+
+

कांग्रेस : गहिरिंदो संकटको समाधान विशेष महाधिवेशन

देशैभरका कांग्रेसजनले यो पार्टीलाई जीवन्त राख्ने हो भने तत्कालै केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनबाट पार्टी ‘रिफर्म गरिंदैछ’ भन्ने सन्देश दिनुपर्छ । अन्यथा, कांग्रेसलाई ‘प्रजापरिषद्’ बन्नबाट कसैले रोक्न सक्ने छैन ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८० जेठ २२ गते १०:३७

सैद्धान्तिक रूपमा विचलित, विचारविहीन र पार्टी स्वयं आफ्नो आदर्श तथा मूल्य र मान्यताबाट टाढिंदै जाँदा नेपाली कांग्रेसमा ‘रिर्फम’का निम्ति ‘विशेष महाधिवेशन’को मुद्दा चर्कंदै गएको छ । २००७ सम्मको राणा शासनको समय र २०१७-२०४६ सम्मको पञ्चायती व्यवस्थामा मात्र सत्ताबाट टाढा रहेको कांग्रेसमा २०४६ सम्म गुटगत नै सही धेरथोर ‘वैचारिक बहस’ हुने गर्दथ्यो ।

तर, आज नेतृत्वमा सैद्धान्तिक विचलन छ भने, कार्यकर्ताले आफूलाई जनअपेक्षाको काममा भन्दा नेताको स्वार्थपूर्तिमा समर्पित गरेका छन् । आमनिर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि कांग्रेस पार्टीले आफ्नो आन्तरिक जीवनमा महत्वपूर्ण मानिने ‘केन्द्रीय समिति बैठक’ राखेर ‘परिस्थितिको समीक्षा’सम्म गर्न सकेको छैन ।

कांग्रेसभित्रको यतिबेलाको डरलाग्दो पाटो भनेको ‘वैचारिक बहस’ गर्न तयार युवापंक्तिको अन्य पार्टीमा प्रवेश र स्वार्थी भीडको कांगेस प्रवेश नै हो । यो सबै घटनाक्रमलाई नियालिरहेका कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा केन्द्रीय समिति बैठक आहृवान गर्न सक्ने वैधानिक हैसियतमा छैनन् भने वैधानिक हैसियत प्राप्त सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक ‘फेस’ गर्ने आँट देखाउन सकेका छैनन् ।

मूलतः कांग्रेसमा जसरी पनि सत्ता हासिल गर्ने र सत्ताका माध्यमबाट ‘धन-शक्ति’ आर्जन गरिछाड्ने समूह एकातिर र अर्काेतिर नीति, विधि र एजेण्डामा कांग्रेेस सहित मुलुकलाई उभ्याउन चाहने समूहबीच ‘रस्साकस्सी’ देखिन्छ । उक्त रस्साकस्सीमा कांग्रेस सभापति देउवाले आफूलाई यथास्थितिबादी धारमा उभ्याएका छन् भने सोही पार्टीका महामन्त्रीद्वय गगन-विश्व तथा केन्द्रीय सदस्य प्रदीप पौडेलहरूले ‘विद्रोहको झण्डा’ उचालेर कार्यकर्तामाझ आफूलाई लैजाने पूर्वाभ्यास गर्दैछन् ।

नीति गौण र नेताप्रधान रहँदै आएको कांग्रेस पार्टीको ‘रिर्फम’ सामान्य हिसाबले सम्भव देखिन्न । उक्त पार्टीको ‘रिर्फम’ भनेको यथास्थितिमै रमाउन तयार सभापति देउवालाई कांग्रेस पार्टीको ‘अर्ली महाधिवेशन’का माध्यमबाट विस्तापन गरी नयाँ नेतृत्व चयन र रिर्फम भएको कांग्रेसले जनअपेक्षा अनुसार आफूलाई रूपान्तरण गर्दै लैजानु नै हो ।

भ्रातृ संस्थाको महाधिवेशन, केही थान मन्त्रीमा भागबण्डा, पार्टीका एकाधथान विभागीय प्रमुखको चयन आदिले कांग्रेस जनताका बीचमा लोकप्रिय बन्न सम्भव नै छैन । किनकि, ‘नेविसंघ र तरुण दल’मा अधिवेशन भए पनि नभए पनि जनतालाई तात्विक कुनै असर पर्दैन । आज एमालेका सम्पूर्ण जनवर्गीय संगठनको अधिवेशन सम्पन्न भई संगठनहरू चुस्तदुरुस्त छन् । तर पनि, एमाले किन फस्टाउन सकेन ?

