+
+

श्रमदान गरेर तिर्खा मेट्ने प्रयास

स्थानीय गोपाल मियाँका अनुसार गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यसअघि ट्याक्टरमार्फत पानी पठाइदिएर मुस्लिम टोलमा सहयोग गरेका थिए । तर सधैं यसरी पानी ढुवानी गरेर सम्भव नहुने भएपछि अहिले समस्याको स्थायी समाधानको पहल भइरहेको छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८० जेठ २८ गते ९:५७
खानेपानीको पाइप ओछ्याउनका लागि खाल्डो खन्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट लगायत । फोटो : तुलबहादुर कवँर ।

२८ जेठ, दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मुस्लिम टोलकी अमिना खातुनलाई एक गाग्रो पानी ल्याउन घण्टौं टाढा जानुपर्ने बाध्यता छ । पानी भर्न छिटो पालो पाउन राति बास नै बस्नुपरेको अनुभव उनीसँग छ । तर अब भने त्यो दुःख हट्ने विश्वास पलाएको छ ।

किनभने राप्ती गाउँपालिकाले घर–घरमै खानेपानीको धारा जोडिदिन सुरु गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका मुस्लिम टोलमा पानी पुर्याउन गाउँपालिका अध्यक्ष प्रकाश विष्ट आफैं श्रमदानमा जुटेका छन् ।

सुगम गाउँपालिकाको दुर्गम वडा भनिने देवीकोटमात्रको  मुस्लिम समुदायको सिंगो गाउँ छ । त्यहाँ ४३ घरधुरी छन् । सुक्खायाममा नजिकका पानीका स्रोत सुक्ने हुँदा करिब दुई घण्टा पैदल दुरीमा रहेको जरुवाको पानी भाँडामा भरेर ल्याउनुपर्ने बाध्यता छ ।

जरुवामा भेटिएकी रुपाकोटमा कक्षा सातमा अध्ययनरत आयशा खातुनका अनुसार पानी भर्दाभर्दै जरुवाको पानी सकिन्छ । पानी संकलन नहुन्जेल कुर्नुपर्छ र भाँडामा भर्नुपर्छ । उनी भन्छिन्, ‘त्यति दुःखले टाढाबाट ओसारेको पानी मान्छेले खाने कि गाईवस्तुलाई खुवाउने भन्नुपर्ने स्थिति छ ।’

पानी भर्ने जरुवामा भेटिएकी आयशा खातुन ।

स्थानीयवासी गोपाल मियाँका अनुसार गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यसअघि ट्याक्टरमार्फत् पानी पठाइदिएर मुस्लिम टोलमा सहयोग गरेका थिए । तर सधैं यसरी पानी ढुवानी गरेर सम्भव नहुने भएपछि अहिले समस्याको स्थायी समाधानको पहल भइरहेको छ ।

मुस्लिम टोलमा खानेपानीको सुविधा पुर्याउन पालिकाले आर्थिक वर्ष २०७९/८० मा पाँच लाख रुपैयाँ बजेट छुट्याएको थियो । त्यो बजेटबाट गाउँभन्दा करिब ८५० मिटर तल रहेको बेवरे खोलामा मोटर जोडिएको छ र माथि डाँडामा पाँच–पाँच हजार लिटरका दुईवटा प्लास्टिकका ट्यांकी राखिएको छ । परीक्षणको क्रममा मुहान क्षेत्रबाट पानी तानेर ट्यांकीसम्म ल्याइसकिएको छ । अब त्यो ट्यांकीमा जम्मा गरेको पानी घर–घरमा पुर्याउन पाइप बिछ्याउने र धारा जोड्ने काम जारी छ ।

शनिबार पालिका अध्यक्ष विष्टसहित स्थानीयले जनश्रमदान गरेर पाइप बिछ्याउने काम गरेका छन् । ‘हरेक शनिबार जनश्रमदान गर्ने पालिकाको नीति अनुसार हिजो मुस्लिम टोलमा पानी पुर्याउनका लागि खाल्डो खन्ने, पाइप बिछ्याउने, पुर्ने लगायतका काम गर्यौं,’ गाउँपालिका अध्यक्ष विष्टले भने ।

‘हामीलाई पानीको साह्रै असुविधा थियो अब घरमा तुरुन्तै पानी खस्नेवाला छ,’ स्थानीय गोपाल मियाँले खुसी हुँदै भने, ‘अध्यक्ष बनेर आएपछि उहाँ (प्रकाश विष्ट)ले साह्रै सहयोग गर्नुभएको छ, । पानी नपाएर गाईवस्तु पनि मर्ने स्थिति आएपछि यसअघि ट्याक्टरबाट पनि पानी पठाइदिनुभएको थियो । अहिले चाहिँ गाउँपालिकाबाट बजेट छुट्याइदिएर धारा जोड्ने काम भइरहेको छ ।’

