+
+

वारपार गर्न मिल्ने भयो राणाकालीन चुरियामाई सुरुङ मार्ग

राणाकालीन सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारले बनाएको छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८० जेठ २४ गते १९:४७
मर्मत गरिएको चुरियामाई सुरुङ मार्ग । फोटो : भौतिक पूर्वाधार निर्देशनालय

२४ जेठ, काठमाडौं । राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ ।

दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए ।

‘सुरुङ मार्ग खुलाएर वारपार गर्न सक्ने बनाइएको चार दिन जति भयो,’ निर्देशक रेग्मीले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङको काम बाँकी छ ।’ सुरुङ मार्गमा काम जारी रहेकाले सबैलाई प्रवेश अनुमति नदिइएको उनले बताए ।

यो सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताउँछन् ।

चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने बि्रगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका छन् ।

राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

ओझाका अनुसार सुरुङ मार्गको २० मिटर जति भाग धसिएको अनुमान गरी मर्मतका लागि डीपीआर निर्माण गरिएको थियो । तर मर्मत सुरु गरेपछि ४० मिटर भाग धसिएको पाइएको थियो । यसैगरी सुरुमा १९८ मिटर लम्बाइमा पुननिर्माण गर्नुपर्ने पूर्वानुमान भए पनि मर्मत गर्दै जाँदा २२२ मिटर लम्बाइमा निर्माण गर्नुपरेको उनले बताए । ‘सुरुङ साँघुरो भएकाले र मेसिन पनि लैजान नमिल्ने भएकाले त्यहाँको काम गर्न हामीलाई ५ महिना लाग्यो,’ ओझाले भने ।

३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनले २०७८ साल वैशाखमा सुरुङ मार्ग पुनर्निर्माणको ठेक्का पाएको थियो । सुरुमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थपिएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको प्रवक्ता ओझाले जानकारी दिए ।

सबै काम सम्पन्न गरेपछि हेटौंडा उपमहानगरपालिकालाई जिम्मा लगाउने निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?