+
+

कोशीमा अध्यादेशबाट बजेट नल्याउन विपक्षीको खबरदारी

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते १९:५१
मुख्यमन्त्री हिक्मतकुमार कार्की ।

२८ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका हुन् । जेठ ३२ गते सम्भव नभए असार १ गते नै अध्यादेशबाट बजेट ल्याउने उनको तयारी छ ।

मुख्यमन्त्रीले अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै प्रतिपक्षी चार दलले विरोध गरेका छन् । अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले विश्वासको मत लिनुको साटो नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट बजेट ल्याउने तयारी गरेकोले शंका उत्पन्न भएको चार दलका नेताले दाबी गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जसपा संसदीय दलकी नेता निर्मला लिम्बूले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल विश्वासको मत लिन आग्रह गरेका छन् ।

उनीहरुले अध्यादेशबाट बजेट ल्याउनु संविधानको धारा १८४ को उपधारा (२), २०२ को उपधारा (१) विपरीत हुने दाबी गर्दै त्यस्तो बजेट स्वीकार नगर्ने बताएका छन् । ‘संवैधानिक र कानुनी व्यवस्था विपरीत प्रदेशसभालाई छलेर अध्यादेशमार्फत आउने बजेट स्वीकार्य नहुने सम्बन्धित सबैमा जानकारी पनि गराउँछौं,’ गठबन्धन दलका नेताहरुले भनेका छन्, ‘यस्तै संविधानको धारा २०७ ले पनि प्रत्येक आर्थिक वर्षमा प्रदेशसभामै बजेट पेश गर्नुपर्ने व्यवस्था गरेको छ । उल्लेखित संवैधानिक प्रावधानलाई हेक्का राख्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

चार दलले रातो किताबमा राखिएका र खरिद प्रकृया अगाडि बढाएका आयोजनालाई कार्यान्वयनमा नलाने गरी सरकारले गरेको निर्णय गैरकानुनी र पूर्वाग्रही भएको बताएका छन् । सरकार अविछिन्न उत्तराधिकारी भएका कारण अघिल्ला सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई निरन्तरता दिनु पर्ने दलहरुले बताएका छन् । कोशी प्रदेश सरकारको चालू र पूँजीगत तर्फको खर्चको अवस्था कमजोर रहेको दाबी गर्दै चार दलका नेताले काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न पनि आग्रह गरेका छन् ।

अध्यादेश ल्याउन संवैधानिक जटिलता

मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अध्यादेशबाट बजेट ल्याउनका लागि जारी बजेट अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ । अधिवेशन चलिरहेको अवस्थामा बजेट ल्याउन धारा २०२ को १ ले रोक्छ । २०२ को २ मा ‘प्रदेश सभाको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्नेछ’ व्यवस्था छ ।

बजेट अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन संविधानको धारा १८४(२) ले रोकेको छ । १८४ को उपधारा २ मा भनिएको छ, ‘प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नेछ ।’

गत जेठ १४ गते सुरु भएको बजेट अधिवेशनलाई प्रदेश प्रमुखले सम्बोधन गरेका छैनन् ।

नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रस्तुत गर्ने परम्परा छ । बजेट अधिवेशनको अर्काे बैठक जेठ ३१ गतेका लागि बोलाइएको छ । सो बैठकमा प्रदेश प्रमुखले सम्बोधन गरे अधिवेशन अन्त्यको बाटो खुल्नेछ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीले अध्यादेशबाट बजेट ल्याउनुअघि विश्वासको मत लिनुपर्ने बताउँछन् ।

अध्यादेशबाट ल्याएको बजेट धारा २०२ को २ (क) बमोजिम अध्यादेश जारी भएपपछि बसेको संसद बैठक बसेपछि पेश हुन्छ । बहुमत सदस्यले स्वीकार नगरे स्वत अध्यादेश निस्क्रीय हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । माओवादी केन्द्र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा छन् ।

एमालेको ४० र राप्रपाको ६ गरी मुख्यमन्त्रीको पक्षमा ४६ मत छ । कांग्रेसको २९, माओवादी केन्द्रको (सभामुख बाहेक १२), नेकपा एकीकृत समाजवादी पार्टीको ४, जसपाको एक गरी ४६ नै विपक्षमा छन् । माओवादी केन्द्रका बाबुराम गौतम सभामुख छन् । प्रदेशसभामा बराबर मत भए सभामुखले निर्णयक मत दिन पाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?