+
+

आकस्मिक अवसरमा सफल बालगोपाल

‘उहाँहरूले मलाई प्रस्ताव गरेपछि मलाई निर्णय गर्न नै तीन दिन लाग्यो’ उनी भन्छन्, ‘तर, खेलाडीको उत्साह र आफूले लामो समयदेखि चिनेका खेलाडीसँगको काम गर्ने चाहनाले मलाई चर्च ब्वाइजमा पुर्‍याएको हो ।’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० जेठ २३ गते १७:३१

२३ जेठ, काठमाडौं । १९ फागुनमा शहीद स्मारक ए डिभिजन लिग सुरु हुँदा सहभागी १४ टिमको प्राथमिकतामा नपरेका ‘हाई प्रोफाइल’ प्रशिक्षक थिए– बालगोपाल महर्जन ।

सबै उमेर समूह र राष्ट्रिय टिमकै जिम्मेवारी सम्हालिसकेका महर्जन ए डिभिजन लिगमा नदेखिनु सबैका लागि आश्चर्य थियो ।

तर, समयको खेलले उनैलाई लिग च्याम्पियन बनाउन लेखेको रहेछ । लिगमा सात चरणको खेल सकिएपछि महर्जन नवप्रवेशी टिम चर्च ब्वाइजको प्रमुख प्रशिक्षक बनेर भित्रिए ।

नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईं वर्क परमिटका कारण आफ्नो जिम्मेवारीलाई निरन्तरता दिन नसक्दा चर्च ब्वाइजले ए लाइसेन्सधारी महर्जनलाई प्रस्ताव गरेको थियो ।

मंगलबार थ्रीस्टारसँग गोलरहित बराबरी खेलेर चर्च ब्वाइज क्लबले ए डिभिजन लिगको उपाधि जित्दा बालगोपाल महर्जनका लागि पनि एउटा रमाइलो संयोग बन्यो । महर्जनले २०६१ सालमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गर्नुअघि थ्रीस्टारका लागि ए डिभिजन लिग उपाधि जितेका थिए ।

२०४६ सालमा ए डिभिजन क्लब ब्वाइज स्पोर्टस्बाट सुरु करिअरको १५ वर्षमा उनले ए डिभिजन लिग उपाधि जितेको त्यही पहिलो र एक मात्र हो ।

नेपालको घरेलु फुटबलको संरचनामा लगातार च्याम्पियन बन्दै शीर्ष डिभिजनमा पुगेर एक अभूतपूर्व यात्रा तय गरेको चर्च ब्वाइजले आफ्नो पहिलो सिजनको सुरुवातदेखि नै उपाधिमा दावेदारी पेश गरिरह्यो ।

महर्जनले जिम्मेवारी सम्हाल्नुअघि पनि चर्च ब्वाइजको प्रदर्शन कमजोर थिएन । ७ खेलबाट ३ जित र ४ बराबरीको नतिजा सहित उनीहरू तेस्रो स्थानमा थिए ।

महर्जनले टिम सम्हालेपछि पनि सुरुवातमा टिमको प्रदर्शन राम्रो रहेन । डबल राउण्ड रोविन प्रणालीमा संचालित लिगको पहिलो चरणको समाप्तिसम्म चर्च ब्वाइज चौथो स्थानमा थियो । १२औं चरणमा पाँचौं स्थानमा पुग्नुबाहेक यो टिमले लिग तालिकामा त्योभन्दा तलको दबाब झेल्नुपरेन ।

दोस्रो चरणको लिग सुरु हुँदा चर्च ब्वाइज च्याम्पियन शैलीमा फर्कियो । दोस्रो चरणमा अहिलेसम्म सम्पन्न १२ खेलमा ८ खेलमा प्रष्ट जित हासिल गरेको छ । दुईपल्टको लिग च्याम्पियन मछिन्द्रलाई पछि पारेर चर्च ब्वाइजले उपाधि उचालेको हो । १८औं चरणयता यो टिम नियमित रूपमा शीर्ष स्थानमा कायम छ ।