तसर्थ, जनताको चाहना भनेको कुनै पनि राजनीतिक दलका भर्भराउँदा युवा ‘बिचौलिया’ नबनुन् भन्ने नै हो । तर, आज पार्टीका भ्रातृ संस्थामा आवद्ध बहुसंख्यक युवा सरुवा-बढुवा र ठेक्कापट्टाको फाइल बोकेर सिंहदरबार धाउँदै ठिक्क छ । अनि यो अवस्थामा सत्तरी-असी वर्ष पार गरेको पार्टीले ‘लय’ समाउन कसरी सम्भव होला ?

कांग्रेसभित्र आजका मितिसम्म आफ्नो पोजिसनको रक्षार्थ बाहेक ‘विचार र सिद्धान्त’ बोक्नका निम्ति ‘गुट’ निर्माण गरिएन । हरेक महाधिवेशनलाई नेतृत्व चयनको भर्‍याङ मात्र बनाइयो । केन्द्रीय समिति र संसदीय दलमा देखा परेको अंकगणितका आधारमा एउटा समूहले अर्काे समूहको मानमर्दन गर्ने बाहेक रचनात्मक कामतिर बहुमत पक्षले आफूलाई कहिल्यै उभ्याउन चाहेन ।

कांग्रेसलाई ‘दरबार’बाट बाहिर निकालेर ‘जनताको आँगनमा’ पुर्‍याउने अठोटसहितको ‘विद्रोहको झण्डा’ उठाउन कांग्रेसका युवा नेता कति काबिल हुन्छन्, देशैभरका पार्टी पंक्तिले कत्तिको साथ दिन्छ त्यसैमा लोकतन्त्रको भविष्य समेत जोडिन पुग्दछ

हुँदाहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीको उपल्लो तहको नेता जोडिंदा समेत लोकतन्त्रमा सामान्य प्रक्रिया मानिने ‘छलफल र निलम्बन’को बाटो रोज्न समेत उक्त प्रकरणको ‘फन्दा’मा आफैं पनि परिएला भन्ने डरले कांग्रेस नेतृत्वले बैठक समेत छल्दै आयो । उनै देउवा समूहमा रहेकाहरू उल्टै पार्टीलाई सच्याउने भन्दा पनि देउवाइतर समूह माथि ‘जाइलाग्न’ उद्यत भए ।

यिनै परिदृश्यले देखाउँछ कांग्रेसको दिशा र दशा । आज देशमा सपना बाँड्ने र बाँडेको सपना कार्यान्वयन गर्न तयार गगन थापाहरूलाई ‘कर्नर’मा पारिंदैछ । कांग्रेसमा यतिबेला ‘परिवर्तनको झण्डा’ उठाउने भन्दा ‘यथास्थितिको आँगन’मै रमाउनेहरू ज्यादा हुँदा कांग्रेसले ‘लय’ समाउनै सकेन । यथास्थितिमै कांग्रेस रमाउँदै जाने हो भने अन्ततः उ पुग्ने भनेको ‘विघटन’मै हो ।

कांग्रेस पार्टीले आफ्नो इतिहासबाट प्राप्त विरासतलाई जोगाउने नै हो भने अब पार्टीभित्रको गुट भत्काएर पार्टी र मुलुकको हितका खातिर ‘देउवा-कोइराला’ गुटमा रहेका परिवर्तनकारी युवाहरूले आफूलाई गुट भन्दा माथि उठाएर जनतामा ‘आशा सञ्चार’ सम्प्रेषण गर्न जरूरी छ ।

जनतालाई कांग्रेस, एमाले वा अन्य कुनै दल ‘सच्चिउन् वा सक्किउन्’ त्यो विषयमा खासै सरोकार रहन्न । सरोकार त जनअपेक्षाका विषयहरू – मुलुक निर्माणका एजेण्डादेखि भ्रष्ट माथि कारबाहीसँगै उनीहरूको सम्पत्ति छानबिनसम्ममा संवैधानिक निकायलाई कत्तिको साथ दिन्छन् भन्ने कुराले राख्दछ ।

अर्काे कुरा गगन, विश्व र प्रदीपहरूले दलभित्रको अंकगणित हेरेर आफूलाई समर्पित गर्ने हो भने परिवर्तन सम्भव छैन । हिजो राणा, राजा, पञ्चायत आदि कालखण्डमा पनि परिवर्तनको झण्डा उठाउँदा मृत्युदण्ड समेत हुनसक्ने परिस्थितिबाट भागेर बसेको भए आज गणतन्त्र प्राप्ति सम्भव नै थिएन ।

अझ, गणतन्त्र प्राप्तिको आन्दोलनमा राजकाज मुद्दा खेप्न तयार ‘गगन थापा, गुरुराज घिमिरे’ जस्ता युवा नेताले आफूलाई पार्टीभित्रको अंकगणितको जोडघटाउमै रोक्ने हो भने कांग्रेस पार्टी कथित सम्भ्रान्तहरूको ‘कमाइखाने’ कम्पनीमा रूपान्तरण हुनेछ । यसको हेक्का देउवालाई हुन जरूरी छैन । हेक्का त गगन, विश्व, प्रदीप र गुरुहरूलाई हुन जरूरी छ ।

