+
+

तरलता सहज बन्दै गएपछि घट्दै अल्पकालीन ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३० गते १४:०१

३० जेठ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएर अन्तर बैंक ब्याजदर घट्न लागेसँगै अल्पकालीन ब्याजदर पनि घट्दै गएको छ । सोमबार नेपाल राष्ट्र बैंकले छोटो अवधिको आन्तरिक ऋण उठाउने उपकरण (ट्रेजरी बिल बोलकबोल) गरेको थियो ।

चालु आर्थिक वर्षमा १२ प्रतिशत नाघेको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २९ जेठमा भएको बोलकबोलमा आयो भने आर्थिक वर्षको न्यून विन्दुमा झरेको छ । २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट भने १७ माघमा ५.९००१ प्रतिशत कायम भएकोमा सोमबार भएको बोलकबोलमा सो भन्दा माथि कायम भएको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले ९१ दिन अवधिको ३ अर्ब ५० करोडको नयाँ ट्रेजरी बिल बिक्रीमा ल्याएको थियो । यस्तै ४ वटा समयअवधिको २५ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये सोमबार भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ६.६८३७ प्रतिशत कायम भएको छ । जुन चालु आर्थिक वर्षको बोलकबोल भएकोमध्ये १७ माघको ५.९००१ पछिको न्यून दर हो ।

यस्तै ९१ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ८.१३७० प्रतिशत कायम भएको छ । जुन चालु आर्थिक वर्षकै न्यून हो । १८२ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ८.०४४५ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको डिस्काउन्ट रेट ८.१४७८ प्रतिशत कायम भएको छ । जुन चालु आर्थिक वर्ष लागेपछि भएको बोलकबोलको न्यून दर हो ।

राष्ट्र बैंकले नीतिगत दर ७ प्रतिशत र बैंकदर ७.५ प्रतिशत कायम गरेको छ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता अभाव हुँदा विभिन्न औजार मार्फत बैंक दर र नीतिगत दरमा बैंकिङ प्रणालीमा तरलता पठाउने गर्छ ।

तर, अहिले अन्तर बैंक ब्याजदर नै घटेका छ । नेपाल राष्ट्र बैंकको २७ जेठको तथ्यांक अनुसार बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ६.३१ प्रतिशतमा झरेको छ । तरलता सहज भएर अन्तरबैंक ब्याजदर घट्न लागेपछि बैंकहरुले ट्रेजरी बिलमा बोलकबोल गर्ने ब्याजदर पनि घटाएका हुन् ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?