+
+

बजेटको आकार ठूलो होइन, तर कार्यान्वयन चुनौतीपूर्ण : विनोद चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:५१

२५ जेठ, काठमाडौं । उद्योगपति एवम् सांसद विनोद चौधरीले बजेटको आकार ठूलो नभए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘१७५१ अर्बको बजेट आकारका हिसाबले ठूलो नभए पनि चालू वर्षको आम्दानी र खर्चको अवस्था हेर्दा चुनौतीपूर्ण देखिन्छ ।’

बजेटका आफ्नै सीमा रहेको भन्दै उनले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताए ।

‘सत्ता सहकार्यमा रहेका दलहरूका ‘पोलिटिकल फिलोसोफी’हरू फरक-फरक छन्, त्यसैले यो बजेट नेपाली कांग्रेसको एक्लो सोचबाट मात्रै निर्देशित होइन भनेर हामीले बुझ्नुपर्छ,’ उनले भने । बजेटमा कांग्रेसले अंगालेको लिवरल इकोनोमीक पोलिसी र प्राइभेट सेक्टरलाई थप अगाडि बढाउने प्रयास गरेको उनको दाबी छ ।

साधारण खर्च घटाउन अर्थमन्त्रीले गरेको प्रयास सकारात्मक रहेको भन्दै पूँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोच र दृष्टिकोण सहित वर्किङ मोडालिटी अगाडि सारेको बताए ।

खेतीको सिजन सुरू भएको भन्दै उनले रासायनिक मलको व्यवस्था गर्न माग गरे । खेतीपाती लगाउने यस सिजनमा किसान मलका लागि तड्पिरहेको उनको भनाइ छ । किसानको माग अनुसार मल आपूर्तिको व्यवस्था मिलान माग गर्दै उनले अहिले नै किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रासायनिक मल उपलब्ध गराउन सक्ने क्षमता रहेको बताए ।

‘रासायनिक मल वितरणका लागि पेट्रोलियम पदार्थमा जस्तै जीटूजी बेसिसमा नेपालको कुल माग धान्ने गरी स्थायी र भरपर्दो रुपमा आपूर्तिको व्यवस्था किन गर्न सकिंदैन ?’ उनले प्रश्न गरे । यो समस्याको स्थायी समाधान गर्न भारत वा बंगलादेशबाट ग्याँस पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सकिने र यस सम्बन्धी प्रस्ताव विभिन्न सरकारी निकायमा थन्केर बसेको उनले बताए ।

उद्योग, व्यापार, पर्यटन क्षेत्रमा घुमाउरो शीर्षक अन्तर्गत थपिएका करले अर्थतन्त्रको विस्तारमा सहयोग नगर्ने उनको तर्क छ । निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रको विस्तार हुन सक्ने भन्दै उनले अहिले निजी क्षेत्र उत्साहित नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?