+
+

भक्तपुरमा बिरामीलाई निःशुल्क रगत कार्यक्रम प्रभावकारी बन्दै, सेवा लिन के गर्नुपर्छ ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० जेठ ३१ गते ११:५४

भक्तपुरका चारैवटा स्थानीय तहमा स्थानीय बिरामीका लागि गत वर्ष सुरु गरिएको निःशुल्क रगत वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले भक्तपुर जिल्लामा नेपालमै पहिलोपटक निःशुल्क रगत वितरणको सम्झौता भक्तपुरमा भएको जनाए ।

भक्तपुरका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायणसँग छुट्टाछुट्टै सम्झौता गरेर नगरवासीका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले निःशुल्क रगत प्रदान गर्दै आएको छ ।

‘बिरामीले निःशुल्क रगत पाउन थालेपछि विपन्न नागरिकलाई निकै राहत पुगेको अनुभव छ,’ सभापति थापाले भने, ‘बिरामीलाई वितरण गरिएको रगतको शुल्क नगरपालिकाहरुले व्यहोर्ने गरेका छन् ।’ एक वर्षको अवधिमा रेडक्रसले ५१ हजार ५६ पिन्ट रगत उपलब्ध गराएको उनले जानकारी दिए ।

यसलाई शतप्रतिशत बनाउन अन्य नगरपालिका, गाउँपालिका र अस्पतालहरुसँग सहकार्य गर्दै जाने योजना रहेको समेत उनले बताए । साथै रगत लिन आउने कोही पनि बिरामीका आफन्त खाली हात जानु नपरोस् भन्ने उद्देश्यले भक्तपुरको दूधपाटीस्थित सिद्धपोखरी र काठमाडौंको जमलमा दैनिक रक्तदान कार्यक्रम हुँदै आएको छ ।

सेवा लिने प्रक्रिया के छ ?

निःशुल्क रगतको सुविधा प्राप्त गर्न सम्बन्धित नगरपालिकाको स्थायी बासिन्दा हुनु जरुरी छ । यसका लागि उक्त नगरपालिकाको स्थायी बासिन्दा पुष्टि गर्ने सरकारी कागजात जस्तै, नागरिकता वा मतदाता परिचयपत्र देखाउनुपर्ने हुन्छ । बसाइँसराइ गरी आएको भए बसाइँसराइ प्रमाणपत्र पनि पेश गर्नुपर्ने हुन्छ ।

त्यसैको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइन्छ ।

कुन नगरपलिकामा कति ?

भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा गरी हालसम्म दुई हजार १६७ पिन्ट निःशुल्क रगत वितरण भएको तथ्यांक छ । सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीबाट रगत माग हुने गरेको छ । भक्तपुर नगरपालिकामा ८१६ पिन्ट वितरण गरिएको छ । त्यस्तै मध्यपुरथिमिमा ६०५ पिन्ट, चाँगुनारायणमा ५३२ पिन्ट र सूर्यविनायक नगरपालिकामा २१४ पिन्ट निःशुल्क रगत सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

योबाहेक भक्तपुर नगरपालिकाको भक्तपुर अस्पतालमा प्रसूति सेवा लिने बिरामीको लागि निःशुल्क रगतका सम्झौता भएको छ । जसमा एक हजार ४६८ पिन्ट रगत वितरण गरिएको छ ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?