+
+

माइतीघरमा आत्मदाह प्रयास : ‘नागरिकता नहुनेहरु मरेतुल्य छन्’

सागर चन्द सागर चन्द
२०८० जेठ ३० गते २०:३१

३० जेठ, काठमाडौं । निरजकुमार कामत राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षको बेडमा छन् । नागरिकता माग्दै माइतीघरको सडकमा संघर्ष गरिरहेका कामतले मंगलबार अपरान्ह आफ्नै जीउमा पेट्रोल खन्याए । त्यस क्रममा केही पेट्रोल निलेकाले उनी बोल्न सकेका छैनन् ।

५ वर्षदेखि नागरिकता प्राप्तिको आन्दोलनमा भौंतारिरहेका कामत जस्ता सयौं मानिस यतिखेर राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।

बुबा आमा, बाजे बज्यैले जन्मका आधारमा नेपाली नागरिकता पाए पनि कामत जस्ता तेस्रो पुस्ताले नागरिकता पाएका छैनन् । १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । यो कानुनले जन्मका आधारमा नागरिकता लिएका नेपालीका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ ।

तर, राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेको २ दिनपछि १९ जेठमा परेको एक मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशले आफूहरुले नागरिकता नपाउने भएपछि जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानले नागरिकता पीडित संघर्ष समितिको नामबाट एक हप्तादेखि माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

यो मुद्दामा सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुँदै थियो । तर रिट निवेदक बालकृष्ण नेउपानेले अदालतमा आएर बहस गर्न नभ्याउने भनेपछि सर्वोच्चले यो मुद्दालाई ‘हेर्न नभ्याउने’ मा राख्यो ।

मुद्दाको छिनोफानो हुन्छ भनेर माइतीघरमा पर्खिरहेका निरज कामत यो खबर सुनेसँगै पेट्रोल खोज्न दौडिए ।

‘खै कताबाट हो पेट्रोल ल्याएर टाउको, मुखमा खन्यायो’ अस्पतालमा कामतको हेरचाह गरिरहेका सुरज चौधरी सुनाउँछन्, ‘त्यसपछि पुलिस र हामीले रोक्यौं ।’ प्रहरी र कामतका साथीहरुले रोक्दारोक्दै पनि कामत पेट्रोलले निथ्रुक्क भए । आफैंमाथि पेट्रोल खन्याउँदा केही पेट्रोल उनले निल्न पुगे । उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका अनुसार कामतको अवस्था खतरामुक्त छ ।

कामतको हेरचाहमा खटिएका सुरज चौधरीका अनुसार कामतको परिवारका बुबा, आमा, बाजे, बज्यैले जन्मका आधारमा नेपाली नागरिकता पाएका छन् । बाबुबाजेको नागरिकता देखाएर आफ्नो नागरिकता बनाउन जाँदा कामतले नागरिकता पाएनन् ।

‘कामत दाइ ५ वर्षदेखि नागरिकताका लागि लडिरहनुभएको छ’ सुरज भन्छन्, ‘ब्याचलर पास गर्नुभयो । तर, नागरिकता छैन भनेपछि कसैले जागिर पनि दिएन ।’ नागरिकता नहुँदा आफूहरुले मोबाइलको सिमकार्ड, बैंक खाताको सुविधा समेत उपभोग गर्न नपाएको चौधरीले बताए ।

सप्तरी राजविराजका चौधरी भन्छन्, ‘नागरिकता नहुँदा लोकसेवा पढ्न मिलेन । जागिर पाइँदैन । हामीले केही गर्न सक्दैनौं, यस्तो केही गर्न नसकेर बाँच्नुभन्दा त मर्नु ठीक जस्तो लाग्छ बेलाबेला ।’

मोरङका कामत नागरिकता नभएकै कारण बेरोजगार छन् । उनको परिवारमा १२ जना छन् । तर, नागरिकता नहुँदा कमाउने उमेरमा कामत बेराेजगार छन् ।

नागरिकता माग्दै माइतीघरमा आन्दोलनरत नागरिकताविहीन संघर्ष समितिले अहिलेको नागरिकता विधेयक कार्यान्वयन नहुँदा नागरिकता बनाउन नपाएकाहरुको विवरण संकलन गरिरहेको छ । समितिका अध्यक्षसमेत रहेका इन्द्रजित साफी भन्छन्, ‘हामीसँग ६ हजार मानिसका डकुमेन्ट छन् । १५ सय जति मानिस यहाँ आन्दोलनमा छन् ।’ आत्मदाहको प्रयास गरेका कामत समितिका उपाध्यक्ष हुन् ।

दिनरात माइतीघरको सडकबाट नागरिकता मागिरहेका नागरिकताविहीन युवा कामतको आत्मदाह प्रयाससँगै जुलुससहित राष्ट्रिय ट्रमा सेन्टर अगाडि पुगे ।

टुँडिखेलको एक फन्को लगाएपछि फेरि माइतीघर फर्किएका नागरिकताविहीन युवाहरु सर्वोच्चले नागरिकता कानुन लागू गर्ने आदेश नदिएसम्म आन्दोलन गरिरहने बताउँछन् ।

‘हामी वर्षौंदेखि अनागरिक भएका छौं । हामीलाई नागरिकता दिने कानुन लागू नहुँदासम्म हामी माइतीघर छाड्दैनौं’, सुरज चौधरी भन्छन् । नागरिकता नभएकै कारण आफूहरु मताधिकार, रोजगार लगायत आधारभूत आवश्यकताबाट समेत वञ्चित भएको उनले बताए ।

अस्पतालको शय्यामा पल्टिरहेका कामततिर हेर्दै चौधरी भन्छन्, ‘नागरिकता भएपछि मान्छेलाई आफू जिउँदो छु जस्तो लाग्दो रहेछ । हामी त यतिका वर्षदेखि मरेतुल्य छौं । हाम्रो गन्ती नै छैन ।’

हेर्नुहोस् नागरिकता माग गर्दै युवाहरुले गरेको प्रदर्शन

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?