+
+

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १७:५१

२५ जेठ, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताएका हुन् ।

देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताए ।

रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उनले बताए । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाइ पनि लम्ब्याउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्री प्रचण्डले सुझाव दिए । वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको उनले बताए ।

पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उनले बताए । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको उनले बताए ।

पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् भएको उल्लेख गर्दै कृषि, म्यानुफेक्चरिङ, उद्योग एवम् वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र वित्तीय क्षेत्र बलियो र स्थीर हुने प्रधानमन्त्रीले उल्लेख गरे । उच्च मुद्रास्फीति र अस्थिर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने उनले बताए । अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन,’ प्रधानमन्त्री प्रचण्डले भने । पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउन थालेको प्रधानमन्त्रीको दाबी छ ।

वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको उनले बताए । भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको उनले बताए । वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेको उल्लेख गरे ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताए । ढकालले चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुवै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौंतारिनै नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?