+
+

विना पैसा देश यात्रा

यात्रामा उनले कति छाक भोकै बिताए भनेर हिसाब गरेका छैनन् । कति रात सडक किनारका यात्रु प्रतीक्षालयमा बिताए भनेर टिपोट गरेका छैनन् । ‘भोकै प्यासै निदाएको, बसेको पनि के हिसाब गर्नु त ! यस्तो यात्रामा भोकै हुनु, बास नपाउनु सामान्य हो’, उनी सहज सुनिन्छन् ।

सागर चन्द सागर चन्द
२०८० जेठ २९ गते ७:२८

२९ जेठ, काठमाडौं । सामान्यत यात्रा गर्नु पहिला योजना बनाइन्छ । कहाँ जाने ? कति दिन यात्रा गर्ने ? त्यसका लागि कति खर्च लाग्छ भनेर सोचविचार गरिन्छ । तर, सन्तोष तामाङ जस्ता यात्री भने यस्ता प्रश्नमा धेर समय खर्चिंदैनन् ।

उनी झोला बोक्छन्, सडक किनारमा उभिन्छन् र लिफ्ट माग्छन् । ‘जहाँ जाने गाडी भेटियो त्यही पुग्छु,’ तामाङ निष्फिक्री सुनिन्छन् । उनका अनुसार उनको साथमा भाडा तिर्ने खर्च समेत हुँदैन । तर, पनि उनी चार महिनादेखि यसरी नै यात्रा गरिरहेका छन् ।

रुकुम र जाजरकोटको सिमाना छुट्याउने ठूली भेरी नदी किनारमा यसैगरी गाडी कुरिरहेका भेटिए तामाङ । रुकुम पश्चिमको छरिबगरबाट डोल्पा सदरमुकाम दुनै जान भनेर हिँडेका यी २३ वर्षे नौजवान यात्रुवाहक सवारी साधन चढ्न रुचि देखाउँदैनन् । छरिबगरबाट उभो दुनैतिर जान कस्सिएका जिपका चालकले यात्रु तानातान गरिरहँदा उनी भने ठूली भेरीको तीरमा ट्रक पर्खिरहेका थिए ।

‘प्यासेन्जर बोक्ने गाडीले पैसा माग्छन् मसँग पैसा छैन,’ ट्रक रोज्नुको कारण खुलाए उनले । यात्रा गर्न पैसा खर्च हुन्छ । तर, सन्तोष भने विना पैसा देश यात्रा गरिरहेका छन् ।

९ फागुन ०७९ मा पाँचथरको हिलिहाङ गाउँपालिका २ बाट उनी विना पैसा देश यात्रा गर्न निस्के । ‘घरबाट निस्कदा मसँग एक रुपैयाँ पनि थिएन,’ सन्तोष हाँस्छन्, ‘अहिले पनि पैसा छैन ।’

पैसा विना नै देश यात्रा गरिरहेका उनी लिफ्ट माग्दै एक ठाउँबाट अर्को ठाउँ जान्छन् । ‘लिफ्ट माग्दा म सकेसम्म यात्रु बोक्ने गाडीमा माग्दिनँ, यसरी नै ३७ जिल्लाको यात्रा गरिसकें’ उनी भन्छन् ।

ठूली भेरी नदीको बगरमा भेटिएका उनी दुनैबाट फिरेर सल्यान, रुकुम पूर्व र पश्चिम यात्रा गर्ने सोचमा छन् । विना पैसा यात्रा गरिरहेका उनले यात्रा गर्न खर्च चाहिन्छ भन्ने बुझाइलाई चुनौति दिएका छन् । ‘सुरुमा त मैले पनि खर्च धेरै चाहिन्छ यात्रा गर्न सोचेको थिएँ,’ सन्तोष सुनाउँछन्, ‘पछि जब मैले हिच हाइकिङ (विना पैसा यात्रा गर्ने)का बारेमा सुनें त्यसपछि त म निस्किहालें नि घरबाट ।’

खर्च नबोकी यात्रा गर्ने कुरा जति रोमाञ्चक सुनिन्छ त्यति रोमाञ्चक भने छैन । ‘कति ठाउँमा खाना पाइँदैन, भाषा बुझिंदैन । बास बस्ने ठाउँ पाइँदैन’, उनी हिच हाइकिङका अप्ठ्यारा सुनाउँछन्, ‘तर, अहिले दुःख भएका कुराहरु पछि सम्झना बन्छन् । यस्ता कुराहरु पछि सम्झिँदा मज्जा आउँछ ।’

उनले यसरी नै पूर्व झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराईका जिल्लाको यात्रा गरिसकेका छन् । सुदूरपश्चिमका सबै जिल्ला घुमिसकेका उनी यसपटक कर्णाली प्रदेशका सबै जिल्ला पुग्ने सोच बनाएर डोल्पा हिँडेका हुन् । यो यात्रामा उनी जिल्लाका सदरमुकामसम्म पुग्ने र फर्किने गरिरहेका छन् ।

‘डोल्पाको दुनै पुग्छु र त्यसपछि सल्यान, रुकुम पूर्व, पश्चिम जान्छु,’ उनले तय गरेका छन् । तर, हिच हाइकिङ सधैं यात्रुले बनाएको योजना अनुसार कहाँ हुन्छ र ?

