
३० जेठ, काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले खेलकुदमा धेरै बजेट राख्न नसकेको भन्दै आउने दिनमा लगानी बढाउनुपर्ने बताएका छन् ।
लिटमस इन्ड्रस्टिज लिमिटेढले मंगलबार काठमाडौंमा नेपाली पुरुष राष्ट्रिय भलिबल टिमका खेलाडीलाई खेल पोशाक हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री महतले खेलकुदले देशको इज्जत बढाउने माध्यम भएको पनि बताए ।
उनले सिमित स्रोत र साधानका बावजुत पनि खेलकुदले देशको इज्जत बढाउने काम गर्ने भए पनि यसपटक खेलकुदमा धेरै बजेट राख्न नसकेको स्वीकार गरे ।
‘खेलकुदमा थोरै लगानीले पनि धेरै प्रतिफल दिन्छ । यसले मानसिक रुपमा विकास गर्न मदत गर्छ । अनुशासन सिकाउँछ । धेरै फाइदा छ । खेलकुदमा आउने दिनमा अझ बढी लगानी गर्नुपर्छ’, मन्त्री महतले भने ।
मन्त्री महतले काभा नेसन्स लिग खेल्न जान लागेका टोलीलाई सफलताको शुभकामना दिँदै सरकारले खेलकुदलाई प्रोत्साहन र सहयोग गर्दै आएको बताए ।
‘टिमको सफलता नै सिंगो देशको सफलता हो । तपाईँहरु राम्रो खेल्नुहोस् शुभकामना छ’, मन्त्री महतले भने ।
कीर्गिस्तानमा यही जुन १८ देखि हुने काभा पुरुष नेसन्स लिग भलिबल खेल्न जाने टोलीका सदस्यलाई स्व. रमेश गुप्ताका धर्म पत्नी मञ्जु गुप्ताले खेल सामाग्री प्रदान गरेका हुन् ।
मन्त्री महत र समाजसेवी मञ्जु गुप्ताले खेलाडीलाई खेल पोशाक हस्तान्तरण गरे ।
लिटमस इन्ड्रस्टिजका अध्यक्ष सुशील गुप्ताले नेपालको भलिबलको विकासमा सहयोग गर्न पाएकोमा आभार व्यक्त गरे ।
जुन १८ देखि २४ सम्म कीर्गिस्तानमा हुने काभा नेसन्स लिगमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली आउने शुक्रबार कीर्गिस्तान प्रस्थान गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4