+
+

‘परस्त्री’को हिन्दी संस्करणलाई नेपाली फिल्मसरह प्रदर्शन अनुमति दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १७:०९

काठमाडौं । चलचित्र विकास बोर्डले ‘परस्त्री’को हिन्दी संस्करणलाई नेपाली फिल्मले पाउने सुविधासरह नै प्रदर्शन अनुमति दिने निर्णय गरेको छ । अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजीर मानेर ‘परस्त्री’लाई पनि उक्त अनुमति दिने निर्णय भएको बताए ।

गत वर्ष असोजमा मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर ‘प्रेमगीत ३’लाई नेपाली फिल्मले पाउने सुविधासरह प्रदर्शन अनुमति दिने निर्णय गरेको थियो । साथै चलचित्र विकास शुल्क तिर्नु नपर्ने निर्णय पनि मन्त्रालयले गरेको थियो । मन्त्रालयको निर्देशनपछि केही प्रक्रिया पूरा गरेर प्रेमगीत ३ को हिन्दी डब नेपालमा रिलिज भएको थियो ।

‘प्रेमगीत ३ लाई लिएर मन्त्रालयको निर्देशनलाई नै आधार मानेर परस्त्रीको हिन्दी डबलाई पनि प्रदर्शन अनुमति दिने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने । बोर्डको यस्तो निर्णयपछि अब परस्त्री निर्माताले तीन हजार रुपैयाँ दस्तुर तिरेर पुनःस्वरांकनको लागि आवेदन दिनुपर्नेछ । त्यसपछि मात्र परस्त्री (हिन्दी डब) शीर्षकमा फिल्मले सिफारिस पत्र पाउनेछ ।

नेपाली फिल्मको सुविधासरह रिलिज हुने भएपछि परस्त्री (हिन्दी डब)ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्यअभिवृद्धि कर र स्थानीय करसहितको १८ प्रतिशत चाहिं तिर्नुपर्नेछ । ‘अध्यक्षको रुपमा मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । तर कलाकारको रुपमा म यो कुरालाई लिएर निकै चिन्तित छु । यस्तो हिसाबले भोलिको दिनमा हाम्रो भाषा, संस्कृति कहाँ पुग्ला, यसले दूरगामी प्रश्न चिन्ह खडा हुन सक्छ,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने ।

हिन्दी संस्करणलाई पनि नेपालीसरह नै प्रदर्शन अनुमति दिने माग राख्दै परस्त्री निर्माता र वितरक सोमबार चलचित्र विकास बोर्डमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?