+
+

गौर हत्याकाण्ड : पर्सिपल्ट घटनास्थलमा हामीले जे देख्यौं !

घटनास्थलमा छरपस्ट भाला, च्यातिएका टेन्टका टुक्रा र नालीमा रगतका टाटैटाटा थिए । संकटकाल लागेको जस्तो भयपूर्ण अवस्था थियो त्यहाँ । राइस मिल मैदानका दुई कुनामा दुईतिर आमने–सामने मञ्चहरू एकआपसमा अझै भिड्ने मूडमा भए जस्तो लाग्थ्यो ।

दुर्गा कार्की, पत्रकार दुर्गा कार्की, पत्रकार
२०८० जेठ २६ गते १९:४३

हत्या–हिंसाको लामो शृंखला भोगेको मुलुकमा शान्तिको किरण झुल्किंदै गर्दा ७ चैत २०६३ मा गौर हत्याकाण्ड भएर पूरै देश सन्नाटामा थियो । माओवादी शान्ति प्रक्रियामा आएको एक वर्ष पनि भएको थिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि हत्या–हिंसाको सिलसिला पनि अन्त्य भयो भन्ने नागिरकको आशा यो हत्याकाण्डले फेरि धमिल्याइदिएको थियो ।

मानवीय क्षति त्यो पनि क्रूरतापूर्वक र बीभत्स रूपमा भएको समाचारले फेरि देशलाई सन्नाटामा पुर्‍याएको थियो । घटना साँच्चिकै अकल्पनीय नै थियो । विशेषगरी जुन बीभत्स र नृशंस तरिकाले यो काण्ड मच्चाइएको थियो, त्यो कसैको पनि कल्पना बाहिरको कुरा थियो ।

स्थलगत अनुगमन र समाचार संकलन गर्न मानवअधिकार संचार प्रतिष्ठानले पहल गर्‍यो । प्रतिष्ठानकी तत्कालीन अध्यक्ष तथा पत्रकार शोभा गौतमको पहलमा अधिकारीकर्मीहरू शारदा पोख्रेल, कल्याणी साह र पत्रकार गरेर ९ जनाको टोली हत्याकाण्डको अनुगमन र रिपोर्टिङ गर्न गौर प्रस्थान गर्‍यो । टोलीमा म पनि थिएँ । त्यसबेला म रेडियो सगरमाथामा कार्यरत थिएँ ।

यसरी घटना भएको पर्सिपल्ट ९ चैत २०६३ का दिन एउटा माइक्रोबस रिजर्भ गरेर हामी घटनास्थलतर्फ लाग्यौं । घटनापछि आएका समाचारले नै हाम्रो आङ सिरिङ्ग बनाएको थियो । क्रूरतापूर्वक र बर्बरतापूर्ण ढंगले घटना भएको भन्ने सुनेदेखि नै मलाई एक किसिमले बेचैन महसुस भइरहेको थियो ।

समाचारमा महिलाका स्तन काटिएका, सामूहिक बलात्कार गरेर यौनाङ्गमा लाठी घुसारिदिएका समाचार सार्वजनिक भएका थिए । अहिले पनि म राम्ररी सम्झन्छु यो समाचारले सारा देश स्तब्ध थियो । हत्या हिंसाको १० वर्षे शृंखलाबाट देशले पार पाउँछ कि भन्ने भरोसाले भर्खर नयाँ पालुवा हाल्दै गर्दा मानव सभ्यतामाथि नै प्रश्न उठाउने गरी यो हत्याकाण्ड भएको थियो ।

घटनाको यथार्थ विवरण थाहा पाउन र रिपोर्टिङ गर्न रौतहट बाहिरबाट घटनास्थल पुग्ने यो पहिलो टोली थियो । त्यसैले कता–कता हामी पनि डराइरहेका थियौं । कसलाई भेट्ने, के प्रश्न गर्ने भन्ने मनमा एकप्रकारको डर पनि थियो हामीसँग । तर घटना थाहा पाउन र यथार्थ रिपोर्टिङ गर्न डराएर मात्रै पनि हुँदैनथ्यो ।

स्थानीय बासिन्दाहरूले भने मधेशी जनअधिकार फोरमको तयारी देखेर अघिल्लै दिन अनुमान लगाइसकेका रहेछन् कि– केही नराम्रो हुँदैछ । उनीहरूले बाँसको भाटाभित्र तरबार लुकाई त्यसमाथि पार्टीको झण्डा राखेर अगाडिदेखि नै रिहर्सल गरेको बताएका थिए ।

जब हामी घटनास्थल पुग्यौं, स्थानीयको अवस्था साह्रै नै टिठलाग्दो थियो । हाम्रो पालो कहिले ? भन्ने मानसिकतामा पलपल मरेर बाँचिरहेका जस्ता थिए उनीहरू । कोही बोल्न तयार थिएनन् । बोल्न खोज्नेको बोलीमा पनि आवाज थिएन । नयाँ मान्छेदेखि डराउने, अझ पहाडे अनुहारदेखि झन् डराउने अवस्था थियो त्यहाँ ।

