+
+

बिग्रिन लागेको माहोल सम्हाल्दै नेपाल भारतबीच ७ सम्झौता

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० जेठ १८ गते २२:१८

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुधबार साँझ भनेका थिए, ‘भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर गर्दैछु ।’

यथार्थमा उनी त्यस बेलासम्म कुनै महत्वपूर्ण सम्झौताको टुंगो लगाउनेमा पुगिसकेका थिएनन् ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहका अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग चाणक्यपुरीमा भएको भेट प्रचण्डको प्रतिकुल हुन पुगेको थियो । त्यसैले आईटीसी मौर्यको कुराकानी सकेर बारखम्बा रोडमा आइपुग्दा उनी दिक्दार देखिन्थे ।

एक, प्रचण्ड यसपल्ट कुनै हालतमा पञ्चेश्वर परियोजना अगाडि बढाइछाड्नेमा थिए । अढाई दशकअघि महाकाली सन्धि गर्ने नेपाली नेतृत्वले जनतासँग गरेका आवधिक बाचाहरु अलपत्र परेको अनुभवबाट प्रचण्ड रणनीतिक फाइदा लिँदै आफ्नो हात माथि पार्न चाहन्थे । भारतले सुरुमा राम्रोसँग विषय प्रवेश नै गर्न चाहेको थिएन ।

दुई, एयर रुटको अवरोध पन्छाउँदा मात्रै पनि उनको भ्रमण सफल भएको मान्न सकिन्थ्यो ।अन्तर्राष्ट्रिय उडानका लागि सिमरामाथिको आकाशबाट प्रवेश गर्दा असाध्यै घुमाउरो पर्ने भएकाले नेपाली पक्ष भैरहवा वा नेपालगञ्जबाट रुटका लागि भारतीय स्वीकृति चाहन्थ्यो । भारत त्यसमा पनि टसमस हुन खोजेन ।

तेस्रो, ईपीजी प्रतिवेदन बुझ्नुपर्ने ‘राजनीतिक’ सुनिने एजेन्डा उठाएर प्रचण्ड यसपल्ट भारतलाई ‘इरिटेट’ गर्ने पक्षमा थिएनन् । भारतको राजनीतिक वर्ग र कर्मचारीतन्त्र दुवै यो विषय सुन्न पनि चाहँदैन भन्ने जानकारी उनी मात्रै नभई नेपालका सबैजसो शीर्षस्थ नेतालाई छ । त्यसैले यसको सट्टा कम्तिमा कर्णाली फुकोट परियोजनामा नेपाललाई सहज हुने गरी भारतीय लगानीकर्ताको प्रवेश गराउनेमा प्रधानमन्त्रीको जोडबल थियो ।

तर बुधबार साँझसम्म तेस्रो बुँदा पनि सहमति हुन नदेखेपछि प्रचण्ड बिच्किएका थिए । निकटस्थहरुलाई उनले बुधबार साँझ भनेका थिए, ‘बरु भ्रमण सद्भावना भ्रमणमा मात्रै सीमित बने पनि बनोस्, तर नचाहिँदो सम्झौता नगरौं । बेला ठीक छैन ।’

बिहीबार बिहानसम्ममा स्थितिमा बदलाव आयो । फुकोट कर्णाली परियोजनामा छिर्न भारतीय कम्पनी एनएचपिसी लगानी गर्न तयार भयो । यसले प्रचण्डलाई अघि बढ्न त्राण दियो । नेपाल भारतबीच उर्जाको क्षेत्रमा, अनि बाणिज्य र कनेक्टिभिटीका लागि भएका छलफल त्यसै अनुरुप सकारात्मक बन्न पुगे । बंगलादेशलाई भारतीय ग्रिड हुँदै ४० देखि ५० मेगावाटसम्म बिजुली बेच्न दिन भारत सकारात्मक छँदै थियो, यो पनि अघि बढ्ने भयो ।

उच्च स्रोतका अनुसार अजित डोभल र क्वात्राले अप्ठेरो पारेको माहोललाई मोदी स्वयंले खुकुल्याए । यसका लागि भूमिका खेले, प्रधानमन्त्रीका प्रिन्सिपल सेक्रेटरी प्रमोदकुमार मिश्रले ।

केही वर्षअघिसम्म मोदीको सचिवालयमा सर्वेसर्वा डोभलका ठाउँमा पिके मिश्र भनेर चिनिने प्रमोदकुमार मिश्रको उपस्थितिले काम गर्न थालिसकेको छ । बिहीबार हैदरावादको तस्वीरले पनि त्यही भन्छ । नेपाल भारत संयुक्त बैठक क्रममा डोभलभन्दा अगाडि मोदी नजिकै उनै मिश्र बसिरहेका देखिन्छन् ।

भेटघाटअघि मोदीसँग तस्वीर खिचाउँदा दुवै प्रधानमन्त्रीका हात बाँधिएका थिए, मुखचाहिँ चलिरहेका । मोदीसँगको संयुक्त बैठक, अनि एक्लाएक्लै बैठकको समग्र सार पनि यस्तै रह्यो । उनीहरुले धेरैवटा विषयमा धेरै लामा कुराहरु गरे । खास निचोडचाहिँ थोरै निकाले ।