हिच हाइकिङ यात्रामा उनले सिकेको कुरा हो मान्छेहरुसँग नम्र भएर बोल्ने र हिम्मत नहार्ने ।

‘भनेको बेला गाडी पाइँदैन, कति ठाउँमा आफ्नो इच्छाले मात्र हुँदैन,’ सन्तोष सुनाउँछन्, ‘आफूले बनाएको टाइम टेबल अनुसार हुँदैन ।’ तर, हिच हाइकिङको मज्जा नै यही हो, जहाँ गन्तव्य तय हुँदैन । यात्रा समय तय हुँदैन । कहाँ पुग्ने, कहाँ बस्ने र के गर्ने भन्ने तय नहुने यो यात्राको रोमाञ्चकता नै अन्योलता हो । यही अनिश्चितता र अन्योलताले नै उनको यात्रा समय बढाएको छ  । ‘घरबाट निस्कँदा त तीन महिनामा पूरै देश घुमेर सक्छु जस्तो लागेको थियो,’ उनी सुनाउँछन् ।

मालवाहक सवारी साधनमा यात्रा गरेपछि उनी खाना र बास खोज्न मन्दिर, धर्मशाला, गुम्बा, चर्च धाउँछन् । यहाँ पनि गासबास पाइएन भने स्थानीयसँग गुहार माग्छन् । ‘बस्ने खाने कतैबाट मिलेन भने म पुलिसचौकीमा जान्छु,’ उनले सुनाए ।

चार महिने हिच हाइकिङ यात्रामा उनले कति छाक भोकै बिताए भनेर हिसाब गरेका छैनन् । कति रात सडक किनारका यात्रु प्रतीक्षालयमा बिताए भनेर टिपोट गरेका छैनन् । ‘भोकै प्यासै निदाएको, बसेको पनि के हिसाब गर्नु त ! यस्तो यात्रामा भोकै हुनु, बास नपाउनु सामान्य हो’, उनी सहज सुनिन्छन् ।

प्लस टु पास गरेपछि उच्च शिक्षा पढ्नुको सट्टा उनले हिच हाइकिङ रोजे । यो यात्रामा उनी ‘भ्लग’ पनि बनाउँछन् । तराईमा भन्दा पहाडमा सहजै लिफ्ट पाइने गरेको उनको अनुभव छ । ‘पहाडमा गाडी थोरै चल्छन् तर लिफ्ट धेरै पाइन्छ । तराईमा गाडी धेरै चले पनि लिफ्ट कम पाइन्छ,’ सुर्खेतबाट डोल्पा जान भनेर आएका उनले यो यात्रामा पनि यसरी नै ट्रक, ट्याक्टरमा लिफ्ट मागे ।

कर्णाली प्रदेशको यात्रा सकिएपछि लुम्बिनी प्रदेशको यात्रा गर्ने उनले बताए । हिच हाइकिङ यात्रामा उनले सिकेको कुरा हो मान्छेहरुसँग नम्र भएर बोल्ने र हिम्मत नहार्ने । ‘कति मान्छे झर्किन्छन्, हाँस्छन्, कुरा सुन्दैनन् । हिम्मत हार्‍यो भने त यस्तो यात्रा गर्न सकिँदैन,’ उनी टिप्स सुनाउँछन् ।

यात्रामा उनलाई अद्भुत लागेको रारा ताल हो । ‘राराको माथिल्लो भेगबाट हिंडिरहेको थिए । रारामाथि सेतो बादल लागेको रहेछ, अनि मलाई त म आफू बादलभन्दा माथि छु जस्तो महसुस भयो,’ उनी सुनाउँछन्, ‘त्यो अनुभूति एकदम अचम्मको थियो । पर्यटक जस्तो, यात्री जस्तो उनी नक्सा बोकेर हिंड्दैनन् ।

उनी बस् हरेकपटक सवारी साधन चढ्दा अर्को जिल्ला पुग्ने गरी चढ्छन् । जहाँ अप्ठ्यारो पर्छ उनी वडा कार्यालयले बनाइदिएको हिच हाइकरको परिचयपत्र देखाउँछन् ।

प्रायः ट्रकहरूको पछाडि ‘आमा बुबाको आशीर्वाद’ लेखिएको हुन्छ । ट्रकमै यात्रा गर्ने सन्तोष पनि आमाकै आशीर्वाद बोकेर यात्रामा रहेको बताउँछन्, ‘घरबाट निस्कने बेलामा आमाले गलत काम नगर्नू, लौ जा तैले सक्छस् भन्नुभएको थियो ।’ जीवनलाई यात्राका रूपमा अर्थ्याउनेहरूको कमि छैन । यदि जीवन यात्रा हो भने सन्तोष त्यही यात्रा पूरा गर्दैछन् ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?