+
+

गेटामा सुदूरपश्चिमको अडान : प्रतिष्ठान होइन, विश्वविद्यालय नै चाहिन्छ

जनक विष्ट जनक विष्ट
२०८० जेठ १८ गते २०:०६

१८ जेठ, धनगढी। १ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्रिपरिषदले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

प्रचण्डले भनेका थिए, ‘मेडिकल कलेज त बन्ने नै भयो । अब गेटालाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन क्याबिनेटले निर्णय गरेर सैद्धान्तिक रुपले अघि बढेको छ । अब व्यवहारिक रुपले पनि अघि बढ्छ ।’

५ जेठमा प्रतिनिधिसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका थिए । तर १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र १०० शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरे ।

‘प्रधानमन्त्रीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गछौँ भन्नुुभएको थियो तर अर्थमन्त्रीले प्रतिष्ठानका रुपमा अघि बढाउने भन्नुभयो,’ नाष्ट कलेज धनगढीका प्रबन्ध निर्देशक शिवहरि मुडभरी भन्छन्, ‘यो निकै दुःखद कुरा हो । कतै मेडिकल कलेज नै सञ्चालन नगर्ने नियत पो हो कि ?’

नागरिक समाजका अगुवा प्रमोद पाठकले पनि गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याउनुमा आशंका व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्रीले क्याबिनेटबाट विश्वविद्यालय बनाउने भनेर निर्णय गर्छन् । उनकै अर्थमन्त्रीले प्रतिष्ठान बनाउने भनेर बजेट घोषणा गर्छन्’, पाठकले अनलाइनखबरसँग भने, ‘बनाउने नै हुन् भने विश्वविद्यालय बनाए राम्रो हुन्छ ।’

बुधबार मात्र शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाव दिन गठित संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ भने बिहीबार विश्वविद्यालय निर्माणका लागि दबावमूलक कार्यक्रम गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघमा छलफल गरिएको छ ।

नेपाल उद्योग व्यवसाय महासंघ सुदूरपश्चिमको अगुवाइमा भएको छलफलमा गेटालाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन एकताबद्ध भएर सरकारलाई दबाव दिने सहमति भएको छ । महासंघका प्रदेश अध्यक्ष वीरबहादुर साउदले दोस्रो चरणको छलफलबाट संघर्षका कार्यक्रम घोषणा गरिने बताए ।

‘गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट पछि हटेर सरकारले प्रतिष्ठानका रुपमा अघि बढाउने घोषणा गरेर प्रदेशबासीको चाहनामाथि प्रहार गरेको छ’, साउदले भने, ‘यो विषयमा सबै एकताबद्ध भएर अघि बढ्ने कुरा भएको छ । अर्को चरणको छलफलबाट संघर्षका कार्यक्रम अघि साछौँ ।’

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले सरकारले विश्वविद्यालय सञ्चालन गर्ने भनेपछि प्रदेशबासी उत्साहित भएको बेला प्रतिष्ठान स्वीकार्य नहुने बताए ।

नेकपा एमाले कैलालीका अध्यक्ष दुर्गाप्रसाद जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबाट सरकार पछि हटेकाले सबैले खबरदारी गर्नुपर्ने बताए ।

‘हिजो प्रधानमन्त्री स्वयंले मन्त्रिपरिषद्बाट स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गर्नुभयो तर आज उहाँले नै प्रतिष्ठान बनाउने भनेर बजेट ल्याउनुभयो’, जोशीले भने, ‘हामी कस्तो देशको नागरिक हौँ, जहाँ प्रधानमन्त्रीले नै झुटो बोल्नुुहुन्छ ।’

६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित गेटामा निर्माण भएको संरचना साढे दुई वर्षदेखि अलपत्र छ ।

गेटा मेडिकल कलेज सञ्चालनका लागि २९ वटा संरचना तयार भएको छ भने ३ वटा निर्माणाधीन छ । तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ । यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?