अर्का स्थानीय गाजे मियाले पानी खुवाउने उद्देश्यले गाउँपालिकाले गरेको पहलबाट धेरै खुसी लागेको बताए । ‘तलबाट बोकेर ल्याएको पानी मान्छेले खानी कि गाईबस्तुलाई खुवाउने भन्ने थियो । अब त घरमै धारो जोडिदिन लागेपछि धेरै खुसी लागेको छ,’ उनले भने ।

राप्ती गाउँपालिकामा देवीकोट, करङ्गेसहित, आठ–दशवटा पहाडी वस्तीहरु छन् । त्यहाँका वस्ती विकासमा पछाडि छन् । त्यसैले पालिकाले तिनै विकट क्षेत्रलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, खानेपानी र सडक सुविधा पुर्याउन प्रयासरत छ । यसअघि देवीकोट क्षेत्रकै बाहुनपाटामा लिफ्टिङ गरेर सिंचाइ सुविधा पुर्याएको पालिकाले अहिले देवीकोटकै मुस्लिम टोलमा खानेपानी सुविधा पुर्याउन लागेको हो ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकाले ‘राप्ती निर्माण अभियान’ कार्यक्रम सन्चालन गर्दै आएको छ । यो अभियान अन्तर्गत गाउँपालिकाले महिनामा कम्तिमा एकदिन मात्र भए पनि जनश्रमदान गर्ने नीति लिएको छ । प्रत्येक शनिबार हुने सामाजिक काममा गाउँपालिका अध्यक्ष आफैं सहभागी हुने गरेका छन् ।

हालै देवीकोटमा चौतारी पुनर्निर्माण गर्ने, देवीकोट जाने गणतन्त्र मार्गका दुवैतर्फ विभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने लगायतका काममा पालिका अध्यक्ष विष्ट आफैं सहभागी भएका थिए ।

राज्यले प्रदान गर्ने बजेटले मात्रै विकास निर्माणका कामहरु सम्पन्न नहुने भन्दै अध्यक्ष विष्ट पालिकावासीमा श्रमदानको भावना जागृत गराउने उद्देश्यले आफैं श्रमदानमा सहभागी हुँदै आएका छन् । विकासको काममा स्थानीयलाई पनि प्रत्यक्ष सहभागी गराइयो भने त्यसमा अपनत्व हुने र दिगो पनि हुने उनको धारणा छ । त्यसकारण स्थानीयलाई श्रमदानका लागि प्रेरित गर्दै आफैं पनि श्रमदानमा खटिंदै आएको उनी बताउँछन् ।

‘हरेक विकास निर्माणका गतिविधिमा जनसहभागिता हुन जरुरी छ । अरुलाई पनि प्रेरणा मिलोस् भनेर म आफैं विभिन्न वडाहरुमा हुने विकास निर्माणका काममा सहभागी हुँदै आएको छु,’ अध्यक्ष विष्ट भन्छन्, ‘देवीकोटको मुस्लिम टोलमा खानेपानीको सुविधा पुर्याउने अभियानमा म सहभागी भएको पनि त्यही उद्देश्यले हो ।’

केवरे खोलाबाट मोटरले तानेको पानी संकलन गर्न राखिएका ट्यांकी । यही ट्यांकीमा जम्मा भएको पानी घर–घरमा पुर्याउन पाइप बिछ्याउने काम जारी छ ।

मुस्लिम टोलमा खानेपानीको सुविधा पुर्याउने श्रमदानमा वडा अध्यक्ष रिम बहादुर सुनारी मगर, सदस्य अलि माेहमद मियाँ, युवा विद्यार्थी ठाकुर पन्थी, रामकृष्ण डाँगी लगायत पनि सहभागी थिए ।

वडा अध्यक्ष मगरका अनुसार देवीकोटको मुस्लिम टोलमा खानेपानीको सुविधा पुर्याउन अहिले गरिएको काम अस्थायी हो । त्यहाँ अहिले राखिएका प्लास्टिकका ट्यांकीको सट्टा स्थायी रुपमा पक्की पानी ट्यांकी निर्माण गर्ने योजना छ ।

फोटो/भिडियो : तुलबहादुर कवँर मगर

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?