+
+

भाषिक तथ्यांकमाथि भाषाशास्त्रीले उठाए प्रश्न

केन्द्र सरकारले ठूलै साधन–स्रोत खर्च गरेर संकलन गरेको तथ्यांक यथार्थपरक नभएको भाषाशास्त्रीहरूको आरोप छ । उनीहरू स्थानीय तहसँग समन्वय गरेको भए यो अवस्था नआउने बताउँछन् ।

नुनुता राई नुनुता राई
२०८० जेठ २३ गते २०:५४

२३ जेठ, काठमाडौं । गएको शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालय नयाँ पहिचान भएका १३ वटा सहित १२६ मातृभाषीहरूको विवरण सार्वजनिक गरेको छ । तर, ती भाषाहरूको भाषिक वक्ता संख्या भने यथार्थपरक नभएको भनेर भाषाशास्त्रीले असन्तुष्टि जनाएका छन् ।

उनीहरूका भनाइमा, कतिपय सार्वजनिक विवरण अस्वाभाविक लाग्ने खालका छन् । सार्वजनिक भएकै तथ्यांकलाई हेर्ने हो भने नेपालमा अहिले १३ हजार ९०६ जना (०.५ प्रतिशत) संस्कृत भाषी छन् भनेर मान्नुपर्ने हुन्छ ।

भाषाशास्त्रीको भनाइमा दुई जना पनि वक्ता नभएको भाषा मर्छ (डेड ल्याङ्ग्वेज) । त्यसैले नेपालमा संस्कृत भाषा ‘डेड ल्याङ्ग्वेज’ हो । तर, अहिले सरकारको तथ्यांकमा संस्कृत भाषा बोल्ने यति धेरै संख्या उल्लेख हुनुले यो विवरण यथार्थपरक नभएको देखिने भाषाशास्त्री डा.तारामणि राई बताउँछन् ।

उनी भन्छन्, ‘यथार्थको नजिक छैन भन्ने त संस्कृत भाषाको वक्ता संख्याले पुष्टि गर्छ । संस्कृत भाषाको वक्ता भनेर १३ हजार ९०६ छ भन्ने आएको छ । जुन मरिसकेको भाषा हो ।’ उनको भनाइमा यसले भाषिक विवरणको यकिन तथ्यांक संकलन गर्ने काम कार्यालयले गर्न सक्दैन भन्ने देखाउँछ । यसको असर भाषिक नीतिनिर्माण र योजनामा पर्ने उनको बुझाइ छ ।

यो तथ्यांक ‘टप डाउन एप्रोच’ (माथिबाट तल) विधिबाट संकलन गरिएकोले वास्तविकतामा आधारित भएन । अब ‘बटम अप एप्रोच’ (तलदेखि माथि) विधिबाट विवरण संकलन गर्नुपर्ने राई बताउँछन् । उदाहरण दिंदै उनी भन्छन्, ‘२०६८ सालको जनगणनामा १ लाख ५९ हजार राई भाषाको भाषिक वक्ता संख्या उल्लेख थियो । तर, यो संख्या अझै पनि डेढ लाख देखिन्छ ।’

उनी भन्छन्, ‘राई भाषा नभएर जाति भएकोले यो जातिभित्र पनि विभिन्न भाषिक समुदाय छन् भन्नेमा वास्ता गरिएन । यसलाई ख्याल गरेर तथ्यांक संकलन गर्नुपर्ने थियो, त्यो भएन ।’

उनका भनाइमा, ‘नेपालको जुन खालको जाति, भाषिक संरचना छ त्यो चाहिं तथ्यांकले कहिल्यै बुझेन । एक जाति, एक भाषा संरचनाको बुझाइमा हिंड्दा यस्तो गलत तथ्यांक आएको हो । त्यसैले वास्तविक वक्ता को हो भन्ने कुरामा छुट्टै भाषिक सर्वेक्षण गर्नुपर्छ ।’

‘गणकहरूले स्थानीय पालिका तहसँग समन्वय नगरेको भन्ने छ । त्यस्तो नहुँदा यकिन तथ्य आएन । गणक र पालिकाबीच समन्वय हुनुपर्छ । अर्को पटक त्यसरी गर्नुपर्ने जरूरी देखियो ।’

राज्यले आफ्ना गणकलाई एक जाति विविध भाषा, विविध जाति एक भाषा, एक जाति फरक फरक भाषा भन्ने कुरा बुझाउन नसकेको यो तथ्यांकबाट स्पष्ट हुने उनी बताउँछन् । नेपाली भाषा धेरै वटा जातिले बोल्छन् । जस्तो कि ब्राह्मण, क्षेत्री, दलित लगायत विभिन्न जातिले यो भाषा बोल्छन् ।

उनका भनाइमा राई एक जाति हो तर यसभित्र वान्तावा, कुलुङ, पुमा लगायत २६ भाषिक समुदाय छन् । त्यसैगरी तराईको यादवले ठाउँ अनुसारको भाषा बोल्ने गरेका छन् । बज्जिका क्षेत्रको यादवले बज्जिका, भोजपुरी क्षेत्रको यादवले भोजपुरी, मैथिली क्षेत्रको यादवले मैथिली बोल्छन् । त्यसैले यो तीन खालको जाति भाषिक संरचना बुझाउन नसकिएको डा. राईको भनाइ छ ।