घटनास्थलमा छरपस्ट अवस्थामा भाला, च्यातिएका टेन्टका टुक्रा र नालीहरूमा रगतका टाटैटाटा थिए । संकटकाल लागेको जस्तो भयपूर्ण अवस्था थियो त्यहाँ । राइस मिल मैदानका दुई कुनामा दुईतिर आमने–सामने उभिएका छरपस्ट मञ्चहरू एकआपसमा अझै भिड्ने मूडमा भए जस्तो लाग्थ्यो ।

हामीले भोलिपल्टदेखि त्यहाँका आधिकारिक निकाय र व्यक्तिहरूसँग समयका लागि आग्रह गर्‍यौं । अनुसन्धानलाई प्रभावकारी बनाउन भन्दै प्रहरी प्रधान कार्यालयबाट प्रहरीको विशेष टोली पनि त्यहाँ पुगिसकेको थियो । हामीले प्रहरीलाई भेट्यौं । तर प्रहरी वा कुनै पनि सरकारी अधिकारी सत्य के हो भनेर छलफल गर्न तयार थिएनन् । तैं चुप मैं चुपको अवस्था थियो ।

स्थानीय बासिन्दा पनि घटनाबारे बोल्न तयार थिएनन् । प्रहरीले हामीलाई राम्रो जानकारी पनि दिएन । अनुसन्धान भइरहेको कारण धेरै कुरा बताउन नमिल्ने बनावटी जवाफ दिए । कसरी प्रश्नहरू टार्न सकिन्छ भन्ने खालको जवाफ थियो उनीहरूको ।

लामो कुराकानीपछि उनीहरूले ‘यस्तो घटना होला भनेर अनुमानै गर्न नसकेको’ चाहिं बताए । समग्रमा सुरक्षा निकाय र स्थानीय प्रशासन यो घटनालाई ‘भवितव्य’ देखाउन चाहन्थ्यो भन्ने मलाई लाग्छ ।

पोष्टमार्टम रिपोर्टका बारेमा बुझ्न खोज्दा अस्पतालले ‘कुटपिटका कारण उनीहरूको मृत्यु भएको’ भन्ने जवाफ दियो । समाचारमा आएजस्तो बीभत्स हत्या भएको होइन भन्ने जोड उनीहरूको थियो । यस मामिलाका जानकार तत्कालीन जिल्ला विकास समितिका पदाधिकारीले त हामीलाई भेट्न समय नै दिएनन् ।

लामो प्रयासपछि हामीले थाहा पायौं कि– स्थानीय बासिन्दाहरूले भने मधेशी जनअधिकार फोरमको तयारी देखेर अघिल्लै दिन अनुमान लगाइसकेका रहेछन् कि– केही नराम्रो हुँदैछ । उनीहरूले बाँसको भाटाभित्र तरबार लुकाई त्यसमाथि पार्टीको झण्डा राखेर अगाडिदेखि नै रिहर्सल गरेको बताएका थिए । दैनिक साँझ–साँझ उनीहरूले रिहर्सल गर्ने गरेको केही स्थानीयले बताएका थिए । तर, हाम्रो सुरक्षा निकाय, गुप्तचर कसैले पनि यसको भेउ पाएनन् वा पाएर पनि वास्ता गरेनन् ।

देखिएको कुरा के भने स्थानीय प्रशासनले एकै ठाउँमा, एकै समयमा दुईवटा कार्यक्रम गर्न दिनु नै सबभन्दा ठूलो गल्ती थियो । घटनाको संभावित पूर्वानुमान गरेर सुरक्षा तयारी गरेको देखिएन । कार्यक्रमका लागि खटाइएका सुरक्षाकर्मीको संख्या पनि निकै कम रहेको स्थानीय बासिन्दाको भनाइ थियो ।

घटनामा पाँच जना माओवादी महिलाको बीभत्स हत्या गरिएको थियो । प्रत्यक्षदर्शीका भनाइमा सामूहिक बलात्कारपछि स्तन काटेर नजिकैको मन्दिरमा भोग दिनेसम्मको ज्यादती भएको थियो । उनीहरूका यौनाङ्गमा उखुका लाठी कोचिएको थियो । यो सुनेर हामी त्यो मन्दिरमा पनि गयौं । त्यहाँ रगतका बाक्लै डोबहरू देखिने अवस्थामा थिए । मन्दिर संरचनाविहीन ढुङ्गा मात्रै थियो ।

