+
+
चर्च ब्वाइजको अभूतपूर्व यात्रा :

बर्सेनि बढुवा, बर्सेनि च्याम्पियन

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० जेठ २३ गते २१:१३

२३ जेठ, काठमाडौं । टंकलाल (रुवेन) राई फुटबल खेलाडी थिए । तर ए डिभिजन लिगको संरचनामा आउन सकेका थिएनन् । लिग खेल्ने हुटहुटीमा २०६६ सालमा चर्च ब्वाइज क्लब स्थापना गरे । ‘ए डिभिजन लिग खेल्ने र फुटबल प्रतियोगिता आयोजना गर्ने उद्देश्यले चर्च ब्वाइजको जन्म भएको हो, रुबेन भन्छन्, ‘आफैं खेलाडी पनि भएकाले सबैलाई सहमत गराएर टिम बनाएँ ।’

२०६७ सालमा पहिलोपल्ट सी डिभिजन छनोट प्रतियोगिता खेल्दा क्लबका अध्यक्ष राई आफैं टिमको कप्तान बने । तर लिग फुटबलको यात्रा त्यति सजिलो पनि कहाँ थियो र !

चर्च ब्वाइजले सी डिभिजन लिगमा छनोट हुन झण्डै एक दशक संघर्ष गर्‍यो । छनोट प्रतियोगितामा लगातार असफल चर्च ब्वाइजले २०७६ मा उपाधि जितेयता भने अभूतपूर्व यात्रा गरेको छ ।

२०७७ मा पहिलो सहभागितामै सी डिभिजन लिग च्याम्पियन बन्यो । २०७८ मा बी डिभिजन च्याम्पियन, यो वर्ष ए डिभिजन च्याम्पियन । मंगलबार थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले एक खेल अगावै लिगको उपाधि पक्का गरेको छ ।

क्लबका अध्यक्ष रुबेन भन्छन्, ‘यो खुसी शब्दमा बयान गर्न सक्दिन किनकी १५ वर्षदेखिको तृष्णा मेटिएको छ ।’ उनका अनुसार क्लब स्थापना गर्दा ए डिभिजन लिग खेल्ने हुटहुटी त थियो, तर यति छिट्टै च्याम्पियन भइएला भन्ने लागेको थिएन ।

खेलाडीहरुको मिहेनत र क्लब व्यवस्थापनको साथमा चर्च ब्वाइज घरेलु फुटबलको लिग संरचनामा लगातार च्याम्पियन बनेर मनाङ मर्स्याङदीको दुर्लभ कीर्तिमान भेट्टाएको छ । २०४३ सालमा पहिलोपल्ट ए डिभिजन लिग जित्नुअघि मनाङले डी, सी र बी डिभिजन लिग लगातार जितेको थियो ।

अनन्त, अन्जन र बालगोपाल

चैत २०७८ मा बी डिभिजन लिग च्याम्पियन बन्दा चर्च ब्वाइजमा स्टार खेलाडीहरु कोही पनि थिएनन् ।

ए डिभिजन लिग हुने पक्का भएपछि क्लबले बी डिभिजन लिग जितेका आशिष चौधरी सहित १२ जनालाई टिममा राख्यो । राष्ट्रिय टिमका अन्जन विष्ट, अनन्त तामाङ, तेज तामाङ, दिनेश राजवंशी, एरिक विष्ट, कमल श्रेष्ठ लगायतका खेलाडीलाई अनुबन्ध ग¥यो । कप्तान समते रहेका अनन्त भन्छन्,

‘क्लबको अध्यक्षले मलाई टिम सेट सुनाउनु भएको थियो । त्यो बेला आफ्नो टिमसँग लिग जित्ने पोटेन्सियल देखेर नै म चर्च ब्वाइज ज्वाइन गरेको थिएँ ।’

तर लिग सुरु हुनुअगावै दिनेश र तेज अस्ट्रेलियातिर लागे । अन्जन पनि आई लिग खेल्न गएपछि टिम सुरुवातमै केहि कमजोर देखियो । त्यही बेला श्रम स्वीकृति नपाएपछि नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिए ।

