+
+

सेयर बजारमा सीमित व्यक्तिले कमाउने परम्परा अन्त्य हुनपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते ११:२९

२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने र उनीहरूकमे लक्ष्य बमोजिम बजार तलमाथि हुने कुरा अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।

‘सेयर बजार सिमित मान्छेले मात्रै फाइदा कमाउने हुन हुँदैन । बैंकमा निक्षेप राख्नुभन्दा सेयरमा लगानी गर्दा केही फाइदा हुन्छ कि भनेर लगानी गर्नेलाई संरक्षण हुनुपर्छ,’ उनले भने, ‘सेयर बजारलाई स्वस्थ, विस्तारित र लगानीकर्ताको लगानी सुरक्षित गर्न राष्ट्र बैंकको भूमिकाकझ लागि पहलकदमी हुन्छ।’

सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।

सेयर बजारमा फाइनान्सियल सेक्टर र हाइड्रोपावर मात्रै सूचीकृत भएको भन्दै अन्य वास्तविक क्षेत्रका कम्पनीलाई पनि सूचीकृत गराउनुपर्ने उनले बताए । ‘वास्तविक क्षेत्रका कम्पनीलाई लयाउन सके लगानीको क्षेत्र पनि बढ्छ,’ उनले भने, ‘कम्पनिहरूको पारदर्शिता सुनिश्चित हुन्छ ।’

उनले धितोपत्र बोर्डले नियमनलाई जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने बताए ।

उनले १५ जेठमा आएको आर्थिक विधयेकले सेयर बजारबाट फाइदा लिएका सीमित व्यक्तिलाई कर तिर्नुपर्ने भनेर ल्याएको व्यवस्थालाई समेत भ्रम फैलाउने काम गरेर उनीहरुले नै लाभ लिएको दाबी गरे । ‘आर्थिक विधेयकमा आएको विषय आम लगानीकर्ता लागि थिएन । तर, प्लेयरहरूले लौ बर्बाद भयो, ५६ लाख लगानीकर्ता यसको दायरमा आउने भयो भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘बजार घट्यो हामीले होइन भनेर स्पष्टीकरण दियौ। त्यसपछि बजार बढ्यो । यसमा आम लगानीकर्ताले होइन तिनैले फाइदा कमाए ।’

अर्थमन्त्री महतले सरकारबाट सेयर बजारप्रतिको विश्वास कम गराउने काम नहुने प्रतिबद्धता जनाए । तर, सीमित व्यक्तिले मात्रै फाइदा लिने र ५६ लाखको नाम लिने परम्पराको अन्त्य हुनुपर्ने बताए । त्यो काम धितोपत्र बोर्डले गर्नुपर्ने उनको तर्क छ ।

आर्थिक विधेयकमा स्वार्थ समूहको उदेश्य पुरा नहुँदा विवादित बनाएको समेत उनले दाबी गरे । ‘आर्थिक विधेयकमा कुनै पनि स्वार्थ समूहबाट प्रभावित भएर काम भएको छैन । त्यसबाट आहट भएका स्वार्थ समूहहरू असन्तुष्ट भएकोहरुले अनावश्यक विवाद झिक्ने काम गरिरहेका छन्,’ उनले भने, ‘स्वार्थ समूहको सबैतिर पहुँच छ। त्यसबाट कर छुटलगायत परम्परागतरुपमा फाइदा लिएकाहरू बेखुसी भएका छन् । त्यही भएर सामाजिक सञ्जाल र मिडियाबाट प्रहार भएको छ ।’

भ्याटको परिधि छुट दिंदा दिदै सकिने अवस्था भएको भन्दै आफुले त्यसमा सुधार गरेकेा बताए । कोभिडमा केही वस्तुलाई भ्याट छुट दिएको मा त्यो छुट सधैं हुन नसक्ने भन्दै त्यसैलाई सुधार गर्दा स्वार्थ समूहको लागि काम गर्‍यो भन्ने आरोप लागेको उनको दाबी छ ।

उनले उद्योग व्यवसायलाई एक तहको संरक्षण रहकेो भन्दै तयसल पनि पुग्दैन भने उद्योग जोगाउँछु भनेर मात्र नुहने तर्क गरे । एक तहको संरक्षण दिंदा पनि पुग्दैन भने सबै खोल्नुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?