+
+
Shares

रास्वपा सुदूरपश्चिम सभापति विष्टलाई बर्खास्त गर्न माग

रास्वपा सुदूरपश्चिमका ९ वटै जिल्ला सभापतिले राइट टु रिकलको व्यवस्थाअनुसार विष्टलाई कारबाही गर्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते १३:३०

१९ वैशाख, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई बर्खास्त गर्न माग गरिएको छ ।

प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सभापति विष्टलाई कारबाही गर्न माग गरेका हुन् ।

ढकाललाई बुझाइएका दुईवटा छुट्टाछुट्टै पत्रमा उनीहरूले प्रदेश सभापति विष्टको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले भने राइट टु रिकलको व्यवस्थाअनुसार विष्टलाई कारबाही गरी सुदूरपश्चिम संगठनको संरक्षण गरिदिन भनेका छन् ।

जिल्ला सभापतिहरूले प्रदेश सभापतिमाथि प्रश्न उठाउँदै १६ वैशाखमा प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदेश इन्चार्ज ढकाल प्रदेश समितिको बैठकमा सहभागी हुन धनगढी आएका बेला ध्यानाकर्षणपत्र बुझाएको स्रोतले जनाएको छ ।

जिल्ला सभापतिले बुझाएको ११ बुँदे ध्यानाकर्षणपत्रमा सभापति विष्टले आन्तरिक छलफलबिना एकलौटी निर्णय गर्दै प्रदेश पदाधिकारी हटाउने र नियुक्त गर्ने जस्ता आरोप लगाइएको छ ।

उनीहरूले बिनाअजेन्डा बैठक सञ्चालन गर्ने, केन्द्रमा झुटो रिपोर्टिङ गर्ने, संगठन निर्माण अभियानहरूमा अवरोध सिर्जना गर्ने, प्रदेश समितिको बैठकमा नक्कली हस्ताक्षर संकलन गर्ने, आफ्ना निकटस्थहरूलाई जिल्ला तहसम्म समन्वयबिना पदमा मनोनयन गर्ने र आलोचना गर्नेहरूलाई गुटबन्दीको आरोप लगाउने जस्ता कार्य गर्दै आएको उल्लेख गरेका छन् ।

विष्टमाथि तानाशाही प्रवृत्ति देखाउँदै गुटबन्दी प्रवर्द्धन गर्ने र विधानविपरीत नियुक्ति तथा संगठनलाई विभाजन गर्न लागेको आरोप समेत लगाइएको छ । दोस्रो पत्रमा भने सभापतिमाथि कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

प्रदेश सभापति विष्टमाथि प्रश्न उठेपछि अहिले रास्वपा सुदूरपश्चिम भित्रको विवाद सतहमा आएको छ । नेता तथा कार्यकर्ता विभाजित भएका छन् ।

रास्वपाका प्रदेश सभापति विष्टले भने आफूमाथि कारबाही गर्नुपर्छ भनेर ध्यानाकर्षणपत्र बुझाइएको थाहा पाएको र पार्टीको आन्तरिक विषय भएकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए । तर पार्टीको आन्तरिक विषयलाई सामाजिक सञ्जालमार्फत छताछुल्ल गरेर प्रचार गर्नेहरूमाथि अनुसन्धान हुनुपर्ने उनको माग छ ।

‘म फाटेको चप्पलको बलमा कसैलाई ढुंगा हानेर राजनीति गर्न आएको मान्छे होइन । विदेशमा मासिक लाखौँ तलब भएको जागिर छाडेर आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किएर व्यवसाय गरिरहेको मान्छे हुँ,’ विष्टले भने, ‘मैले देश राम्रो बनाउनुपर्छ भनेर रास्वपाको राजनीति रोजेको हुँ । सानातिना कुराले मलाई खासै फरक पार्दैन ।’

स्वयं हस्ताक्षरकर्ता नेताहरूले समेत पार्टी सभापतिलाई कारबाहीका लागि नभएर सभापतिको कार्यशैलीप्रती प्रश्न उठाउँदै सुधार गर्न माग मात्रै गरिएको तर त्यसलाई तोडमोड गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

‘पार्टी सभापतिलाई कारबाही गर्नुपर्छ, हटाउनुपर्छ भनेर हामीले हस्ताक्षर गरेका होइनौँ । केही जिल्लामा समन्वयको अभाव भयो भन्ने कुरा मात्रै उठाएका थियौँ,’ अछाम सभापति ओमप्रकाश रावलले भने, ‘तर अहिले हाम्रो हस्ताक्षर गलत आसयका साथ प्रयोग गरिएको छ । ध्यानाकर्षण पत्रको दुरुपयोग भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

रास्वपा कैलाली सभापतिले समेत हस्ताक्षरको गलत रूपले प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको बताउँदै चाँडै विज्ञप्तिमार्फत आफ्नो कुरा स्पष्ट गर्ने तयारीमा रहेको जानकारी दिए ।

ध्यानाकर्षणपत्रमा हस्ताक्षर गरेका बैतडीका सभापति भीम नाथ र बझाङ सभापति सत्यराज उपाध्यायले पार्टीको आन्तरिक कुरा भएकाले अहिले सञ्चारमाध्यममा कुनै प्रतिक्रिया नदिने बताएका छन् ।

रास्वपाका सुदूरपश्चिम इन्चार्ज हरि ढकालले जिल्ला सभापतिहरूले आफूलाई ध्यानाकर्षणपत्र बुझाएको बताउँदै प्रदेश सभापतिमाथि कारबाही हुनुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् ।

विष्टमाथि प्रश्न उठेका विषयलाई स्वभाविक र साधारण रूपमा लिएको बताउने ढकालले ध्यानाकर्षणपत्र बुझाउनेमध्येका केही पदाधिकारीले मात्र बर्खास्तको माग गरेको आफूले बुझेको बताए ।

‘यो कुनै ठूलो इस्यु होइन । रास्वपा नयाँ दल भएकाले अभियानमार्फत जोडिएका साथीहरू छौँ । कसैका कमी-कमजोरी कति होलान् । कतै न कतै एकमत नभएर असहमति होलान्,’ ढकालले भने, ‘सुदूरपश्चिम सभापतिको हकमा पनि त्यही हो । प्रदेश सभापतिमाथि जिल्लाका केही पदाधिकारीले कारबाहीको माग गरेको चाहिँ हो । यो कुरालाई मैले स्वाभाविक र साधारण रूपमा लिएको छु ।’

पार्टीभित्र देखिएका कमी-कमजोरीलाई सच्याउँदै एकमतका साथ संगठनलाई चलायमान बनाएर महाधिवेशनसम्म लैजानेमा प्रदेश इन्चार्जका रूपमा आफ्नो ध्यान गएको उनको भनाइ छ ।

प्रदेश सभापति विष्ट स्वयं आफैं क्षमतावान, विद्वान र देश विदेशमा अध्ययन गरेर बौद्धिकता हासिल गरेका व्यक्ति भएको उल्लेख गर्दै उनले सांगठनिक रूपमा अभ्यस्त नभइसकेको ठाउँमा करेक्सन गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘उहाँको विज्ञता र बौद्धिकतालाई हामीले सम्मान गर्नुपर्छ । आजसम्म उहाँले पार्टी र जिम्मेवारीबाट हटाउनुपर्ने खालको गतिविधि गरेको देखिएको छैन,’ ढकालले भने, ‘त्यसैले कारबाही गर्नुपर्ने कुनै कारण छैन । पार्टीमा असहमति राख्न पाइन्छ । सबै समाधान गरेर अघि बढनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?