
२१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिससँग २–१ को हार बेहोरेपछि डिफेन्डिङ च्याम्पियन मछिन्द्रको उपाधी लक्ष्य अंकगणितीय हिसाबले कमजोर बनेको छ । उपाधि होड बलियो बनाउन मछिन्द्रले २४ औं चरणमा पुलिससँग परेको यो खेल जित्नै पर्ने थियो ।
तर च्यासल मैदानमा २५ औं मिनेटमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मछिन्द्रले अंक मात्र गुमाएन, शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक दुरी घटाउने अवसर पनि चुकायो । ओलावाले अफिजले गरेको गोलबाट मछिन्द्र खेलको ७५औं मिनेटसम्म अघि थियो । पहिलो हाफमा खेल बराबरी बनाउन पाएका मौका पुलिसका खेलाडीको तालमेल नमिल्दा खेर गएको थियो ।
तर त्यसपछि ६ मिनेट भित्र पुलिसका मोसेस ग्यावहा तुमले २ गोल गर्दै मछिन्द्रलाई उपाधि होडबाट पछि धकेले । यो नतिजापछि लिगमा २ खेल बाँकी छँदा शीर्ष स्थानको चर्च ब्वाइज ५ अंकले अछि छ । उसको ४४ अंक छ भने हार बेहोरेको मछिन्द्रको ३९ अंक मात्र ।
जारी लिगमा मछिन्द्रसँगको एउटा खेल जितेको र एउटा खेल बराबरी गरेको चर्च ब्वाइजलाई अब १ अंक नै उपाधिका लागि प्रयाप्त छ ।
तर हारपछि मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले उपाधि होड अंक गणितीय रुपले बाँकी नै रहेको बताए । ‘लिगमा २ वटा खेल बाँकी नै छ,’ खेलपछिको पत्रकार सम्मेलनमा केसीले भने, ‘अंकगणितीय हिसाबले फुटबलमा जतिबेला जे पनि हुन सक्छ ।’
मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पासँग खेल्न बाँकी रहेको मछिन्द्रले यी दुवै खेल जित्ने लक्ष्यसहित खेल्ने केसीले बताए ।
यो जितपछि पुलिसले जाउलाखेललाई पछि पर्दै लिगमा तेस्रो हुने संभावना कायम राखेको छ । २४ खेल सकिँदा पुलिसको जाउलाखेलकै समान ३७ अंक भएको छ ।
खेलपछिको रातोकार्ड
दोस्र हाफको इन्जुरी समयमा मछिन्द्रका ओलावाले अफिजले पेनाल्टी बक्सभित्र लगेको बल पुलिसका खेलाडीले ह्यान्ड गरेको भन्दै अपिल गरे । उनले मागेको पेनाल्टीप्रति रेफ्री प्रज्वल क्षेत्रीले इच्छा देखाएनन् ।
यहि कुरालाई खेल सकिएपछि मछिन्द्रका अफिसियल र बेञ्चका खेलाडीले रेफ्रीसँग विवाद गरे ।
बेञ्चमा फर्किने क्रममा ओलावाले अफिज रेफ्रीसँग आक्रमक शैलीमा प्रस्तुत भए पछि उनलाई पुजन उपरकोटीले थमथम्याएर मैदान बाहिर लगे । तर मछिन्द्रका अरु खेलाडीले रेफ्रीसँग विवाद कायमै राखे ।
निर्धारित समयको खेल सकिए पनि मैदानभित्रै रहेका रेफ्रीले आशिषलाई असभ्य भाषा सहितको चर्काचर्कीका कारण रातो कार्ड नै दिए ।
चोटका कारण मैदान बाहिर रहेका आन्द्रेस निया लगायतले आशिषलाई छेके तर उनी निकै आक्रोशित बनिरहेका थिए ।
मछिन्द्रका म्यानेजर अनिल श्रेष्ठ पनि रेफ्रीसँग असन्तुष्टि जाहेर गरिरहेका थिए ।
