादन गर्ने योजना अन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर सामुन्द्रिक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो।

नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउने जस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।
समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालका अनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षक समेत हुनेगर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन्। यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ।
समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो। डुबेका या बगाएका मानिसलाई नदीको वा पानीको भित्री सतहसम्म पुगेर कसरी बचाउने, कसरी प्रारम्भिक उपचार गर्ने जस्ता सन्दर्भ प्रस्तुतिमा थिए। उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’ समेत गरेका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4