कथित व्यापारी र उद्योगी आफैं दलभित्र छिरेर मन्त्री समेत बन्दै नीति निर्माणमा निर्यायक बन्न थाले । लोकतन्त्र प्राप्तिमा सिन्को नभाँचेकाहरूको हातमा ‘पार्टी र सरकार संचालन’को साँचो पुग्यो । पार्टीको टिकट वितरणदेखि मन्त्रिमण्डलमा पठाउने व्यक्ति चयनसम्म पूरापूर खरिद-बिक्रीको माध्यमबाट हुन थाल्यो ।

यति मात्रै होइन, टिकट वितरण गर्ने संसदीय समिति समेत गठन नगरी टिकट कांग्रेस पार्टीको विधानले नचिन्ने ‘राणाको दरबार’बाट वितरण गरियो । भ्रष्टाचारको विषय उठ्नासाथ छानबिनको माग गर्नेहरू जनताको व्यापक समर्थनका बावजुद पार्टीभित्र भने एक्लिन थाले ।

यती, ओम्नी, वाइडबडीदेखि भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा हरेक भ्रष्टाचारको घटनामा पार्टीको कोही न कोही उपल्लो तहको नेताको संलग्नता देखिंदै गयो । भ्रातृ र शुभेच्छुक संगठन ‘बिचौलिया’मा रूपान्तरण हुँदै गए । उता चुनाव हार्नेहरूले समानुपातिक नामको ‘सजिलो बाटो’बाट सांसद र प्रभावशाली मन्त्रालय प्राप्त गर्दै गए ।

यसरी जनताप्रति उत्तरदायी नेता भूमिकाविहीन र भूमिका पाउने ‘कथित’ नेता जनताप्रति उत्तरदायी बन्नै नपर्ने रोगले कांग्रेस ग्रसित बन्दै गयो । यसरी हेर्दा कांग्रेस पार्टी आजका मितिमा बेथितिको मुख्यालय बन्न पुग्यो । विद्यमान अवस्थाको कांग्रेसबाट पार्टी र लोकतन्त्र जोगाउन सम्भव नै छैन । तसर्थ, नेतृत्व परिवर्तनका लागि चाहिएको हो- अर्ली महाधिवेशन ।

‘राजनीति र जीवन’को उत्तरार्द्धमा पुगिसकेका शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला आदिबाट ‘पार्टी र मुलुक’ परिवर्तनको अपेक्षा राख्नु भनेको उनीहरू माथिको पनि अन्याय हो । किनकि, त्यो गह्रुँगो भारी बोक्न अब उनीहरू ‘विचार र उमेर’ दुवैले सक्षम छैनन् ।

यतिबेला अपेक्षा त ‘देउवा र कोइराला’ समूहमा आजका मितिसम्म रहेका र गुटभन्दा माथि उठ्ने हिम्मत गर्ने युवा नेताहरू प्रति नै हो । हुँदाहुँदा हिजो बीपी कोइरालाकालीन समयमा वामपन्थी प्रति बीपीको खासै भरोसा थिएन । तर, आज देउवाले वामपन्थीकै ‘डिजाइन’मा सिंगै कांग्रेसलाई दौडाइदिएर कांग्रेसका कार्यकर्ताले आफ्नै पि्रय चुनाव चिह्न ‘रूख’मा मतदान समेत गर्न पाएनन् ।

सत्ता स्वार्थका निम्ति गठबन्धन गरियो । तर, गठबन्धनलाई राजनीतिक स्थिरता, सुशासन र समृद्धिका निम्ति भनेर राजनीतिक ‘कलेवर’ दिने कामसम्म भएन । यो अवस्थाको कांग्रेसलाई ‘दरबार’बाट बाहिर निकालेर ‘जनताको आँगनमा’ पुर्‍याउने अठोटसहितको ‘विद्रोहको झण्डा’ उठाउन कांग्रेसका युवा नेता कति काबिल हुन्छन्, देशैभरका पार्टी पंक्तिले कत्तिको साथ दिन्छ त्यसैमा लोकतन्त्रको भविष्य समेत जोडिन पुग्दछ ।

तसर्थ, देशैभरका कांग्रेसजनले कांग्रेसलाई जीवन्त राख्ने हो भने तत्कालै कांग्रेसको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन मार्फत कांग्रेस ‘रिफर्म ‘ गरिंदैछ भन्ने सन्देश संप्रेषणका निम्ति दबाब सिर्जना आजको मूल आवश्यकता हो । अन्यथा, कांग्रेसलाई ‘प्रजापरिषद्’ बन्नबाट कसैले रोक्न सक्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?