च्यासल मैदानको प्याराफिटबाट समर्थक यो रमिता हेरिररहेका थिए । मछिन्द्रले देखाएको यो व्यवहारको विरोध गर्ने फुटबल समर्थकसँग समेत विवाद गर्न खेलाडी अघि सरेका थिए ।
मछिन्द्रका प्रशिक्षक केसीले पनि पेनाल्टी नदिने रेफ्रीको निर्णयको आलोचना गरे । ‘आजको खेले रेफ्रीको निर्णयका कारण साह्रै नै घिनलाग्दो देखियो’, ‘रेफ्रीले निष्पक्ष खेलाउने हो भने आजको खेलमा शतप्रतिशत पेनाल्टी पाएका थियौं, तर पाएको कुरा दिँदैनन् ।’
पुलिसका प्रशिक्षक चेतकुमार घिमिरेले पनि बेला बखतमा रेफ्रीको निर्णय सन्तुलित र निष्पक्ष नहुने गरेको स्वीकारे । ‘हामीसँग दोहोर्याएर जाँच्ने प्रणाली छैन जसका कारण कतिपय अवस्थामा त्यस्तो भएको बल पनि हामीले मौका पाउँदैनौं । जसले गर्दा आज मछिन्द्रको बेञ्च आक्रमक भयो,’ घिमिरेले भने, ‘यो खेलमा हुन्छ, तर नेपालमा जाँच्ने प्रणाली नभएकाले यो सामान्य नै तरिकाले लिनुपर्छ ।’
गलत निर्णय गर्ने रेफ्रीमाथि अखिल नेपाल फुटबल संघ एन्फा एक्सनमा जानु पर्ने मछिन्द्रका प्रशिक्षक केसी बताउँछन्, ‘यस्तो कुरामा एन्फाले एक्सन लिनुपर्छ नत्र त रेफ्रीले जे गर्दा नि हुन्छ भन्ने भइहाल्यो नि ।’
विदेशी खेलाडीले बलियो देखिएको पुलिस
पहिलो चरणको खेल अर्थात १३ औं चरणसम्म नेपाल पुलिस क्लब रेलिगेसनको खतरामा थियो । आफ्नै टिममा रहेका खेलाडीको भर पर्ने हो भने रेलिगेसनमा पर्ने डर बढेपछि नेपाल पुलिस क्लबले चार जना विदेशी खेलाडी भित्र्यायो ।
विदेशी खेलाडीको आगमनले टिम बलियो भएको प्रशिक्षक चेतकुमार घिमिरेले बताए ।
‘विदेशी खेलाडी आएर टिम राम्रो भएको छ । नेपाली खेलाडीको पनि मनोबल उच्च बनेको छ । त्यसले गर्दा टिम राम्रो देखिएको छ’, उनले भने, ‘आजको खेलमा पनि हेर्ने हो भने दुवै खेल विदेशी खेलाडीले हाने ।’
उनी अहिले टिममा आएको परिवर्तन निकै सकरात्मक रहेको बताउँछन् । ‘पहिलो पटक ए डिभिजन लिग हेरेको हो । थोरै समयमा चार वटा विदेशी खेलाउन मेरो लागि चुनौती थियो । सुरुमा मैले युवा खेलाडीलाई मौका दिन खोजें । त्यसका कारण सुरुमा हामी कमजोर देखियौं’, प्रशिक्षक घिमिरेले भने ।
अनुभवी खेलाडी विदेशीयपछि अनुभवको कमीका कारण लिगको सुरुवातमा पुलिस कमजोर देखिएको उनले स्वीकारे । ‘हामीसँग अनुभवी खेलाडी थिएनन् । त्यसैले मैले पहिलाबाट नै विदेशी खेलाडीको अवधारणा व्यवस्थापनमा दिँदै आएको थिएँ । व्यवस्थापनबाट राम्रो सहयोग भयो । जसका कारण राम्रो भयो ।’
पुलिस भने अर्कोपटकको सिजनमा स्वदेशी खेलाडीलाई नै अनुभवी बनाएर खेलाउने तरखरमा छ । प्रशिक्षक घिमिरेले भने, ‘यो लिगपछि विदेशी खेलाडी सबै रिलिज हुन्छन् । मैले टिममा दोस्रो टिम पनि बनाएको छु अर्को पटकको लिगसम्ममा मोफसलको खेलबाट उनीहरुलाई अनुभवी बनाएर खेलाउने इच्छा छ ।’
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4