अञ्जन र अनन्तका लागि चर्च ब्वाइजको प्रस्ताव स्वीकार

राष्ट्रिय टिमका खेलाडीहरू अनन्त तामाङ र अञ्जन विष्ट चर्च ब्वाइजका प्रमुख खेलाडी हुन् । चर्च ब्वाइजले यी दुई सहित राष्ट्रिय टिमका दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्ट, कमल श्रेष्ठ लगायतलाई अनुबन्ध गरी ए डिभिजनको डेब्यू सिजन प्रभावशाली बनाउने तयारी गरेको थियो । लिग सुरु नहुँदै दिनेश र तेज अस्ट्रेलिया पलायन भएका थिए ।

‘खासमा अञ्जन र अनन्त मेरो छोरा समान हुन् । उनीहरूलाई मैले एन्फा एकेडेमीदेखि नै हेर्न थालेको १३ वर्ष भइसकेको छ । उनीहरूकै कारणले मैले चर्च ब्वाइज रोजेको हो’ प्रशिक्षक महर्जनले अनलाइनखबरसँगको कुराकानीमा भने ।

महर्जनले २०६३ र २०६६/६७ को लिगमा थ्रीस्टार र मनाङ–मस्र्याङ्दीको पनि प्रशिक्षण सम्हाल्ने अवसर पाएका थिए । यी क्लबहरूका लागि उनले खेलाडीका रूपमा ए डिभिजन लिग खेलेका थिए ।

बंगलादेशी शीर्ष डिभिजनको क्लब ब्रदर्श युनाइटेडको प्रशिक्षण अनुभव लिइसकेका महर्जनले घरेलु फुटबलको शीर्ष डिभिजनमा पूरा सिजन प्रशिक्षण भने अहिलेसम्म गरेका छैनन् । यसपल्ट पूरा सिजनको अवसर नपाए पनि महर्जन लिग उपाधि जित्न सफल रहे ।

‘उहाँहरूले मलाई प्रस्ताव गरेपछि मलाई निर्णय गर्न नै तीन दिन लाग्यो’ उनी भन्छन्, ‘तर, खेलाडीको उत्साह र आफूले लामो समयदेखि चिनेका खेलाडीसँगको काम गर्ने चाहनाले मलाई चर्च ब्वाइजमा पुर्‍याएको हो ।’

दुई वर्षअघि नेपालमा आयोजना भएको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा काठमाडौं किकर्सलाई उपाधि दिलाउन सफल प्रशिक्षक महर्जनसँग सफलताको खास सूत्र छैन । यद्यपि सबै तत्वहरूको समान भूमिकाले मात्र सामूहिक खेलमा सफलता हासिल गर्न सकिने उनले बुझेका छन् ।

‘रणनीतिक तयारी, प्राविधिक ज्ञान, व्यावहारिक क्षमता, अनुशासन, खेलाडी, व्यवस्थापन टिम सबै मिल्नुपर्छ’ महर्जनले थपे, ‘हामीले खेलाडीमा लगानी गरेका छौं भने उनीहरूसँग रिटर्न लिनका लागि प्रेरित गर्न सक्नुपर्छ । खेलाडीको सेवा–सुविधामा ध्यान दिनुपर्छ ।’

प्रशिक्षक महर्जन नेपालका क्लबहरूमा व्यावसायिकता हुन नसकेकोमा भने निराश छन् । व्यावसायिक लिग हुने देशहरूमा सुरुमा प्रशिक्षक नियुक्त हुन्छन् र उनैले टिम बनाउँछन् । नेपालमा भने क्लबले टिम तयार गरेपछि प्रशिक्षक खोज्न थाल्छन् । उनी त्यही परम्पराको विरोधी हुन् । त्यसैले पनि नेपालका अधिकांश क्लबले उनीसँगको सहकार्यका लागि प्राथमिकता दिंदैनन् । ‘म आफ्नो शैलीमा सम्झौता गर्दिनँ’ महर्जन प्रष्ट छन् ।

