+

सूर्य नेपाल प्रिमियर गल्फः सद्भावलाई २ स्ट्रोकको अग्रता

२०८० जेठ  २५ गते १६:५८ २०८० जेठ २५ गते १६:५८
सूर्य नेपाल प्रिमियर गल्फः सद्भावलाई २ स्ट्रोकको अग्रता

२५ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन राष्ट्रिय टिमका खेलाडी एमेच्योर सद्भाव आचार्यले शीर्ष स्थानमा दुई स्ट्रोक बनाएका छन्। अन्तिम १८ होलको खेल बाकी छँदा सद्भावको एकल अग्रता हो ।

उनले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले।‌ समग्रमा १६–अन्डर २०० को सानदार स्कोरमा उनले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङलाई दुई स्ट्रोकले पछि पारे।

दोस्रो दिन सकिँदा संयुक्त अग्रता बनाएका सुवास ५–अन्डर ६७ खेल्दै समग्रमा १४–अन्डर २०२ को स्कोरमा दोस्रो स्थानमा झरे। प्रोफेसनल गल्फरहरूलाई पछि पार्दै दुई एमेच्योर खेलाडीले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् । टूरअन्तर्गत अघिल्ला दुई प्रतियोगिताको उपाधि पनि यी दुई एमेच्योर खेलाडीले जितेका थिए ।

२–अन्डर ७० को कार्ड बनाएका धरानका नीरज तामाङ समग्रमा ८–अन्डर २०८ सहित तेस्रो स्थानमा छन्। डिफेन्डिङ च्याम्पियन तथा नम्बर एक प्रो शुक्रबहादुर राईले तेस्रो दिन १–अन्डर ७१ को स्कोर गरे। समग्रमा ७–अन्डर २०९ सहित उनी चौथो स्थानमा रहेका छन्। शुक्र शीर्ष स्थानका सद्भावभन्दा ९ स्ट्रोकले पछि परिसकेका छन्।‌

समग्रमा ५–अन्डर २११ को स्कोरमा दिनेश प्रजापति र भुवन नगरकोटीले संयुक्तरुपमा पाँचौ स्थान बाँडे। आज दिनेशले ४–अन्डर ६८ र भुवनले १–अन्डर ७१ मा खेल सकाए। इभन–पार ७२ को स्कोरमा समग्रमा ३–अन्डर २१३ सहित जयराम श्रेष्ठ सातौं स्थानमा रहे। पूर्णप्रसाद शर्मा र शिवराम पौडेलले समग्रमा २–अन्डर २१४ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। पुर्णले ६–अन्डर ६६ र शिवरामले १-ओभर ७३ मा तेस्रो दिनको खेल सकाए। ३–ओभर ७५ को स्कोर निकालेका तोरण बिक्रम शाही समग्रमा १–अन्डर २१५ सहित १०औं स्थानमा छन्।

एमेच्योरतर्फ भने वाङचेन ढोन्डुप तेस्रो स्थानमा रहेका छन्। आज दुई ओभर ७४ खेलेका उनले समग्रमा ३–ओभर २१९ स्कोर बनाए।

युवा गल्फर सद्भावले लगातार दोस्रो दिन ७–अन्डर ६५ को नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। सदभावले पहिलो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गर्दै ११औं, १२औं, १४औं, १५औं र १६औं होलमा पाँच बर्डी प्रहार गरे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए।

प्रतियोगिताअन्तर्गत अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर खेलाडीको सहभागिता छ।

कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७० हजार प्राप्त गर्नेछ। यो प्रतियोगिताले नेपाल नम्बर १ खेलाडी व्यवसायिक खेलाडीको छिनोफानोसमेत गर्नेछ।

गल्फ सद्भाव आचार्य सूर्य नेपाल प्रिमियर गल्फ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय