+
+
यात्रा :

क्युबामा जे देखियो

माधव पन्त माधव पन्त
२०८० जेठ २९ गते १५:५७

क्युबा अर्थात् साहस र स्वाभिमानको पर्याय । २१औं शताब्दीका सीमित कम्युनिस्ट देशहरूमध्ये एक । जतिखेर विश्व साम्राज्यवाद आक्रामक रूपमा थियो, त्यतिबेला समेत नझुकेको राष्ट्र । साम्राज्यवादी हस्तक्षेप, दमन, शोषण र प्रभुत्वको सामना गर्दै क्युबा आज समाजवादी विचारको जगमा उदय भएको छ । यही नै क्युबाको साहसिक र स्वाभिमानी कदम मानिन्छ ।

आज संसारभरि कम्युनिस्ट भनेर चिनिएका देशहरूमा जनगणतन्त्र चीन, क्युबा, भियतनाम, लाओस, भेनेजुएला र उत्तरकोरिया पर्दछन् । यी सबै देशको आफ्नै कथा र विशेषता छन् । विगत ६ दशकदेखि संयुक्त राज्य अमेरिकाको आर्थिक नाकाबन्दी खेपिरहेको क्युबा एक सुन्दर देश हो । ‘क्यारिबियन आइल्यान्ड’ क्युबा आज विश्वभरिका प्रगतिशील, वामपन्थी, समाजवादीहरूका लागि उत्प्रेरणाको स्रोत बनेको छ ।

सन् १४९२ मा पोर्तुगिज यात्री क्रिस्टोफर कोलोम्बसले इन्डियन महाद्वीपका लागि तय गरेको यात्राका क्रममा अमेरिकी महाद्वीप र क्यारिबियन समुद्री टापुहरू आइपुग्दा क्युबा पनि भेट्टाएका थिए । युरोपियन देशहरूबाट उपनिवेश बन्न थालेको क्युबा लामो समय स्पेनको उपनिवेश बन्यो । केही समय अमेरिकी सैन्य शासन समेत क्युबाले झेल्यो । यी सबैखाले उपनिवेशबाट स्वतन्त्र बन्दै क्युबाले राजनीतिक तथा आर्थिक क्रान्ति जारी राखेको छ ।

आज क्युबामा अपनाइएको पर्यावरणीय कृषि र सहकारी मोडेल कृषि प्रणालीका अनुकरणीय उदाहरण बनेका छन् । सुरुवाती चरणदेखि नै क्युबामा मुख्यतया उखु खेती मनग्ये फस्टाउँथ्यो । युरोपियन उपनिवेशताका क्युबामा कृषिका लागि अफिसबाट लाखौंको संख्यामा दासको रूपमा कामदारहरू ल्याइएको थियो । त्यसैको प्रभावले होला क्युबाको मानवीय जीवन, कला, संस्कृति र चालचलन क्युबाली आदिवासी, युरोपियन र अपि|mकीहरूको सम्मिश्रण बनेको छ । विगतदेखि नै क्युबामा उत्पादित उखु र उसका अन्य उत्पादनहरू संसारभरि निर्यात गरिन्थ्यो । आज पनि उखु, सिगार, रम लगायत वस्तुहरू क्युबाका महत्वपूर्ण उत्पादन रहेका छन् ।

संसारभरि रहेका आइल्यान्डहरूमध्ये आठौं ठूलो स्थानमा रहेको क्युबा टापु राष्ट्र हो । यो देश पानीले ओगटेको जमिनबाहेक स्थल सतह १ लाख १० हजार ८६० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । भेनेजुएलाबाट आएका तियानो जातिहरूले क्युवन टापुमाथि आक्रमण गरी त्यहाँका आदिवासी किवोनी र गुयनाहातावेयमाथि दमन गरेका थिए । सन् १५११ मा स्पेनीहरूले क्युबामाथि उपनिवेशको रूपमा कब्जा जमाए । क्युबा उपनिवेशको क्रममा स्पेनिसहरूले त्यहाँका रैथाने तियानो जातिलाई कज्याउँदै दासको रूपमा कामदार बनाए । र, थप उखु खेतीका लागि अफिसबाट लाखौंको संख्यामा दास ल्याइयो ।