राज्यको ठूलो लगानी, स्रोत–साधन परिचालन गरेर निकालेको तथ्यांक तथ्यपरक नभएको भाषा तथा संस्कृति अध्येता उदयराज आले बताउँछन् । कुसुन्डा भाषा संरक्षण तथा थारू भाषामा शब्दकोश तयार पारेको आलेले यी दुवै भाषाका भाषिक वक्ताको संख्या तथ्यपरक नभएको बताए । उनका भनाइमा, ‘२०६८ सालमा कुसुण्डा भाषाका भाषिक वक्ता २८ भएको गलत संख्या उल्लेख गरेर पछि गल्ती स्वीकार गरिएको थियो । यस पटक पनि २३ जना वक्ता भएको संख्या सार्वजनिक गरियो ।’

भाषाहरूको खोज, अनुसन्धान, संरक्षण र विकासका लागि २३ भदौ २०७३ मा गठन भएको भाषा आयोगले ‘भाषा कक्षा (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका २०७५’ तयार गरी दाङको लमहीमा कुसुन्डा, गोरखाको सुलिकोटमा बराम र खोटाङको हलेसी तुवाचुङमा तिलुङ भाषाको कक्षा सञ्चालन गरेको थियो ।

भाषा आयोगले दाङको लमहीमा सञ्चालन गरेको कुसुन्डा भाषाको कक्षा सञ्चालनको सहजीकरण भाषा तथा संस्कृति अध्येता उदयराज आलेले गरेका थिए । उनले भने, ‘तथ्यांक संकलनमा स्थानीय निकायसँग समन्वय गरेको भए तथ्य नजिक आउँथ्यो, त्यो गरिएन । त्यसैले तथ्यपरक तथ्यांक ल्याउन सकिएन ।’

उनको भनाइमा अहिले करिब १६२ जनाको संख्यामा रहेका कुसुन्डा जातिको भाषिक वक्ता एक जना कमला सेन (खत्री) मात्रै छिन् । कुसुन्डा जातिकै अरू ४ जना सामान्य भाषा बुझ्ने तर पूर्ण रूपमा बोल्न नसक्ने छन् । यस बाहेक भाषिक अध्येता आले र भाषाशास्त्री भोजराज गौतम पनि यो भाषा बोल्न सक्छन् तर पनि उनीहरूलाई यस भाषाको वक्ता भन्न नमिल्ने आलेको तर्क छ ।

त्यस्तैगरी भाषा आयोगले सञ्चालन गरेको कक्षाबाट कुसुण्डा भाषा सामान्य रूपमा बोल्न सक्ने कुसुन्डा जातिका १६ बालबालिका र गैर कुसुन्डा जातिका ४ जना बालबालिका छन् । सरकारले उनीहरू सबैलाई भाषिक वक्ता मानेकै भए पनि २७ जना हुनुपर्ने उनको तर्क छ ।

यो तथ्यांकलाई आधार मानेर अध्ययन, अनुसन्धान, नीतिनिर्माण गर्नुपर्ने भएकोले विवरण तथ्यपरक नहुनु दुःखद् भएको आले बताउँछन् । ‘राज्यको यति ठूलो लगानी, स्रोतसाधन परिचालन गरेर ल्याइएको तथ्यांक नै तथ्यपरक नहुनु दुःखद् हो ।’

उनी अगाडि भन्छन्, ‘यसै विवरणका आधारमा अध्ययन, अनुसन्धान गर्नुपर्ने हामी जस्तालाई झन् असहज बनाएको छ । हामीलाई कुन स्रोतको आधारमा काम गर्ने भन्ने द्विविधामा पारेको छ ।’ थारू भाषाको शब्दकोश समेत लेखेका आले थारूको भाषिक वक्ता तथा जनसंख्या पनि यकिन नआएको बताउँछन् ।

गणक अथवा विवरण संकलकलाई व्यक्तिले दिएको विवरण टिप्दा यो तथ्याङ्क आएको भाषाशास्त्री तथा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ बताउँछन् । उनी भन्छन्, ‘गणकलाई घरको व्यक्तिले रिपोर्ट दिएको आधारमा टिपिएको विवरण भएकोले यस्तो भएको हो । यसमा क्रस चेक भएन ।’

केन्द्रले स्रोत परिचालन गर्दा मातृभाषीहरूको यकिन तथ्यांक नआएको उनको भनाइ छ । जनगणना विवरण संकलन गर्दा स्थानीय तहसँग समन्वय गरेको भए यो समस्या नआउने उनी बताउँछन् । भन्छन्, ‘गणकहरूले स्थानीय पालिका तहसँग समन्वय नगरेको भन्ने छ । त्यस्तो नहुँदा यकिन तथ्य आएन । गणक र पालिकाबीच समन्वय हुनुपर्छ । अर्को पटक त्यसरी गर्नुपर्ने जरूरी देखियो ।’

२०६८ को जनगणनाले नेपालमा विदेशी भाषाहरूसहित १२३ भाषा रहेको देखाएको थियो । ‘अदर ल्याङ्ग्वेज’ र ‘नन स्टेट’ भन्ने भाषालाई पनि भाषाको संख्यामा जोडिएको थियो । उल्लेख नभएको भाषा हुँदैन, त्यसैले भाषा १२१ हो भनेर भाषाशास्त्रीहरूले तर्क गर्दै आएका थिए ।

तर, यसपटक भने हजारभन्दा बढी वक्ता भएको विदेशी जापानिज, फ्रेन्च, चाइनिज लगायत भाषालाई ‘नन स्टेट’मा राखेको छ । यसरी १० वटा विभिन्न विदेशी भाषा मर्ज गरिएका छन् । मनाङमा बोलिने नार फू, गोरखामा बोलिने चुम (स्यार), नुब्री (लार्के), डोल्पामा बोलिने पोइके लगायत १३ वटा नयाँ मातृभाषा थप हुँदा ‘अदर्श’ र ‘नन स्टेट’ सहित १२६ मातृभाषा भएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?