+
+

खै त बालमैत्री बोली-व्यवहार ?

रवीन्द्रसिंह बानियाँ रवीन्द्रसिंह बानियाँ
२०८० जेठ ३० गते १६:१०

-घरमा भोज-भतेर हुन्छ, भान्सामा मीठो-मसिनो पाक्छ ! मासु पकायौं, मदिरा जोहो गर्‍यौं तर बालबालिकाका लागि भनेर छुट्टै वा विशेष परिकार बनाइदियौं त ?

-सार्वजनिक यातायातमा यात्रा गरिरहेका बखत सहचालक भन्छन्, ‘बच्चालाई सिटमा नराख्नु, नभए डबल भाडा लाग्छ ।’ बालबालिकालाई हामीले सार्वजनिक ठाउँमा कुनै स्थान दियौं ?

-कतै यात्रा वा घुमफिरमा निस्कँदा बच्चालाई अचानक दिसा-पिसाबले च्याप्छ । के उनीहरूलाई अनुकूल हुने गरी शौचालयको व्यवस्था गरिदियौं ?

-कुनै प्रदर्शनी, संग्रहालय, पुस्तकालयमा पुगेपछि बालबालिका उफ्रिन्छन्, खेल्छन् र अनौठो लागेका कुराहरूमा प्रश्न गरिरहेका हुन्छन् । तर, उनीहरूलाई स्वच्छन्द रमाउन र जान्न चाहेको कुरा सौहार्द भाषामा बताइदियौं ?

यी प्रश्नले मेरो दिमागलाई त्यसबेला हल्लाइदियो, जब म आफ्ना बालबच्चा लिएर एक कला प्रदर्शनीमा पुगेको थिएँ । त्यसदिन मेरो सात वर्षका छोरा, तीन वर्षकी छोरी र मित्र एवं फिल्म निर्देशक प्रदीप भट्टराईको १० वर्षीय छोराका साथ हामी मण्डला थिएटर पुगेका थियौं, नाटक ‘बुद्ध र भिखारी’ हेर्न ।

त्यसपछि मित्र देवेन्द्र थुम्केलीको निमन्त्रणामा बालबच्चा सहित हामी राष्ट्रिय कला प्रदर्शनी हेर्न नक्साल गयौं । प्रदर्शनीमा राखिएका मूर्ति, चित्र देखेपछि बच्चाहरू फुरुंग भए । उनीहरू रमाउँदै ती कला-कौशल नियाल्न थाले ।

उनीहरू घरी अनौठो, घरी रमाइलो मान्थे । नयाँ-नयाँ कलाकृतिले उनीहरूलाई सम्मोहित गरेको थियो । आफूलाई घत लागेको चित्र वा मूर्ति देखेपछि उनीहरू खुशीले कराउँथे ।

त्यहाँका एक कर्मचारीलाई बालबालिकाको यस्तो चञ्चलता रुचिकर लागेनछ । उनले बच्चाहरूलाई चेतावनी दिंदै भनेछन्- ‘चुप लाग ! अनुशासित भएर हेर्ने ! नत्र बाहिर जानुपर्ला !’

उमंगसाथ कलाकृति हेरिरहेका बालबच्चा अचानक हच्किए । उनीहरू केही सतर्क पनि भए । तैपनि बच्चाहरू कति नै चुप लागेर बस्न सक्छन् । उनीहरू पुनः आफ्नो लयमा फर्किए । तब ती कर्मचारीको पारो तातिएछ । उनले बच्चालाई फेरि हप्काएछन्, ‘किन यताउता दौडिएको ! त्यहाँ (चित्र) छोइएला नि ?’

हाम्रो बच्चाले पनि बालसुलभ प्रतिप्रश्न गरेछन्, ‘तपाईं त, हामीभन्दा धेरै यताउति हिंडिरहनुभएको छ त ?’