सन् १८९८ मा अमेरिकाले स्पेनिसहरूलाई पराजित गरी आफूले शासन गर्न थाल्यो । सन् १९०२ मा क्युबाली जनताले तमाम उपनिवेशी एवं साम्राज्यवादी शक्तिविरुद्ध आन्दोलन गरी क्युबालाई पूर्ण रूपमा स्वतन्त्र बनाए । कथित रूपमा स्वतन्त्र भनिए पनि संयुक्त राज्य अमेरिकाको प्रभुत्व भने कायम नै थियो । क्युबामा त्यतिबेला अमेरिकाकै इशारामा चल्ने फुल्गुन्सियो वाटिस्टाले शासन गर्दै आएका थिए । सन् १९५९ मा निरंकुश वाटिस्टा तानाशाहीका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट नेता फिडेल क्याष्ट्रोको नेतृत्वमा क्युबाली क्रान्ति सम्पन्न भयो ।

क्युबाली क्रान्ति त्यति सजिलै सम्पन्न भएको थिएन । स्यान्टियागोमा जन्मिएका फिडेल क्याष्ट्रो र अर्जेन्टिनामा जन्मिएका अर्नेष्टो चे ग्वेभाराको एकता नै क्युबाको क्रान्ति सम्पन्न गर्ने आधार एवं ऊर्जा बनेको थियो । यसले जनतामा समेत साहस थपेको थियो । ग्वाटेमालामा क्रान्ति गर्दै अर्को देश छिरेका चे र क्युबाबाट निर्वासनमा परी त्यहीं पुगेका फिडेलबीच मेक्सिकोमा पहिलो भेट भएको थियो । फिडेल, चे, राहुल क्याष्ट्रो लगायत क्रान्तिकारी योद्धाहरूले क्युबाका तानाशाह वाटिस्टा विरुद्ध युद्ध जितेर क्युबामा कम्युनिस्ट शासनको सुरुवात गरेका थिए । साम्यवादी चेत भएका युवा क्रान्तिकारी फिडेल क्याष्ट्रोको नेतृत्वमा क्युबामा समाजवादी रूपान्तरण सम्भव भएको थियो ।

सन् १९५९ मा सत्ताको बागडोर हातमा लिएका फिडेलले झण्डै ५० वर्ष क्युबाको शासन चलाए । त्यसयता आजसम्म क्युबामा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी सरकार चलिरहेको छ । फिडेलपछि राहुल क्याष्ट्रो राष्ट्रपति बनेका थिए । हाल दोस्रो कार्यकालका लागि म्युगेल डियाज कनेल राष्ट्रपति निर्वाचित भएका छन् । क्युबामा कम्युनिस्ट शासनको सुरु भएयता (सन् १९५९ देखि) आजसम्म जम्मा तीन जना मात्रै राष्ट्रप्रमुख बनेका छन् ।

६ दशक लामो नाकाबन्दी

क्युबाको समाजवादी मोडेल आज आएर संसारभरिका समाजवादी र गैरसमाजवादी सबैका लागि अध्ययनको विषय बनेको छ । क्युबा पूँजीवाद र साम्राज्यवादको नेतृत्वकर्ता संयुक्त राज्य अमेरिका (यु.एस.) सँग जोडिएको समाजवादी मुलुक हो । कम्युनिस्ट मुलुक भएकै कारण क्युबाले ६ दशकदेखि अमेरिकाको कठोर आर्थिक नाकाबन्दी खेपिरहेको छ । संयुक्त राज्य अमेरिकाको मायामी शहर हभानाबाट जम्मा ३६६ किलोमिटरको दूरीमा यो मुलुक अवस्थित छ ।

साम्राज्यवादी शक्तिको उपनिवेश र नाकाबन्दीका बाबजुद पनि क्युबा समाजवादको सफल अभ्यास गर्ने मुलुक बनेको छ । विश्व साम्राज्यवादी खेमाको प्रतिरोधमा सतिसाल भएर उभिएको क्युबा शीतयुद्धकालमा सोभियत संघ ब्लकमा रहेको थियो । तत्कालीन सोभियत संघ (रुस)बाट व्यापारिक, आर्थिक लगायत सबै प्रकारका सहयोग प्राप्त गरिरहेको थियो । सोभियत युनियनको विघटनपछि क्युबाले बलियो सहारा पाउन सकेन ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कालमा क्युबाका राष्ट्रपति राहुल क्याष्ट्रो थिए । ओबामासित नाकाबन्दी फुकाउने लगायत विषयमा छलफल भएकोले सो समयमा केही सहज महसुस गरेको क्युबाले डोनाल्ड ट्रम्प र हाल जो बाइडेनको कार्यकालमा झन् कडा नाकाबन्दीको सामना गर्नुपरेको छ । नाकाबन्दीकै कारण यतिवेला क्युबाको जनजीवन निकै कष्टकर बनेको छ ।

ल्याटिन अमेरिकी क्षेत्रमा रहेको क्युबा यस क्षेत्रमा समाजवादी शासन पद्धतिको लागि मोडल बनेको छ । क्युबामा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा-सुविधा सबै निःशुल्क रहेको छ । हरेक क्षेत्रमा राज्य नियन्त्रित प्रणाली रहेको क्युबामा निजीकरण छैन । कृषि क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । क्यारिबियन समुद्रले घेरिएकोले प्राकृतिक सुन्दर पनि लोभलाग्दो छ । यो मुलुक पर्यटनका लागि संसारकै महत्वपूर्ण स्थानमा रहेको छ । हरेक गाउँमा विद्यालय र स्वास्थ्य केन्द्रहरू रहेका छन् । जनताले आफ्ना आधारभूत आवश्यकता सहजै प्राप्त गर्न सक्दछन् । आज पनि क्युबामा संसारभरिबाट चिकित्सा शिक्षा अध्ययनका लागि मानिसहरू जाने गर्दछन् ।

विश्वव्यापी कोभिड-१९ महामारीको समयमा क्युबाले कुशल व्यवस्थापन र उदार मानवीयता देखायो । आˆनो मुलुकमा महामारी नियन्त्रण गर्दै अन्य मुलुकमा स्वास्थ्य सामग्री, चिकित्सक र कोभिड भ्याक्सिनहरू पठाएर सहयोग गरेको थियो । क्युबाको शिक्षा, स्वास्थ्य, भूमि सुधार, कृषि हरेक क्षेत्रमा गरेको समाजवादी रूपान्तरणको अध्ययन गर्न लाखौं विदेशी क्युबा भ्रमणमा जाने गरेको पाइन्छ । साथै अन्य ल्याटिन अमेरिकी मुलुकका लागि समेत समाजवादी आन्दोलनको प्रेरक राष्ट्र बनेको छ ।

यतिवेला ल्याटिन अमेरिकी मुलुकहरूमा समाजवादी आन्दोलन आक्रामक ढंगबाट अघि बढिरहेको छ । त्यहाँका समाजवादी नेता र उनीहरूले बोकेको विचारमा कुनै समयमा सिङ्गो ल्याटिन अमेरिकालाई स्वतन्त्र बनाउन हिंडेका स्वतन्त्रता-सेनानी महान् क्रान्तिकारी सिमन बोलिभारको प्रभाव रहेको पाइन्छ । बोलिभारियन स्वतन्त्रता संग्रामपछिको समयमा अर्नेष्टो चेग्वेभारा, फिडेल क्याष्ट्रो, हृयुगो चाभेज, गोन्जालो, लुला दा सिल्भा, इभो मोरालिस, ओर्टेगा, रफायल कोर्रे जस्ता क्रान्तिकारी ल्याटिन अमेरिकी समाजवादी नेताहरूमा एउटै गति र चेतना पाइन्छ ।

कम्युनिस्ट आन्दोलनको निरन्तरताका कारण आज ल्याटिन अमेरिकी मुलुकहरूमा समाजवादी राज्यव्यवस्था पुनस्र्थापित हुँदैछ । क्युबामा म्युगेल, भेनेज्ाुएलामा निकोलस मदुरो, ब्राजिलमा लुला, चिलीमा ग्याबि्रयल बोरिक, कोलम्बियामा गुस्ताभो पेट्रो, बोलिभियामा लुइस आर्के, निकारागोवामा डानियल ओर्टेगा जस्ता नेताहरू सबै समाजवादी विचार बोेकेर अघि बढिरहेका छन् ।

होन्डुरस र मेक्सिको लगायत देशका राष्ट्रप्रमुखहरू पनि कम्युनिस्ट वा समाजवादी विचार बोकेका नेता रहेका छन् । विश्व साम्राज्यवादको अमानवीय आक्रमण र यसबाट सृजित गरिबी, भोकमरी, बेरोजगारी जस्ता मानवीय समस्याबाट प्रभावित समाजको मुक्तिका लागि आन्दोलनमा होमिएका जो-कोहीका लागि पनि ल्याटिन अमेरिका भ्रमण रुचिको विषय बन्ने गरेको छ ।

हाम्रो क्युबा यात्रा

प्रायः प्रगतिशील, वामपन्थी, समाजवादी वा कम्युनिस्ट विचार बोक्ने मानिसका लागि क्युबामा पाइला टेक्न पाउनु एउटा सपना जस्तै हुन्छ । भौगोलिक दूरीका हिसाबले नेपालबाट निकै नै टाढा रहेको ल्याटिन अमेरिकी क्यारेबियन टापुमा पुग्ने हाम्रो हुटहुटी थियो । यसका केही आकर्षण र कारण थिए । प्रथमतः क्युबा जस्तो सानो मुलुकले विश्वशक्ति मानिने अमेरिकाको नाकैमुनि रहेर, अमेरिकाकै विरुद्धमा कठोर ढंगले उभिएर ६ दशक लामो आर्थिक नाकाबन्दीको सामना गर्न सक्नु नै हो । अर्कोतर्फ अन्तर्राष्ट्रिय कम्युनिस्ट क्रान्तिकारीहरू जोसे मार्टी, फिडेल, चे, राहुलहरूले क्रान्ति सफल बनाएको एक समाजवादी कम्युनिष्ट मुलुक हुनुले पनि हाम्रो ध्यान तान्छ । यिनै कारण क्युबा आज संसारभरिका समाजवादीहरूको रोलमोडेल बनेको छ । क्रान्ति र क्रान्तिकारीहरूको पवित्र भूमि बनेको छ । र, कम्युनिस्टहरूको लागि पे्ररणा, साहस र ज्ञानको स्रोत बनेको छ ।

विश्व प्रजातान्त्रिक युवा महासंघ- विफ्डी -वल्र्ड फेडरेशन अफ डेमोक्रेटिक युथ) को साधारण परिषद बैठक गत जून २४ देखि २८ सम्म चार दिनका लागि क्युबाको हवानामा आयोजना गरिएको थियो । विफ्डी, दोस्रो विश्वयुद्ध समाप्तिलगत्तै सन् १९४५ मा स्थापना भएको संसारभरिका १५० भन्दा बढी प्रगतिशील, वामपन्थी, समाजवादी र कम्युनिस्ट विचार बोकेका युवा विद्यार्थी संगठनको अन्तर्राष्ट्रिय प्लेटर्फमको रूपमा काम गर्दै आएको साम्राज्यवाद विरोधी युवा अभिव्यक्ति हो । लामो समयदेखि यो संस्थासँग जोडिएको सदस्य संगठन भएकोले अनेरास्ववियू र युवासंघबाट विफ्डीका हरेक गतिविधिमा सहभागिता र प्रतिनिधित्व रहने गरेको छ ।

बैठकमा सहभागी हुन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष सुदीप शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, स्वयं पङ्क्तिकार र स्टुडेन्ट फेडेरेसन अफ इन्डियाका महासचिव मयुख विश्वास सहितको टोली यसपटक क्युबा जाने अवसर मिल्यो ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, दिल्लीबाट टर्किस एयरलाइन्स भएर क्युबाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरु गरियो । पृथ्वीको दक्षिणपूर्वी गोलार्द्धबाट उत्तरी गोलार्द्धको केन्द्र भागमा रहेका समुद्री टापुसम्म पुग्न निरन्तर हवाई उडान नभएकोले टर्कीको इस्तानवुलमा १८ घण्टा लामो ट्रान्जिटको सामना गर्नुपर्ने बाध्यतालाई स्वीकार गर्दै अगाडिको यात्रा तय गरियो ।

क्युबा पुग्न हामीले एसिया, मध्यपूर्व, युरोप, ब्ल्याक सागर, एट्लान्टिक महासागरको आकाश नाप्नुपर्‍यो । यो सुनौलो अवसर पाउनु हाम्रो सौभाग्य थियो । ट्रान्जिट समय सहित झण्डै ३५ घण्टा लामो यात्रापछि हामी जोसे मार्टी इन्टरनेशनल एयरपोर्टमा अवतरण भयौं । हामीलाई त्यहाँको वातावरणीय अनुकूलन थिएन । हवानामा निकै गर्मी सिजन चलिरहेको थियो, आजभोलि नेपालको तराईमा जस्तै । एयरपोर्टमा विफ्डीका अध्यक्ष आरिज, उपाध्यक्ष अद्नान लगायत भारत, श्रीलंका, लेबनान र स्पेनका साथीहरूसित भेट भयो । हामीलाई युवा कम्युनिस्ट लिग- क्युबाले जिम्मेवारी दिएका एरियलले रिसिभ गरेका थिए । लगत्तै एउटा बसमा बसालेर अल्टाहभाना होटलतर्फ कुदाए ।

क्युबाको प्रकृतिले हामीलाई लोभ्यायो । यस मौसममा क्युबा हरियालीमय बनेको छ । बाटोभरि लटरम्म फुलेका पारिजात, सुवास र सौन्दर्यमय परिदृश्यले मनै हरर्र बनायो । कार्यक्रम अवधिभर हाम्रो बसाइको व्यवस्थापन यही अल्टाहभानामा गरिएको थियो । समग्र यात्रामा हाम्रो एउटै चासो र छलफलको विषय थियो- क्रान्ति र क्रान्तिकारीहरू जन्माउने यस भूमिलाई नजिकबाट सुन्ने, बुझ्ने, अवलोकन गर्ने र ज्ञान आर्जन गर्ने ।

यसपटकको हाम्रो क्युबाको यात्राका दुइटा उद्देश्य थिए । दुई चरणको कार्यक्रम अन्तर्गत एउटा विफ्डीको जिसी मिटिङमा सहभागी भएर साम्राज्यवाद विरुद्धको युवा-संघर्षको विगतको समीक्षा, आगामी कार्ययोजना र अन्तर्राष्ट्रिय युथ फेस्टिभलको तयारी गर्नु । अर्को समाजवादी क्युबा र क्युबाली जनताप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउनु । यो वर्ष संसारभरिबाट मे दिवसको अवसरमा स्वाभिमानी क्युबाली जनताको पक्षमा ऐक्यबद्धता जनाउन हवाना आउने शुभेच्छुकहरू मनग्ये नै भेटिए । उनीहरू साम्राज्यवादी शक्तिबाट लादिएको अमानवीय नाकाबन्दीको विरोध गर्दै खेद प्रकट गर्थे । अमेरिकी नाकाबन्दीविरुद्ध ऐक्यबद्धता जनाउन १५६ अमेरिकी नागरिक समेत मे १ तारिखका दिन हवाना आइपुगेका थिए ।

कार्यक्रमको पहिलो चरण ल्याटिन अमेरिकन स्कुल अफ मेडिसिनको हलमा चलेको थियो । पहिलो दिन ‘ग्लोबल युथ स्ट्यान्ड विथ क्युबा’ नामक औपचारिक सेसनका बीच क्युबाप्रति अन्तर्राष्ट्रिय युवा विद्यार्थी प्रतिनिधिहरूले ऐक्यबद्धता जनाए । त्यसपछि हामी क्युबाको शिक्षा र स्वास्थ्यमा भएको विकासको बारेमा जानकारी लिन तथा अवलोकन गर्न ‘फिल्ड भिजिट’मा निस्कियौं ।

सेन्टर अफ जेनेटिक इन्जिनियरिङ एन्ड बायोटेक्नोलोजीको हलमा सेमिनार सिरिजको आयोजना गरिएको थियो । क्युबाको कोभिड महामारीपूर्वको अर्थतन्त्र र कोभिडपछिको अर्थतन्त्र तथा नाकाबन्दीको प्रभावको बारेमा अर्थविद् प्राध्यापकहरूको प्रस्तुतिमाथि अन्तरक्रिया गरिएको थियो । शिक्षा, स्वास्थ्य, पर्यावरणीय कृषि लगायत अन्य क्षेत्रको स्थलगत अवलोकन गर्न हवाना शहर र केही गाउँहरूको भ्रमण गरियो । त्यो भ्रमण सामूहिक सिकाइ प्रक्रियाको एक नमूना थियो ।

भ्रमणका क्रममा हामीले विद्यालय, सहकारी, अस्पताल, कृषि फार्म, स्थानीय बजार, सरकारी कार्यालयको कामकाज गर्ने तरिका सबै अवलोकन गर्‍यौं । ऐतिहासिक कला र संस्कृति बोकेको हवाना शहरका क्यापिटलियो -संसद भवन) लगायत महत्वपूर्ण पुरातात्विक सम्पदाहरू नियाल्यौं । फिडेल र चेहरूले क्रान्ति सम्पन्न भएपश्चात् लाखौं जनतासामु भाषण गरिएको ठाउँ ‘रिभोलुशनरी स्क्वायर’को पनि अवलोकन गर्‍यौं । त्यहाँ चे र जोसे मार्टीको फलामे मूर्ति भित्तामा राखिएको छ । फिडेल सेन्टर, जहाँ फिडेल क्याष्ट्रोको जन्मदेखि मृत्युपर्यन्तका सबै घटना र वस्तुहरू संग्रहित गरिएका छन् । यी सबै क्रान्तिका ‘तीर्थ’ र योद्धाहरूको इतिहास अवलोकन गर्दा गौरवबोध हुुन्थ्यो । यहाँ पुग्ने जो-कोहीलाई परिवर्तन र क्रान्तिको महसुस हुने नै भयो ।