यति हुँदाहुँदै पनि भारतीय प्रधानमन्त्रीले प्रचण्डसँग हैदरावाद हाउसमा खुलस्त कुरा गरेको छनक त्यसपछिको परियोजना उद्घाटन तथा पत्रकार भेट क्रममा प्रतिविम्बित हुन्थ्यो । मोदीले ९ वर्षअघिको काठमाडौं भ्रमण सम्झँदै भने, ‘त्यसबेला मैले हिट फर्मुला दिएको थिएँ । अहिले नेपाल भारत सम्बन्ध सुपरहिट भयो ।’

मोदीले दिएको हिट फर्मुलामा त्यसबेला हाइवेज, आइवेज र ट्रान्सवेज अर्थात एचआइटी थिए । यो बीचमा त्यसले पाएको उपलब्धि गणना गर्दै उनले अब त्यसैका आधारमा सुपरहिट सम्बन्ध बनाउने नयाँ फुँदा जोडे ।

शब्दहरुमा जे प्रकट होस्, सारमा भने नेपालले यो बीचको अवधिबाट के पायो, अनि जारी प्रचण्ड भ्रमण क्रममा त्यसको प्रकटीकरण कसरी भयो भनेर विवेचना गर्नैपर्ने हुन्छ । स्वयं प्रचण्डले मोदीपछि बोल्ने क्रममा सकारात्मक र कृतज्ञ भावमा अंग्रेजी वाक्यहरु बाचन गरेपनि त्यसमा स्वतस्फुर्तताको मात्रा कम देखिन्थ्यो ।

एकैछिनपछि उनको भ्रमण मण्डलका एक मुख्य सदस्यले अनलाइनखबरसँग त्यसको प्रकटीकरण गरिहाले । ‘आइसब्रेक मान्न सकिँदैन, तर भारतीय प्रधानमन्त्रीसँगको भेट समग्रमा सकारात्मक भएको हो’, प्रधानमन्त्री प्रचण्डका मूख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘चकाचौध नभएपनि उतारचढावमा रहेको सम्बन्ध स्थिरतातर्फ आउनु राम्रो हो । त्यसमा सफल भयौं ।’

दुवै प्रधानमन्त्रीको प्रस्तुति, अनि यसअघि नेपालका लागि भारतीय राजदूत तथा हाल भारतीय विदेश सचिव रहेका विनयमोहन क्वात्राको प्रेस मिटबाट बुझ्न सकिन्थ्यो, अब नेपाल भारत सम्बन्ध विगतमा झैं राजनीतिक एजेन्डाहरुमा होइन, उद्योग वाणिज्य, उर्जा र पर्यटन आदिमा विषयान्तर हुन चाहन्छ ।

विभिन्न तहमा भएका सात वटा सम्झौता, अनि बिहीबार दिउँसो दुई प्रधानमन्त्रीको मन्तव्यमा त्यो प्रष्ट प्रतिविम्बित हुन्थ्यो । जबकि यही बेलामा अवरुद्ध ईपीजी प्रतिवेदन, भारतीय सेनामा चलाइएको अग्निपथ परियोजनामा नेपाली जवानको प्रवेश, भारतीय संसदमा छापिएको अखण्ड भारतको मुरल नक्सा, कृषि उत्पादनहरुमा भारतले खडा गरेको बाधा, अनि बढ्दो व्यापार घाटाले नेपालतर्फ व्यक्त दिक्दारी यहाँ पनि प्रकट नै भएको छ ।

सीमा समस्या त सधैंको विषय भइहाल्यो । तर यो भ्रमणको सकारात्मक पाटो चाहिँ नेपाल भारत सीमा समस्याबारे प्रचण्डभन्दा पहिला मोदी आफैं बोलेका छन् ।

प्रचण्डले समकक्षी मोदीसँग भेट, अनि अरु कुराकानीमा यो विषय उठाएको जानकारी प्रेससँग राखे ।

भारतसँग विद्युत व्यापारको प्रारम्भिक सम्झौता, कर्णाली फुकोट आयोजनामा भारतीय कम्पनीको प्रवेश, भैरहवा विमानस्थलमा हाललाई इन्स्ट्रुमेन्टल ल्यान्डिंग सिस्टम चलाउने, न्यु बुटवल गोरखपुर प्रसारणलाइन शिलान्यास लगायत सात सम्झौतामा हस्ताक्षर भने यो भ्रमणलाई अर्थपूर्ण बनाउने सन्दर्भ बन्न गएका छन् । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङका अनसार उर्जा व्यापारको क्षेत्रका ब्रेक थ्रु भएको छ ।

घिसिङले भने, ‘भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने विषय महत्वपुर्ण छ । पहिले त हामीलाई उसले बिजुली नै किन्दैन कि भन्ने चिन्ता थियो ।’

आज बिहीबार प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति धनखड तथा अनौपचारिक रुपमा सुधिन्द्र भदोरिया लगायत केही भाजपा नेताहरुलाई भेटे । भ्रमण अझै दुई दिन बाँकी छ । उनी इन्दोर र उज्जैनका लागि भोलि बिहान प्रस्थान गर्नेछन् । यद्यपि प्रधानमन्त्रीका रुपमा प्रचण्डको चौथो भारत भ्रमणको मूख्य पाटो भने दिल्लीको हैदरावाद हाउसमै टुंगो लागिसकेको छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?