रूपकराज शर्माको प्रेरणा, रेफ्री बन्ने असफल प्रयास

‘स्वर्गीय रूपकराज शर्मा मेरो आदर्श हुनुहुन्छ । उहाँलाई नै हेरेर मैले फुटबल खेल्न थालेको हो । सन्यासपछि रेफ्री पनि भएँ’ सन् १९९३ मा बंगलादेशमा सम्पन्न छैटौं साफ गेम्सका स्वर्ण विजेता महर्जनले भने ।

सन् १९९२ मा पाकिस्तान एअरको विमान दुर्घटनामा निधन हुनुअघि राष्ट्रिय टिमका पूर्वकप्तान रूपकराज शर्माले नेपाली फुटबलमा छुट्टै छाप बनाएका थिए । खेलाडीपछि उनी रेफ्री बनेका थिए । रूपकराजकै १४ नम्बर जर्सी लगाउने मिडफिल्डर महर्जनले २०६२ सालमा रेफ्री कोर्ष समेत गरेका थिए । ‘मेरो ढाडको दुखाइ बल्झिएपछि रेफ्री छाडेर प्रशिक्षणतर्फ लागें’, उनी भन्छन् ।

महर्जनले २०६३ सालमा सी लाइसेन्स कोर्ष पूरा गरे । २०६६ सालमा मलेशियामा दुईवर्षे प्रोजेक्ट फ्युचर कोर्ष पूरा गरी बी लाइसेन्स लिए । उनी सन् २०१६ मा ए लाइसेन्स कोर्ष गर्ने नेपालको पहिलो ब्याचका सदस्य हुन् ।

प्रशिक्षकका रूपमा महर्जनलाई क्लबमा भन्दा पनि राष्ट्रिय टिमका लागि धेरै सम्झिने गरिन्छ । एन्फा एकेडेमीको उमेर समूहका खेलाडीलाई सुरुदेखि नै प्रशिक्षण गर्न पाएका उनले सो टिमलाई यू–१६, यू–१९, यू–२३ र राष्ट्रिय टिमसम्म प्रशिक्षण दिएका छन् ।

सन् २०१५ मा यू–१६ साफ च्याम्पियनसिप उपविजेता, एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो चरण पार गरी ऐतिहासिक रूपमा दोस्रो चरण पुग्दा साविक विजेता उज्वेकिस्तानसँग बराबरी, कुवेतमाथिको जितको नतिजाले महर्जनलाई प्रशिक्षकका रूपमा स्थापित गर्न भूमिका खेलेको थियो ।

त्यसको अर्को वर्ष नेपालमै भएको यू–१९ साफ च्याम्पियनसिपमा सोही टिमलाई च्याम्पियन बनाउन सफल हुँदा भारत फाइनलमा पराजित भएको थियो । उनले विकास गरेको उमेर समूहको टिम त्यसअघि कहिल्यै थिएन ।

जनवरी, २०१६ मा नेपालले बंगबन्धु गोल्डकप उपाधि जितेर २३ वर्षको उपाधि खडेरी तोडेको थियो । त्यतिबेला उनकै उत्पादनहरू अञ्जन विष्ट, अनन्त तामाङ, विमल घर्तीमगरहरू राष्ट्रिय टिममा पुगिसकेका थिए ।

सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा उनकै प्रशिक्षणमा नेपाल सेमिफाइनल पुगेको थियो । सन् २०१९ मा एएफसी यू–२३ क्वालिफायर, सोही वर्ष १३औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण र २०२१ मा नेपालले थ्री नेशन्स कपको उपाधि उचाल्दा महर्जन नै प्रमुख प्रशिक्षक थिए ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?