योङ्ग कम्युनिस्ट लिग क्युबाको आयोजनामा सोलिडारिटी मिसनका लागि ८ किलोमिटर बिचसाइटमा साइकल क्याराभान (प्रभातफेरी) गरिएको थियो । नारा जुलुस सहित साइकल क्याराभान र्‍याली संयुक्त राज्य अमेरिकाको दूतावास अगाडि पुग्दाको परिदृश्य फरक अनुभूतिको रहृयो ।

दुई दिनसम्म चलेको विफ्डी जीसी मिटिङमा संसारभरिका युवाहरूले खेप्नुपरेका पूँजीवादी-साम्राज्यवादी आक्रमणहरू, गरिबी, बेरोजगारी र अभावका कारण प्रकट भएका मानवीय संकटहरूको बारेमा घनीभूत रूपमा विचार-विमर्श गरियो । उक्त जिसी बैठकमा नेपालबाट नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, सचिव विनय शाह र विफ्डी उपाध्यक्ष उज्वल घिमिरे सहभागी थिए । परम्परागत र दीर्घकालीन रूपमा युवाहरूले झेलिरहेका संकटहरूको बारेमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा संगठनहरूले आ-आफ्नो देशमा समग्र युवाको स्थिति र पूँजीवादी-साम्राज्यवादी संकटको बारेमा जानकारी गराएका थिए । श्रमजीवी मजदूर वर्ग र युवाहरूको संघर्षको भावी कार्ययोजना तयार गरी समसामयिक राजनीतिक संकल्प पारित गर्दै बैठक सम्पन्न गरियो ।

औपचारिक कार्यक्रम समापनपछिका चार दिन हाम्रो टोलीका लागि निकै महत्वपूर्ण र रमाइला रहे । अल्टाहवानाबाट हाम्रो बसाइ पर्टिकुलर हाउस हुँदै अपार्टमेन्टमा सारियो । घर भाडामा लिएर बस्ने कुरा पनि हाम्रा लागि एउटा सिकाइ नै बन्यो । घुम्न बाँकी रहेका महत्वपूर्ण केही ठाउँहरू ‘ओपन कार हायर’ गरेर घुमियो । क्यारेबियन समुद्री तटको आनन्द लिंदै हामी रमायौं । क्रुजमा सवार, डुङ्गा सयर, समुद्री किनारमा मर्निङ वाक्, इभिनिङ वाक् र राति अबेरसम्म समुद्रको बहावसँग टोलाइनु, जिस्किनु हवानाका विशेषता जस्तै थिए ।

हवाना शहरमा प्रायः पैदल नै हिंडियो । पैदल हिंड्दा हामीले त्यहाँको संस्कृति, जीवनशैली, आर्थिक अवस्था र नाकाबन्दीको प्रभावको बारेमा मसिनो गरी जानकारी लिने अवसर पायौं ।

हवानाको १५ दिने रमाइलो बसाइ बिट मार्दै हामी जून ३ मा फर्कियौं । त्यस दिन बिहान ९ बजेको प्रस्थानका लागि सबेरै ५ बजे तयार भएर ट्याक्सी हायर गरी एयरपोर्टतिर लाग्यौं । १५ मिनेटको प्लेन डिलेपछि टर्किस एयरलाइन्सबाट काठमाडौंका लागि उडान भरियो । दुई दिनको हवाई यात्रासँगै जून ५ मा आफ्नो मातृभूमि नेपाल टेक्दा रोमाञ्चक अनुभूति भयो । क्युबा बसाइ यी १५ दिन मेरो जीवनका लागि निकै महत्वपूर्ण र अविस्मरणीय रहे । क्युबाबाट सिकेको ज्ञान र सँगालेको अनुभूति यस माटोका लागि समर्पण गर्न सकौं भन्ने संकल्प मनभरि छँदै थियो ।

(पन्त अनेरास्ववियूका उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?