अन्जन छैटौं चरणदेखि टिममा फर्किए । सातौं चरणको खेल बिना प्रशिक्षक खेलेको क्लबले आठौं चरण खेल्नुअघि नेपालकै सफल प्रशिक्षक बालगोपाल महर्जनलाई अनुबन्ध ग¥यो । तर चौथो चरणबाट सुरु भएको बराबरी नवौं चरणसम्म निरन्तर रह्योे ।

दशौं चरणमा सातदोबाटोलाई २–१ ले हराए पनि ११औं चरणमा जाउलाखेल युथ र १२औं चरणमा त्रिभुवन आर्मीसँग समान १–० को हार व्यहारेको थियो । फवार्ड अञ्जनका अनुसार १७ वैशाखमा भएको पहिलो राउण्डको अन्तिम अर्थात १३औं चरणको मनाङ मस्र्याङ्दीसँगको खेल टर्निङ प्वाइन्ट बन्यो ।

मनाङलाई ३–० ले हराएपछि अब लिग जित्नुपर्छ, सकिन्छ भन्ने आमविश्वास आएको अञ्जनले सुनाए । लिग उपाधि पक्का भएपछि उनले भने, ‘त्यो खेलपछि सबैको मोरल हाइ भयो । र, त्यही मोमेन्टमलाई अगाडि लिएर गयौं ।’

लिग च्याम्पियन भएपछि प्रशिक्षक बालगोपालले नेपालको यू–१६ टिमदेखि आफ्नो प्रशिक्षक जीवनको सफलतामा साथ रहेका अन्जन र अनन्तलाई अझ सम्झिए । दुबैलाई दायाँबायाँ राखेर पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित उनले भने, ‘यो सफलताको श्रेय सम्पूर्ण टिमलाई जान्छ, स्पेसल्ली (दुबै खेलाडीलाई हेर्दै) ।’

क्लब अध्यक्ष राईले पनि आफ्नो टिमको नेतृत्व क्षमता नै जितको प्रमुख आधार भएको मान्छन् ।

‘हाम्रो टिममा सफलताको मुख्य आधार भनेको मैदानभित्रको नेतृत्व क्षमता हो,’ कप्तान अनन्त तामाङतर्फ इंगित गर्दै उनले थपे, ‘त्यसबाहेक हामी अनुशासनको सवालमा धेरै नै कडा थियौं । टिमभित्रको एकता बचाइराख्न सफल रह्यौं । विदेशी खेलाडीहरुले पनि आफ्नो स्तरअनुसार बलियो प्रदर्शन गरे ।’

टिमका फवार्ड अन्जन विष्टले पनि टिममेट, प्रशिक्षकसँग क्लब अध्यक्ष लगायात व्यवस्थापनको पनि खुलेर प्रशंसा गरे । भन्छन्, ‘एउटा टिम होइन, परिवार थियो, त्यसैले जित्छौं भन्ने मनमा थियो । त्यसैले आज एकदमै खुसी छु ।’

एएफसी कपको पीडा

ए डिभिजन लिग जित्नु घरेलु च्याम्पियन बन्नु मात्र होइन, अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पनि हो । एसियाका लिग च्याम्पियनहरुले एसियाली फुटबल महासंघले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिता एएफसी कप खेल्न पाउँछन् ।

च्याम्पियन भएर पनि चर्च ब्वाइजले यो अवसर पाउने छैन । किनकी उसँग एएफसी लाइसेन्स पाएको छैन । नेपालमा मछिन्द्र, त्रिभुवन आर्मी र एपीएफ क्लबसँग मात्र एएफसी लाइसेन्स छ । त्यसैले सम्भवतः मछिन्द्रले एएफसी कप खेल्नेछ ।

यसमा च्याम्पियन खेलाडीहरु दुःखी छन् । ‘चर्च ब्वाइजलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउने मौका गुमाएका छौं, त्यसैले दुःख लागेको छ’, कप्तान अनन्त तामाङले भने ।

अञ्जनले पनि बीचमा आएर मात्र लिग जिते पनि एएफसी कप खेल्न नपाउने थाहा पाएको बताए । उनले अघि भने, ‘यत्रो मिहेनत गरेर टिमलाई जिताएकाछौं । खेल्न जाने अर्को टिम हुँदा दुःख लाग्छ ।’

क्लब अध्यक्ष रुबेन भविष्यमा एएफसी क्लब लाइसेन्सलाई केन्द्रित गरी योजना बनाउने बताउँछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?