यसरी बालबालिका ‘मुखमुखै लागेपछि’ उनलाई सहनै गाह्रो भएछ र बच्चालाई थर्काएछन् । बच्चा त्यहाँबाट रुँदै फर्किए ।

कति आनन्द, कति उमंग, कति उत्सुकताले रमाइरहेका बच्चा अनायास दुःखी भएर रोएको देखेपछि कुन आमा-बुवाको मन विथोलिंदैन ? तर प्रसंग आमाबुवाको होइन, बाल मनोविज्ञानको हो ।

बालबालिका स्वभावलै चञ्चल हुन्छन् र जिज्ञासु पनि । नयाँ कुरा देख्दा उनीहरू दंग त पर्छन् नै उत्तिकै जिज्ञासु पनि हुन्छन् । उमंग र उत्सुकताले उनीहरू उफ्रिन, कराउन थाल्छन् । यो उनीहरूको आफ्नो अभिव्यक्तिको भाषा हो ।

तर, ‘अनुशासन र मर्यादा’को बनावटी चश्मा पहिरिएका हामी बालबालिकाको यो प्राकृतिक सौन्दर्य देख्न सक्दैनौं । कुनै कुरा देख्दा रमाउनु, चिच्याउनु, उफ्रनु, हाँस्नु, हौसिनु बालसुलभ स्वभाव हो । यस्तै स्वच्छन्द स्वभावले गर्दा त बच्चाहरू सुन्दर देखिन्छन् ।

जबकि हामीलाई लाग्छ, बच्चाहरू छिल्लिए । उच्छृंखल, अनुशासनहीन र छाडा भए ।

अनि हामी उनीहरूलाई अनुशासनको लौरो देखाउँदै तर्साउँछौं, ‘धेरै हल्ला गर्ने होइन, चुपचाप बस्ने । धेरै यताउता गर्ने होइन, एकै ठाउँ सतर्क भएर बस्ने ।’ हाम्रो यो ‘हिटलर शैली’ले बालबालिकालाई भने डरपोक बनाउँछ । उनीहरू क्रमशः खुम्चिंदै जान्छन् । मनमा लागेका कुरा गर्न हच्किन्छन्, मनमा उठेका प्रश्न गर्न डराउँछन् । अनि अनुशासनको नाममा आफूलाई ‘रोबोट’ जस्तै बनाउँछ, अरूको नियन्त्रणमा मात्र चल्ने ।

सुन्दा सामान्य र सानो लागे पनि बालबालिकासँग बोलिने भाषा र गरिने व्यवहारले भयंकर असर गर्छ । खासमा त यो मनोवैज्ञानिक यातना हो । झट्ट बाहिर हेर्दा देखिंदैन, तर भित्रभित्रै यसले बालबच्चालाई कमजोर, शिथिल बनाउँछ । उनीहरूमा ग्लानि, डर, संकोच पैदा गरिदिन्छ ।

हामी भाषणमा चर्को आवाज ओकलेर भनिरहेका हुन्छौं- ‘फलानो चिज बालमैत्री हुनुपर्छ । विद्यालय भवन, अस्पतालको संरचना बालमैत्री हुनुपर्छ ।’ तर, भौतिक कुरा मात्र बालमैत्री भएर पुग्दैन । उनीहरूलाई गरिने बोली र व्यवहार पनि ‘बालमैत्री’ हुनुपर्छ ।

एउटा बच्चासँग हामी कसरी संवाद गर्छौं ? कस्तो व्यवहार गर्छौं ? कसरी उनले सोधेका प्रश्नहरूको जवाफ दिन्छौं ? यी प्रश्नहरू सामान्य छैनन् । बालबालिकासँग गर्ने बोली र व्यवहारले उनीहरूको मनोविज्ञान निर्माण गर्नमा खास भूमिका खेलिरहेको हुन्छ । त्यसैले बच्चामाथि शारीरिक मात्र होइन, भावनात्मक दुव्र्यवहार पनि नगरौं । यो पाप हो, अपराध हो ।

बालबालिकाको स्वच्छन्दतालाई निमोठ्ने काम नगरौं । उनीहरूको चञ्चलतामा भाँजो हाल्ने काम नगरौं । बालबालिका जस्ता छन्, त्यही रूपमा स्वीकार गरौं । सके सौहार्द सहयोग गरौं, नसके उनीहरूमाथि खेलबाड नगरौं ।

(बानियाँ फिल्मकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?