यही विषयमा केन्द्रित रहेर हामीले अस्पताल प्रशासन र प्रहरीसँग जिज्ञासा राखेका थियौं । अस्पतालले कुटपिटका कारण मृत्यु भएको बनावटी जवाफ दिएर उम्कियो । त्यस्तै एक–एक शवको पोष्टमार्टम नगरेको अस्पतालको भनाइ थियो । प्रहरीले महिलाहरूको ज्यानै गएपछि बलात्कार हुनु र नहुनुको प्रश्नै भएन नि भन्ने जवाफ दिएको थियो ।

हामीले एउटै मैदानमा, एकै समयमा फरक दललाई कार्यक्रम गर्ने अनुमति कसरी दिनुभयो भनेर प्रश्न गरेका थियौं । स्थानीय सुरक्षा निकायका अधिकारीहरू ‘एनजीओलाई जवाफ दिन हामी बाध्य छैनौं’ भनेर उम्किएका थिए ।

अनुसन्धान र रिपोर्टिङका क्रममा हामीमाथि पनि प्रशासन र स्थानीय बासिन्दाको नजर परिरहेको छ भन्ने हामीलाई महसुस थियो । प्रत्यक्ष रूपमा हामी किन त्यहाँ छौं भन्ने प्रश्न नआए पनि हाम्रो उपस्थितिलाई उनीहरूले आशंका गरिरहेको हामीले बुझेका थियौं । हाम्रो टोलीमा यस विषयमा छलफल पनि भएको थियो ।

हामी घटनास्थलमा दुई रात बस्यौं । हामीलाई यी दुई रात निदाउन मुस्किल भयो । एक, त्यो घटनाका बारेमा सुनेको र आफैंले देखेका प्रमाणका कारण, दुई आफैंलाई पनि असुरक्षित महसुस भएर । त्यस कारण हामीले सरोकारवालासँग धेरै सवाल–जवाफ गर्न पनि सकेनौं ।

स्थानीय बासिन्दालाई उद्धृत गर्दै सञ्चारमाध्यममा आए अनुसारको कुरा कुनै पनि निकायले स्वीकार गरेनन् । त्यसपछि हामीले ठूलो आँट गरेर केही स्थानीय बासिन्दासँग कुरा गर्ने प्रयास गर्‍यौं । लामो प्रयासपछि केहीले हामीलाई घटनाबारे बताए ।

उनीहरूका अनुसार भाग–दौड मच्चिएपछि माओवादी कार्यकर्ता स्थानीयको घरमा लुक्न पुगेका थिए । एक स्थानीय महिलाले आफ्नो घरमा दुई माओवादी महिलालाई लुकाउन खोजेकी थिइन् । तर, फोरमका कार्यकर्ताहरूले उनीहरूलाई घरबाट थुतेर लगेका थिए र लखेटी–लखेटी मारेका थिए । एकजना वृद्धले हामीलाई बताए अनुसार, ‘मारिएका मध्ये धेरैलाई उनीहरूले नालीमा हालेर माथिबाट छोपेका थिए ।’

अर्की एकजना महिलाले भाग्दै उनीकहाँ आएकी एकजना महिला माओवादी कार्यकर्तालाई लुक्न दिएको बताइन् । उनले ती महिलालाई आफ्नो धोती लगाउन दिएकी थिइन् । खोज्न आएका मधेशी जनअधिकार फोरमका कार्यकर्तालाई आफ्नी बुहारी भनेर चिनाइन् र उनलाई बचाइन् ।

यो भिडन्तमा संलग्न धेरैजसो माओवादी कार्यकर्ता युवा उमेरका र पहाडी मूलका थिए । उनीहरू धेरै जिल्लाबाट त्यहाँ ल्याइएका थिए, जसलाई त्यहाँको भूगोलका बारेमा केही पनि जानकारी थिएन । त्यसकारण उनीहरूलाई भागेर जाने ठाउँको ज्ञान भएन र यत्रो क्षति भएको स्थानीयको भनाइ थियो ।

त्यसबेला माओवादी भर्खरै खुला राजनीतिमा आएको थियो । आफ्नो उपस्थिति तराईमा देखाउन उसले यो कार्यक्रम गरे पनि उनीहरूले संभावित क्षतिको अनुमान नगरेको देखिन्थ्यो । १० वर्ष युद्ध गरेर आएकाले आफूहरू शक्तिशाली भएको र कसैले केही गर्न नसक्ने दम्भ पनि उनीहरूमा थियो होला सायद ।

यसरी दुवै पक्ष पछि नहट्ने हठका कारण भएको भिडन्तमा त्यो क्षति भएको थियो । कतिले यो घटना नियतवश हुन दिइएको भनेर विश्लेषण पनि गरेका थिए । तर जे भए पनि यो एउटा निकृष्ट घटना थियो । त्यसमाथि प्रभावितहरूले अहिलेसम्म न्याय नपाउनु र न्यायका लागि राज्यले पहल नगर्नु निकै दुःखद् र रहस्यमय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?