+
+

विद्यार्थी संगठनको तालाबन्दीले पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा अनिश्चित

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ ३२ गते १४:४५

३२ जेठ, विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ ।

२८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने मेडिकल शिक्षा र १० असारबाट हुने व्यवस्थापन संकायको परीक्षा अनिश्चित भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको बताएको छ । परीक्षा नियन्त्रक बालेन्दु हमालले तालाबन्दीका कारण सञ्चालनमा रहेका बाहेक अन्य परीक्षा अन्योलमा रहेको बताए ।

‘अस्ति २८ गते परीक्षाको तयारी गरिरहेको अवस्थामा हामीलाई बाहिर निकालेर तीन विद्यार्थी संगठनले तालाबन्दी गरिदिए’, उनले भने, ‘प्रश्नपत्र सम्बन्धित केन्द्रमा पुगेका कारण पहिलेदेखि चलेका परीक्षा सञ्चालन भए, ३२ गतेदेखिको सेड्युलको परीक्षा रोकियो ।’

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन क्षेत्री सेवा आयोगमार्फत सेटिङमा कर्मचारी भर्ना गर्न खोजेपछि विज्ञापन रद्द गर्नका लागि तालाबन्दी गरेको बताए । ‘कर्मचारीका आफन्त र नेताका आफन्तलाई सेवा आयोग मार्फत प्रवेश गराउन खोजिदैँछ’, उनले भने, ‘त्यो प्रक्रिया रोकेर नयाँ विज्ञापन गर्नुपर्ने हाम्रो मुख्य माग हो ।’

विश्वविद्यालय सेवा आयोगले २०५७ सालपछि १५ चैत २०७८ मा ११५ पदका लागि विज्ञापन खुलाएको थियो । सुरुदेखि नै विवादमा परेको विज्ञापनको पहिलो चरणको परीक्षा सकिएको छ । तर विद्यार्थीले जसरी भए पनि विज्ञापन रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।

पहिलो चरणको परीक्षा भइसकेका कारण रद्ध गर्ने अधिकार आफूसँग नभएको सेवा आयोगका अध्यक्ष महेश दाहाल बताउँछन् । ‘सेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने माग राखेका छन्, विज्ञापनको पहिलो चरणको परीक्षा नै भइसकेको छ’, उनले भने ।

सेवा आयोगको परीक्षा रद्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर कालोमोसो दलेका थिए । कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङ सभापति सरोज पोखरेल पक्राउसमेत परेका छन् ।

एमबीबीएस पढाइ अन्योलमा

विद्यार्थी संगठनको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्या लयमा एमबीबीएस अध्ययनको तयारी पनि अन्योलमा परेको छ । तयारी सुरु गरेको १९ वर्षपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति पाएको थियो ।

जसका लागि प्राध्यापक भर्नाको प्रक्रिया सुरु गरेको थियो । तर विद्यार्थी संगठन र विश्वविद्यालयभित्रकै कर्मचारीको विरोधका कारण भर्ना प्रक्रिया अन्योलमा परेको छ ।

२०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालयमा मेडिकल शिक्षाको बाटो खोलिदिएको थियो ।

‘कुलपति तथा प्रधानमन्त्रीले विश्वविद्यालयमा आएर तयारी सुरु गर्नुहोस् भनेपछि प्राध्यापक नियुक्तिका लागि विज्ञापन खुल्यो तर अहिले भर्ना प्रक्रिया रोक्न दबाव छ’, विश्वविद्यालय स्रोतले भन्यो, ‘मेडिकल काउन्सिलले अगाडि नै तयारी पूरा नगरे अनुमति दिँदैन, तयारी पूरा गर्नका लागि प्रक्रिया अगाडि बढाउँदा अवरोध सिर्जना भएको छ ।’

विश्वविद्यालयको कर्मचारी र प्राध्यापक संघले गत जेठ १९ गते संयुक्त वक्तब्य जारी गर्दै सरकारले बजेट व्यवस्थापन नगरेका कारण एमबीबीएस सञ्चालनका लागि जनशक्ति आपूर्तिको काम यथास्थितिमा राख्न आग्रह गरेको थियो ।

विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नविन लामिछानेले मेडिकल शिक्षाका लागि प्राध्यापक नियुक्तिका लागि विज्ञापन खुलेपछि प्रक्रिया यथास्थितिमा रहेको बताए ।

चिकित्सा शिक्षा ऐनले मेडिकल कलेज सञ्चालनका लागि तीन सय शय्याको अस्पताल चाहिने बाध्यात्मक व्यवस्था गरेको छ । पियूमा भर्र्ना भएका विद्यार्थीले अध्यापन पियूको संरचना भएको स्थान गोठगाउँमा गर्ने र अभ्यास भने विराटनगरको कोशी अस्पतालमा गर्नुपर्ने व्यवस्था गरिएको थियो । तर पछिल्लो आन्दोलनका कारण एमबीबीएस कार्यक्रम नै अन्योलमा परेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?